लहान । सिराहाको गोलबजार नगरपालिका– १, मुक्सार क्षेत्रबाट कडा खालको मानिने प्रतिबन्धित ब्राउनसुगरजस्तो देखिने पदार्थसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार विशेष सूचनाको आधारमा प्रहरी चौकी मुक्सार र गोलबजारस्थित लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालयबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलीले धनगढीमाई नगरपालिका– १३ का करिब १९ वर्षीय सुरज यादव र उनका साथी स्थानीय श्यामबाबुकुमार यादवलाई सोमबार साँझ पक्राउ गरेको हो।
पूर्व–पश्चिम लोकमार्गमा पर्ने कसहाबाट स.६प ७३३७ नम्बरको मोटरसाइकल चढेर उत्तरतर्फ गइरहेका यादवद्वयलाई रोकेर चेकजाँच गर्दा मोटरसाइकलचालक सुरजको साथबाट प्लास्टिकबाहेक चार ग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थ बरामद भएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।
उनका अनुसार मोटरसाइकलसहित दुवैजनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गोलबजारमा राखेर थप अनुसन्धान भइरहेको छ।
दुई महिनामा ३८८ ग्रामभन्दा बढी ब्राउनसुगर बरामद
सिराहा प्रहरीले पछिल्लो दुई महिनाको अवधिमा जिल्लाका विभिन्न ठाउँबाट ३८८ ग्राम ३९ मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ। प्रहरी तथ्यांकअनुसार चालू आर्थिक वर्ष ०८३/८४ को भदौमा जिल्ला प्रहरी र मातहतको प्रहरी युनिटबाट खटिएको प्रहरी टोलीले १३८ ग्राम २७० मिलिग्राम र साउन महिनामा २५० ग्राम ४२ मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो।
प्रहरीले पछिल्लो आ.व. ०८२/८३ मा ९८७ ग्राम ३९ मिलिग्राम २७० मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो।