विपत्, महँगी र दसैँ

यसपटक दसैँँ मान्न गाउँघर फर्किएका र किनमेल गर्न बजार पसेकाहरू खुसी छैनन् । एकातर्फ प्राकृतिक विपत्तिको घाउ आलै छ भने अर्कातर्फ ढाडै सेकिने गरी महँगी बढेको छ ।

शनिबार, १ कार्तिक, २०८३
प्रिन्ट संस्करण

नेपालको ठुलो चाड दसैँं सुरु भइसकेको छ । सहरका पसलमा नयाँ कपडा र दसैँका सामान किन्नेको भिड देखिन्छ । बसपार्क र चोक–चोकमा घर फर्किनेहरूको भिडभाड पनि उस्तै छ । बिदेसिएका नेपालीहरू दसैँको टीका थाप्न स्वदेश फर्किने क्रम बढ्दै छ । तर, यसपटक दसैँ मान्न गाउँघर फर्किएका र किनमेल गर्न बजार पसेकाहरू खुसी भने छैनन् । एकातर्फ प्राकृतिक विपत्तिको घाउ आलै छ भने अर्कातर्फ ढाडै सेकिने गरी महँगी बढेको छ । 

दसैँको मुखमा अहिले पनि बजारमा सहजै ग्यास पाइँदैन । उपत्यकालगायत सहरहरूमा ग्यास किन्नेको लामो लाइन छ । धेरै मानिस ग्यास नपाएर भौतारिरहेका छन् । अर्कातर्फ घिउ, चिनी र अन्य दैनिक उपभोग्य वस्तुको पनि अभाव छ । पाइने वस्तुको पनि मूल्य किनिसक्नु छैन । नेपालीहरूको महान् पर्व दसैँको वेलामा देखिएका यी अभावहरूले दसैँलाई कठिन पर्वका रूपमा चित्रण गरिरहेको छ । 

अझ यसपटक दसैँंको नजिकै आएको भोटेकोशी बाढीको वितन्डाले सडक सञ्जाल नै क्षतविक्षत् पारेको छ । बाढीका कारण सयौँ परिवार आश्रयविहीन छन् । उनीहरू सरकारी आश्रय स्थलमा रात काटिरहेका छन् । अझ २५० भन्दा बढी बालबालिका अभिभावकविहीन छन् । अर्कातर्फ, दसैँकै मुखमा गाउँघर जान सहर छाडेकाहरूले ज्यानै दाउमा राखेर यात्रा गरिरहेका छन् । 

दसैँको वेलामा यसरी सबै प्रकारका दुःखले घेर्नु विडम्बना हो भन्छन्, समाजशास्त्री प्राडा. युवराज लुइँटेल । उनी यसपटकको दसैँलाई रौनकताविहीन दसैँका रूपमा लिन्छन् । ‘हरेक वर्ष दसैँमा एउटा न एउटा अभाव र समस्या आइरहेकै हुन्छ,’ उनी भन्छन्, ‘हरेक वर्ष २० देखि ३० प्रतिशत नेपालीलाई दसैँ दशाजस्तो हुन्छ, अझ यसपटक भोटेकोशी बाढीले पुर्याएको मानवीय र भौतिक क्षतिले आमनेपालीलाई दुःखी बनाएको छ, अर्कातर्फ महँगीले सीमा नाघेको छ ।’ उनका अनुसार विगतमा दसैँको वेला यस्ता विपत् घटना भने भएका थिएनन् । तर, यसपटक दसैँ नजिकिँदै गर्दा विपत्ले आममानिसलाई ठुलो चोट दिएको उनको भनाइ छ ।

त्यसो त दसैँं नेपाली समाजको सबैभन्दा ठुलो पारिवारिक पुनर्मिलन हो । टाढा रहेका मानिस घर फर्किन्छन् । आँगनमा हाँसो सुनिन्छ । भान्सामा मिठो पाक्छ । टीका र जमराले घर उज्यालो बनाउँछ । तर, यसपटक हजारौँ घरमा त्यो खुसी विपत्ले खोसेको छ । हाल होल्डिङ सेन्टरमा बसिरहेकाहरूलाई दसैँंका लागि अरू केही चाहिँदैन । उनीहरूका लागि दुई छाक खान पाए पुग्छ ।

प्राडा. लुइँटेलले यसपटक प्राकृतिक विपत्तिले मात्रै नभएर बजार र अभावले पनि दसैँलाई थिचिरहेको बताउँछन् । ‘अहिले बजार अचाक्ली महँगिएको छ, सर्वसाधारणलाई दसैँ मनाउन कठिन छ, विगतका वर्षको महँगी हेर्दा अहिले दोब्बर देखिन्छ,’ उनी भन्छन्, ‘अझै पनि घिउ, चिनी, ग्यासको अभाव छ, सरकारले जसको तलब बढायो उनीहरूलाई केही राहत होला, तर अनौपचारिक क्षेत्रमा ज्यालामजदुरी गर्नेहरूलाई महँगीले नराम्ररी थिचेको छ, आम्दानी बढेको छैन, त्यसैले दसैँ कसैकसैका लागि रौनक र खुसी भए पनि कसैका लागि बाध्यता अभाव हो ।’ 

