१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ जेठ ५ शनिबार १३:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आँगन एउटै, तर मतदानस्थल तीनतिर

हचुवामा गरिएको सीमा विभाजनले एउटै आँगनमा ठडिएका तीन घर फरक–फरक तीन वडामा

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १३:४५:oo

सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका– ५ का प्रेम तामाङ, ६ का ठेकबहादुर तामाङ र लिसंखुपाखर गाउँपालिका– ७ का हरिदेव तामाङ दाजुभाइ हुन्। उनीहरूका घरको आँगन पनि एउटै छ। तर, मतदान गर्न तीनतिर जानुपर्छ। कारण हो– हचुवामा गरिएको सीमा विभाजन।

स्थानीय तहको साँधसीमा विभाजनअघि उनीहरू एउटै वडाका स्थानीय थिए। परिवारसमेत एकै भएपछि उनीहरूले घर पनि एउटै आँगनमा बनाए। तर, जब साँधसीमा विभाजन भयो, एउटै आँगनमा ठडिएका तीन घर फरक–फरक तीन वडामा परिदियो।

अहिले प्रेमको घर सुनकोसी गाउँपालिकाको ५ नम्बर वडामा पर्छ भने उनका भाइ ठेकबहादुरकाे सोही गाउँपालिकाको वडा नं. ६ मा पर्छ। उनका अर्का भाइ छन्, हरिदेव। उनको घर भने लिसंखुपाखर गाउँपालिकाको वडा नम्बर ७ मा पर्छ। त्यसो हुँदा मतदान गर्ने दिन प्रेम ५ नम्बर वडास्थित सुनखानी कार्यालय र ठोकबहादुर वडा नम्बर ६ स्थित देउराली आधारभूत विद्यालय जानुपर्छ। हरिदेव भने लिसंखुपाखर– ७ स्थित डाँडापाखर वडा कार्यालय जानुपर्छ।

हचुवामा गरिएको सीमा विभाजनले उनीहरूलाई मतदान गर्न फरक–फरक ठाउँमा धाउन बाध्य तुल्यादिएको त छ नै, स्थानीय तहबाट प्राप्त सुविधा उपभोग गर्नसमेत समस्या ल्याइदिएको छ। परिवार मात्रै होइन, आँगनसमेत एउटै भएका दाजुभाइ मतदान गर्न तीनतिर जानुपर्दा खल्लो लाग्ने गरेको हरिदेवले सुनाए। जसले गर्दा विकास निर्माणको बजेट माग्दा समस्या हुने गरेको उनको भनाइ छ।

नयाँ पत्रिकासँगको संवादमा उनले भने, ‘आवश्यकताभन्दा पनि मतदाता संख्याको आधारमा विकास बजेट छुट्याउने परिपाटी छ। एउटै घर तीनतिर परेको छ। यस्तो हुँदा सरकारबाट प्राप्त सेवा सुविधा उपभोगमा समस्या हुने रहेछ।’ 

टिमुरे नामबाट परिचित गाउँका तीन दाजुभाइको समस्या सुनेर चुनावी प्रचारप्रसारमा पुगेका उम्मेदवारसमेत छक्क परे। गत शनिबार गठबन्धनतर्फबाट सिन्धुपाल्चोक– १ प्रतिनिधिसभाका उम्मेदवार माधव सापकोटा, सिन्धुपाल्चोक–१ (क) र (ख)का उम्मेदवार मसिना खड्का र सरल सहयात्री मत माग्दै उनीहरूका घर पुगेका थिए। सोही क्रममा उनीहरूले तीन दाजुभाइका समस्या सुनेका थिए। 

तीन घर मात्रै होइन, टिमुरेका अन्य थुप्रै घर यसैगरी दुई स्थानीय तह र तीन वडामा विभक्त भएका छन्। सुनकोसी भेगतर्फ लिसंखुपाखर र लिसंखुपाखरतर्फ सुनकोसी गाउँपालिकाको थुप्रै घर यस्ता छन्। जसकारण मतदान गर्न मतदाता यसैगरी तीनतिर धाउने गर्छन्।

लिसंखुपाखरका अध्यक्ष राजु लामाले यो समस्या पञ्चायत कालदेखि नै रहेको बताए। ‘स्थानीयले आफ्नो अनुकूलतामा घर र जग्गा किन्दा यस्तो भएको हो,’ उनले भने, ‘यसमा अचम्म मान्नुपर्ने विषय नै छैन। पहिलेदेखि नै यस्तो रहेकाले सरकारी कामकाजमा स्थानीयलाई कुनै समस्या छैन।’

ad
ad