१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १८:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

निर्मला कुर्मी घटनामा मुछिएका बादशाह गठबन्धनका उम्मेदवार, निर्वाचन कार्यालयमा पर्‍यो उजुरी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:५९:oo

नेपालगन्जकी निर्मला कुर्मी बेपत्ता घटनामा मुछिएका बाँके निर्वाचन क्षेत्र नं. ३(ख)का उम्मदवार बादशाह कुर्मीको उम्मदेवारी खारेजी माग गर्दै निर्वाचन कार्यालय बाँकेमा उजुरी परेको छ। बादशाहविरुद्ध महिला अधिकार मञ्चले उजुरी दिएको हो। 

निर्मला बेपत्ता घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले अनुसन्धान गरिरहेको र गृह मन्त्रालयले गरेको छानबिनले समेत दोषी ठहरिएको हुँदा बादशाहको उम्मेदवारी खारेज गरिनुपर्ने उजुरीमा उल्लेख छ। उजुरीमा भनिएको छ,‘ सरकारले गठन गरेको छानबिन समितिले समेत बादशाहलाई निर्मलाको मुद्दामा दोषी ठहर गरेको र उक्त मुद्दाको हालसम्म न्यायिक निकास नभएकोले मुख्य अभियुक्त रहेका बादशाह कुर्मी बाँके क्षेत्र नं.३(ख) बाट प्रदेश सभाको प्रत्यक्षतर्फ उम्मेदवार रहेको हुँदा कारबाही गरी नामांकन खारेज गरिदिनुहुन अनुरोध गरिन्छ।’

कांग्रेसका जिल्ला नेता बादशाह गठबन्धनको तर्फबाट चुनावी मैदानमा छन्। बाँके नेपालगन्ज उपनपा–१७ परसपुरकी निर्मला ०६६ मा एकाएक बेपत्ता भएकी थिइन्। त्यसयता उनी कसैको सम्पर्कमा आएकी छैनन्। परिवारका सदस्य उनको  अपहरणपछि हत्या भएको बताउँछन्। हत्यामा उनै बादशाह संलग्न रहेको उनीहरूले जिल्ला प्रहरी कार्यालय बाँकेमा किटानी जाहेरीसमेत दिएका छन् तर प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन। 

विरोधमा नेपालगन्जकी सामाजिक अभियन्ता रुबी खानसहितको टोलीले जिल्ला प्रशासन कार्यालयमा १९ दिन धर्ना दिएका थिए। तर पनि बादशाह पक्राउ नपरेपछि उनीहरू २० दिन पैदल हिँडेर काठमाडौंको माइतीघर मण्डला आएका थिए। निरन्तरको धर्नापछि घटनाको छानबिन गर्न सरकार २ कात्तिक ०७८ मा घटनाको छानबिन गर्न सहमत भएको थियो । 

गृहका तत्कालीन सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठन भएको छानबिन समितिले घटना शंकास्पद रहेको भन्दै छानबिन गर्न सरकारलाई सिफारिस गरेको थियो। तर, घटनाको छानबिन गर्न सरकारले आलटाल गरेपछि सामाजिक अभियन्ता रुबी खानसहितको महिला टोलीले माइतीघर मण्डलामा पुनः दोस्रो चरणको धर्ना सुरु गरेका थिए। करिब ४० दिनको धर्नापछि घटनाको छानबिन सिआइबीबाट गराउन सरकार तयार भएको थियो ।
 

ad
ad