१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ बैशाख २३ आइतबार ११:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

डुम्रेको माझी बस्तीमा न नेता पुग्छन् न विकास

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:३५:oo

सुनकोसी र इन्द्रावती नदीको बीचमा रहेको डुम्रे गाउँ सिन्धुपाल्चोकको भूगोलमा पर्छ। तर, डुम्रेवासी धेरैको नागरिकता भने काभ्रेपलाञ्चोक जिल्लाको छ।

तीन दशकअघि भोटकै लागि स्थानीयलाई जथाभावी विभाजन गरेकाले उनीहरूसँग आफू बसेको घरजग्गाको लालपुर्जासमेत छैन। जग्गाधनी प्रमाणपुर्जा नभएका डुम्रेवासी पुरानो रसिदको आधारमा तिरो तिर्न धुलिखेल मालपोत पुग्छन्।

नागरिकता पनि एकाघरको दाजुभाइसँग एउटाको काभ्रे र अर्कोको सिन्धुपाल्चोकको छ। भोट हाल्न एक भाइ काभ्रेको भुम्लु गाउँपालिका– ८ दोलालघाट र अर्को सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ११ जनविकास मावि नर्सरीमा जान्छन्। डुम्रेमा ६० घरपरिवार माझी बस्छन्। सुनकोसी नदीको किनारमा रहेको गाउँको सुर्कासुर्की जमिन पनि अवैध रूपमा खुलेका क्रसर उद्योगले बगर बनाइदिएको छ। पेसाविहीन माझी समुदाय बिचल्लीमा परेका छन्।

सीमा विवादमा रहेको गाउँ भएकाले राजनीतिक दलका नेताहरू भोट माग्नसमेत आउँदैनन्। उम्मेदवार कोही नआउने भएपछि ‘विकास’ हुने कुरा पनि भएन। पितापुर्खादेखि बस्दै आएको गाउँको लालपुर्जा नहुँदा सरकारी सुविधा केही नपाएको उनीहरूको गुनासो छ। राज्यको ढोका ढकढक्याउँदै चौतारा आइपुगेका माझी समुदायले जिल्ला प्रशासन कार्यालयमा धर्ना बसेर प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाललाई ज्ञापनपत्र बुझाएका छन्।

सीमा विवाद समाधानका लागि लामो समयदेखि संघर्ष गर्दै आएका स्थानीयको नेतृत्व गर्दै चौतारा साँगाचोकगढी– ११ का वडाध्यक्ष रोशन गिरीले राज्यको विभिन्न निकायमा जग्गाधनी प्रमाणपत्रका लागि पहल गरिरहेका छन्। यद्यपि, विवाद समाधान नहुँदा स्थानीय झन् पीडित बन्दै गएका छन्। डुम्रेवासी माझी समुदायले मंसिर ४ गते हुने चुनावमा भोट हाल्न नजाने अवस्था आएको प्रजिअ खनाललाई सुनाएका थिए। ‘भोट माग्नसमेत कुनै उम्मेदवार नआउने भएकाले विकासका लागि कसलाई भन्ने हो ?’ पीडाका प्रश्न तेर्स्याउँदै स्थानीय प्रेम माझीले भने, ‘राज्यले नहेर्ने भएपछि भोट हाल्न पनि मन छैन।’

डुम्रेवासीजस्तै समस्या भोगिरहेको सिन्धुपाल्चोक र काभ्रे जिल्लाको दोसाँधमा रहेका बेलडाँडा, दोलालघाट, बन्देउटारका एक सय २० स्थानीयको पीडा दुवै जिल्लाले सुनुवाइ गरेको छैन। सुनकोसी र इन्द्रावती नदीले सिमाना बनाएको बीचको भागमा पर्ने यो क्षेत्र अरनिको राजमार्गभित्र र केही घर त्यसभन्दा माथि छन्। उनीहरूसँग नागरिकता, मतदाता, परिचयपत्र र तिरो तिरेको रसिद काभ्रेको छ, तर घरजग्गाको नक्सा भने सिन्धुपाल्चोकमा।

सीमा विवादका कारण उनीहरूले भोगेको पीडा आफ्नो क्षेत्राधिकार भनेर दाबी गरिरहेका सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र काभ्रेको भुम्लु गाउँपालिका दुवैले सुल्झाउन सकेका छैनन्। लालपुर्जा नहुँदा वर्षौँदेखि भोगचलन गर्दै आएको जग्गा बिक्रीमा समेत उनीहरूले समस्या भोग्दै आएका छन्। 

ad
ad