मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २९ मंगलबार
  • Wednesday, 18 December, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
२o७९ कार्तिक २९ मंगलबार o७:४५:oo
Read Time : > 4 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

नेपाल बैंक सस्तोमा कर्जा प्रवाह गर्न सक्षम छ : कृष्णबहादुर अधिकारी

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २९ मंगलबार o७:४५:oo

बैंकिङ इतिहासमा जेठो बैंक नेपाल बैंक लिमिटेड ३० कात्तिकदेखि ८६ वर्षमा प्रवेश गर्दै छ । बैंकिङ क्षेत्रमा आफूलाई अब्बल साबित गर्दै आएको यसका देशभर २२१ स्थानमा शाखा र ४९ स्थानमा एक्सटेन्सन काउन्टर विस्तारित छन् । साथै, ७१ जिल्लामा बैंकको सञ्जाल विस्तार भइसकेको छ । देशकै पहिलो बैंकको वर्तमान स्थिति र आगामी रणनीतिका विषयमा प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीसँग नयाँ पत्रिकाका पवन तिमिल्सिनाले गरेको कुराकानी :

नेपालमा बैकिङ क्षेत्रको सबैभन्दा लामो इतिहास बोकेको बैंकले आरोह–अवरोह पार गर्दै ८५ वर्ष पूरा गर्दै छ । कुनै समय नियामक निकायले नियन्त्रणमा लिएरसमेत चलाउनुपरेको यो बैंकको वर्तमान अवस्था के छ ?
हो, नेपाल बैंक देशकै पहिलो बैंक हो । वि.सं. १९९४ कात्तिक ३० गते यसको स्थापना भयो । हामी ८५ वर्ष पूरा गरेर ८६ वर्षमा लाग्दै छौँ । कुनै वेला यो बैंकले ठूलो समस्या भोग्यो त कुनै वेला सफलता पनि हासिल गर्‍यो । यी अवस्था पार गर्दै अहिले सहज अवस्थामा आइसकेको छ । अहिले देशभरका २६ बैंकमध्ये नेपाल बैंक स्वस्थ, सबल, सक्षम र प्रतिस्पर्धी बैंकका रूपमा स्थापित भएको छ । ०७९ असार मसान्तकै तथ्यांक हेर्दा हामीसँग १९७ अर्बको निक्षेप छ भने १८० अर्ब कर्जामा लगानी गरिसकेका थियौँ । अरू सूचकांक हेर्‍यौँ भने कम आधार दर हुनेमा हामी दोस्रो स्थानमा छौँ । यो उत्कृष्ट अवस्था हो । यसको अर्थ हामी सस्तोमा कर्जा प्रवाह गर्न सक्षम छौँ ।

पुँजी पर्याप्तता अनुपात (क्यापिटल एडिक्वेसी) मा पनि हामी उत्कृष्टमा पर्छौं । नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड ११ प्रतिशत छ, तर हामीले १५ प्रतिशत कायम गरेका छौँ । कतिपय बैंकले नाफा आर्जन गर्दागर्दै पनि आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्न पाइरहेका छैनन् । प्रत्येक महिना नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड पालना गर्नुपर्ने हुन्छ । नत्र कमाएको नाफा बाँड्न मिल्दैन । हामीले निरन्तर १५–१६ प्रतिशतको क्यापिटल राखेका छौँ । सुदृढ अवस्थामा छौँ, हामी । अब निष्क्रिय कर्जाकै कुरा गर्ने हो भने पनि असार मसान्तसम्म १.९१ थियो भने असोज मसान्तमा २ को हाराहारी पुगेको छ । केही बढेको देखिए पनि स्वीकार्य अवस्था हो । गत आवमा नेपाल बैंकले असहज परिस्थिति भोग्यो । तरलताको समस्या भोग्नुपर्‍यो । यद्यपि, निक्षेप र कर्जामा वृद्धि गरेको बैंक हो । २७ बैंक हुँदा नेपाल बैंक पहिलो नम्बरमा थियो । तर, २६ वटा भएपछि नेपाल बैंक दोस्रो बनेको छ । 

कोभिडकालमा माग नै कमजोर भएर लगानी गर्न नसकेका बैंकलाई अहिले बाह्य क्षेत्रको दबाबका कारण स्रोत व्यवस्थापन गाह्रो भएको देखिन्छ । यस्तो अवस्थामा नेपाल बैंकले कसरी व्यवस्थापन गर्दै छ ?

