कञ्चनपुर । महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक (असइ) सागरराज थारूको शव फेला परेको छ। बुधबार बिहान महाकाली नदीमा उनको शव फेला परेको हो। सशस्त्र प्रहरीको गोताखोर टोलीले जालीमा अड्किएको अवस्थामा शव निकालिएको जनाएको छ।
असोज २४ गते दोधाराचाँदनीको झोलुंगे पुल भत्किएसँगै नेपाल टेलिकमको तारसमेत चुँडिएको थियो। सोही तार पुनर्निर्माण गर्ने क्रममा नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असइ सागरको शव पाँच दिनपछि फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। कञ्चनपुरका सशस्त्र प्रहरी प्रमुख एसपी प्रेमप्रकाश सिग्देलले असइ सागरको शव नदीबाट निकालेर आवश्यक प्रक्रिया अघि बढाइने बताए।
दार्चुलामा कार्यरत सागर घर बिदामा आएपछि दोधारा देवीस्थान गुल्ममा हाजिर भएका थिए। घर बिदामा असोज २३ गते दोधारा पुगेका सागर भोलिपल्टै अर्थात् असोज २४ गते महाकाली नदीमा बेपत्ता भएका थिए।ठाकुरबाबा नगरपालिका– ६, बर्दियाका स्थानीयसमेत रहेका सागर पाँच दिनदेखि नदीमा बेपत्ता भएपछि उनका परिवार घटनास्थलमै पुगेका थिए।
सागरका बुवा धनीराम थारू छोराको शव वा सासमध्ये केही पाउने आशामा घटनास्थलमा व्याकुल भएर बसेका थिए। उनले छोराको खोजीका क्रममा आफूले भोगेको पीडा सुनाउँदै भने, ‘मैले सर्वस्व गुमाएँ। मेरो कोही पनि छैन। मेरो बाँच्ने आधार एउटै थियो, मेरो बुढेसकालको सहारा। जीवनभरको सर्वस्व कमाइ क्षणभरमै गुमाएँ। मेरो छोरा घर बिदामा असोज २३ गते यहाँ आइपुग्यो। असोज २४ गते एक्कासि ड्युटीमा खटियो। छोरालाई यहाँको वातावरणबारे केही थाहा थिएन। मलाई शंका लाग्यो, कमान्डर टोलीले वैकल्पिक बाटो र सुरक्षा नअपनाई छोरालाई सिधै नदीमा पठायो।’
सागरकी श्रीमती अञ्जली थारू पनि सशस्त्र प्रहरीमै कार्यरत छिन्। सागर बेपत्ता भएकै दिन रोल्पामा कार्यरत अञ्जलीले दिउँसो २ बजेतिर घटनाबारे खबर पाएको बताइन्।
उनले भनिन्, ‘म ड्युटीमै थिएँ। महाकाली नदीमा टेलिकमको तार तान्ने क्रममा सागरको खुट्टामा तार अल्झिएर बेपत्ता भएको खबर आयो। म राति नै बस चढेर घर आएँ र त्यहाँबाट सिधै घटनास्थल पुगेँ। अहिलेसम्म श्रीमानकाे न सास न लास पाएकी थिएँ। यहाँको वातावरणबारे केही नबुझेका मेरा श्रीमान्लाई नदीमा पठाइयो। अझै उहाँका विषयमा कुनै नयाँ जानकारी आएको थिएन। हामी यहाँबाट कि सास कि लास लिएर मात्रै जान्छौँ।’
दोधाराचाँदनीको झोलुंगे पुल भत्किएको दिन नदीको जलस्तर ६० हजार क्युसेक थियो भने सागर बेपत्ता भएको दिन ३१ हजार क्युसेक थियो। निर्माण भएको दुई दशक नबित्दै झोलुंगे पुल भत्किएपछि दोधाराचाँदनी नगरका स्थानीयको आवागमनमा मात्रै नभई यहाँको पर्यटन क्षेत्रमा समेत असर परेको छ।