संघीय संरचनामा गइसकेपछि विकास निर्माणले तीव्रता पाएको छ । यसको वृद्धिसँगै कर्जाको माग पनि बढ्न थाल्यो । त्यही सिलसिलामा कोभिड–१९ को प्रकोप आइलाग्यो, जसले विकास निर्माणका गतिविधिलाई संकुचित बनायो । त्यो अवस्थामा निक्षेप पनि संकलन भएन र बैंक सञ्‍चालन गर्न सकिएन । महामारी बिस्तारै नियन्त्रणमा आएपछि आर्थिक गतिविधि फेरि विस्तार हुन थाल्यो, माग बढ्न थाल्यो । तर, माग पूरा हुने गरी निक्षेप संकलन हुन सकेन । कोभिडताका भएको निक्षेप सकियो । 

यता, कर्जाको माग निरन्तर वृद्धि भइरहेको अवस्थामा निक्षेप वृद्धि हुन सकेन । अहिले बैंकहरू पर्ख र हेरको अवस्था छन् । कोभिडको सुरुवातमा राष्ट्र बैंकले पनि नियामकीय छुटको सुविधा दिएको थियो । ती सुविधा पनि फिर्ता हुने चरणमा छन् । तत्कालीन समयमा पुनर्कर्जाको सुविधा पनि दिइएको थियो । यो सुविधा केही उत्पादनशील क्षेत्रबाहेक फिर्ता भएको छ । बैंकहरूले खुला हिसाबले ऋण दिने अवस्था छैन । बरु निक्षेपलाई कसरी आकर्षित गर्न सकिन्छ भनेर लागिरहेका छन् । त्यसैले ब्याजदर बढाउनुपर्ने अवस्था पनि आयो । पहिले–पहिले सरकारी बैंक र निजी बैंकको ब्याजदरमा तीन–चार प्रतिशतसम्मको अन्तर हुन्थ्यो । थोरै मात्र ब्याजदर बढाउँदा अत्यधिक खर्च बढ्ने स्थिति थियो । बचतको मात्रा बढी हुन्थ्यो । अहिले ब्याजदरमा एकरूपता छ । हामीले पनि निक्षेप आकर्षित गर्न उच्चतम ब्याजदर निर्धारण गरेका छौँ । 

हाम्रो अर्थतन्त्रमा ठूला निक्षेपकर्ता भनेको औँलामा गन्न सकिन्छ । एक प्रतिशत पनि ब्याजदरको अन्तर हुनासाथ निक्षेप ल्याउन सकिँदैन । त्यसैले हामीले नेपाल सरकार वा राष्ट्र बैंकले निर्धारण गरेको सिडी रेसियो ९० प्रतिशतमा ८७–८८ प्रतिशतमा बस्ने रणनीति अपनाएका हौँ । ०७९ असारमा आउँदा ८७ प्रतिशतमा थियौँ भने ०७९ साउनमा आउँदा ९० प्रतिशत नाघ्यो । गत असारभन्दा साउनमा ५–६ अर्ब कर्जा घटायौँ, तर सिडी रेसियोको सीमा नाघ्यो । त्यसको कारण निक्षेप घट्नु हो । त्यसैले निक्षेपको ट्रेन्ड हेरेर कुन वेलामा कहाँ जाने भन्ने निर्धारण गर्छौं ।अब चुनावी चहलपहलले प्रणालीमा पैसा आयो भने सहज हुने देखिन्छ । रेमिट्यान्समा सुधारका संकेत देखिरहेका छौँ । हाम्रा केही स्रोत संकलन हुन सक्यो भने हामी साना तथा मझौला कर्जामा केन्द्रित हुन सक्छौँ । अहिले हामी टाइट पोजिसनमै बसेर काम गर्छौं । 

चर्काे ब्याजदरको विषय उठिरहँदा नेपाल बैंकले तुलनात्मक रूपमा सस्तो दरमा कर्जा दिन सक्ने अवस्था कसरी बन्यो ?
बैंकको लागत (कस्ट अफ फन्ड) निरन्तर बढ्दै गइरहेको अवस्था हो । पहिले तीन–चार प्रतिशत मात्रै थियो भने बढेर सात प्रतिशतहाराहारी पुगेको छ । तर, हामी अरू बैंकको तुलनामा कम दबाबमा छौँ । कारण, हाम्रो निक्षेपमा अरू बैंकको तुलनामा मुद्दतीको मात्रा कम छ । कासा (करेन्ट एन्ड सेभिङ एकाउन्ट) रेसियो अरूको भन्दा बढी ६० प्रतिशत छ । अर्थात्, निक्षेपमा बचतको मात्रा बढी छ । बजारमा अरूको बढ्दा हाम्रो पनि बढ्ने अवस्था हो । तर, मुद्दतीको अंश कम हुने भएकाले अरूको भन्दा सस्तो दरमा कर्जा प्रवाह गर्न सकिरहेका छौँ । 

हामी अरू बैंकको तुलनामा कम दबाबमा छौँ । कारण, हाम्रो निक्षेपमा अरू बैंकको तुलनामा मुद्दतीको मात्रा कम छ । कम आधार दर हुनेमा हामी दोस्रो स्थानमा छौँ । यो उत्कृष्ट अवस्था हो । यसको अर्थ सस्तोमा कर्जा प्रवाह गर्न सक्षम छौँ ।

कर्जा महँगिँदै जाने अवस्थामा बैंकको नाफामा पनि असर पर्ने होइन ?
निक्षेपमा बढेको ब्याजदर तीन महिनासम्म कर्जामा असर पर्दैन । कात्तिकमा ब्याजदर बढेको भए माघको १ गते मात्रै कर्जामा ट्रान्सफर गर्न सकिन्थ्यो । त्यस हिसाबले बैंकहरूको खर्च बढ्छ, तर कर्जामा देखिँदैन । कात्तिकमा हामीले ब्याजदर बढाएनौँ । निक्षेपमा ब्याज बढेकाले नाफामा कमी आउनेछ । नेपाल राष्ट्र बैंकले ४.४ स्प्रेड दर तोकेको छ । कुनै बैंकले ४.४ प्रतिशत कमाएको छ भने त नाफामा खासै असर पर्दैन । तर, यो सधैँ पूरा गर्न सकिँदैन । हाम्रो उद्देश्य नाफा मात्रै कमाउने होइन, तर नाफा नै चाहिँदैन भन्ने पनि होइन । गत आर्थिक वर्षमा हाम्रो स्प्रेड निकै कम थियो । नाफा चाहिन्छ, सामाजिक उत्तरदायित्व वहन गर्न पनि चाहिन्छ । पछिल्लो तीन आर्थिक वर्षको उदाहरण दिन चाहन्छु । ०७५/७६ मा २५ प्रतिशत, ०७६/७७ मा १६ प्रतिशत र ०७७/७८ मा १७ प्रतिशत लाभांश दियौँ ।

नेपाल बैंकले प्रविधि र जनशक्तिको व्यवस्थापन गरिरहेको छ ?
बैंकमा ३३ सय ९६ कर्मचारी आबद्ध छौँ । लोकसेवा आयोगको कठोर परीक्षा पास गरेर आएकाले अरू बैंकभन्दा उत्कृष्ट हुनुहुन्छ । सेवासुविधामा पनि नेपाल बैंकले एउटा बेन्चमार्क निर्माण गरिसकेको छ । हिजो नेपाल बैंक प्रवेशपछि अरू अवसरको खोजीमा हिँड्नुहुन्थ्यो । अब यहाँ काम गर्नेले नेपाल बैंकभन्दा बाहिर कतै जानुपर्दैन । त्यस्तै, प्रविधिमा धेरै फड्को मारेको अवस्था छ । खासगरी, कोभिडपछि डिजिटल बैंकिङमा ग्राहकहरू अभ्यस्त बनेका छन् । अहिले बेलायतमा बसेर पनि कुनै ग्राहकले नेपाल बैंकमा खाता खोल्न सक्छ । प्रविधिले बैंकिङ क्षेत्रमा जे–जस्तो सुविधा भित्र्याएको छ, ती सबै सुविधा नेपाल बैंकले दिइरहेको छ । 

निजी बैंकहरू मर्जरमा गइरहेका छन् । सरकारी बैंकको तयारी के छ ?
बैंकहरू मर्जरमा गइरहेका छन् । राष्ट्र बैंकले पनि मर्जरमा लैजान प्रोत्साहनको नीति लिएको हो । कतिपय बैंकलाई ठूलो कसरी बन्ने भन्ने होडबाजी चलिरहेको छ । मर्जर त राम्रोसँग अध्ययन गरेर भएको राम्रो हो । तर, हाम्रोमा त रातारात सहमति भएर एमओयू भयो भनेको पनि जानकारीमा आएको छ । राष्ट्र बैंककै अध्ययनले नेपालमा १६ बैंक उचित हुन्छ भनेर प्रतिवेदन तयार पारेको थियो । निजी बैंकहरूलाई त यो विषयमा निर्णय लिन सजिलो हुने नै भयो । हाम्रो चाहिँ सरकारको स्वामित्व हुने भएकाले बजेट तथा मौद्रिक नीतिमै व्यवस्था भएर प्रक्रियागत हिसाबले अघि बढ्नुपर्ने हुन्छ । हाम्रो बोर्डले निर्णय गरेर पनि हुँदैन । अर्थ मन्त्रालयबाट स्वीकृति लिनुपर्ने पनि हुन्छ । अहिले हाम्रो कुनै त्यस्तो योजना छैन । 

नेपाल बैंकको अबको योजना के छ ?
यो वर्षमा शाखा विस्तार २३० पुर्‍याउने योजना छ । सेवामा गुणस्तरका लागि आन्तरिक प्रणाली सबल बनाउनेछौँ । कर्मचारीको क्षमता वृद्धि र नयाँ प्रविधिलाई आत्मसात् गर्दै जाने योजनामा छौँ । हाम्रो नेपाल बैंक लिमिटेडलाई सबैले आफ्नो भन्न मिल्ने बनाउने रणनीति हो ।