संस्कृतिविद् दिनेशराज पन्तले अहिले देशमा प्राकृतिक विपत्तिले आममानिसको मन छियाछिया पारेकाले पर्व मनाउने सोच कमजोर भएको बताए । ‘पर्व सबैका लागि चाहिन्छ, पर्वले खुसी र एकता दिन्छ, तर १० भदौको बाढीको कारण मानिसहरू पीडामा छन्, बाटोघाटो बिग्रिएको छ,’ उनी भन्छन्, ‘यसपटकको दसैँ विगतमा भन्दा धेरै फरक छ, विगतमा भन्दा धेरैलाई यसपटकको दसैँमा पीर चिन्ता थपिएको छ ।’ 

होल्डिङ सेन्टरमा छैन दसैँको रौनक 
हालै आएको भोटेकोशी बाढी र बुढीगण्डकी बाढीले आमनेपालीलाई आहत मात्रै होइन, सयौँको परिवार खोसेको छ । सयौँ मानिस घरबार र भूमिहीन बनेका छन् । यस्तो प्रलयकारी विपत्तिलाई भोगेकाहरूमा दसैँको रौनक देखिँदैन । काठमाडौंको स्वयम्भूस्थित पहेँलो गुम्बामा आश्रय लिइरहेका रमेश तिमल्सिनाले यसपटकको दसैँं दशाका रूपमा रहेको बताए । ‘मेरो घर नुवाकोट हो, परिवारका आधा सदस्य बाढीले लग्यो, यस्तो अवस्थामा हामीलाई दसैँ आयो भन्ने लाग्दैन,’ उनी भन्छन्, ‘विगतका दसैँ परिवारमा रमाइलो थियो, तर योपटकको दसैँमा परिवार नै पीडामा छौँ ।’

भोटेकोशी–त्रिशूली जलाधार क्षेत्रमा गएको भदौ १० गतेको विनाशकारी बाढीले हजारौँ मानिसको जीवन उल्टाइदियो । बाढीले सडक, पुल, घर, विद्यालय, स्वास्थ्य संस्था र व्यापारिक संरचनामा ठुलो क्षति पुर्यायो । सरकारी विवरणले करिब १६ लाख मानिस प्रभावित छन् । उनीहरूका लागि यो वर्ष कुनै चार्डबार्ड नै आउँदैन । बाढीबाट जसले आफन्त गुमाए उनीहरूमा पीडा मडारिएको छ ।

कुनै वेला आफ्नै घरको आँगनमा दसैँंको जमरा राख्ने परिवार अहिले होल्डिङ सेन्टरको अस्थायी आश्रयमा बसेको छ । विद्यालय, सामुदायिक भवन र विपत् होल्डिङ सेन्टरहरू अहिले धेरै बाढीपीडितका लागि घर बनेका छन् । हाल १७ वटा स्थानमा होल्डिङ सेन्टरमा एक हजार ५० जना बस्दै आइरहेका छन् । होल्डिङ सेन्टर बाहिर आफन्तकहाँ वास खोज्नेहरूको संख्या ठुलो छ । होल्डिङ सेन्टरमा बसेका बालबालिकाका लागि दसैँंभन्दा पनि अभिभावकको चिन्ता छ । 

दसैँको मुखमा महँगीको तनाव
दसैँ नजिकिँदै गर्दा किनमेलमा निस्किएका उपभोक्तालाई बजारभाउ सुन्दा पत्याउन कठिन हुन्छ । अधिकांश वस्तुको मूल्य अकासिएको छ । खानेतेल, दाल, चामल, चिनी, मासु र तरकारीको मूल्यले परिवारको मासिक बजेटले नभ्याउने गरी बढेको छ । दसैँको मुखमा खानेतेलको मूल्य प्रतिलिटर ३२० देखि ४६० रुपैयाँसम्म पुगेको र दालको मूल्य २२० देखि २५० रुपैयाँसम्म पुगेको छ । कुखुराको मासु प्रतिकिलो करिब ४७० रुपैयाँ र खसीको मासु एक हजार आठ सय रुपैयाँसम्म पुगेको छ ।

बाढीपहिरोका कारण कालीमाटी बजारमा आपूर्ति घट्दा तरकारीको मूल्य अकासिएको छ । अर्कातर्फ कालीमाटीभन्दा थोक विक्रेताले दोब्बर मूल्यमा बेच्ने गरेका छन् । संस्कृतिविद् गोविन्द टन्डन अहिले दसैँको वेलामा अहिले दसैँमा विपत् मात्रै नभएर महँगी र अभावले आममानिसलाई कठिन बनाएको बताउँछन् ।

‘प्राकृतिक विपत् वा मानिसले सिर्जना गरेको विपत्ले ठुलो क्षति पारेको छ, अर्कातर्फ महँगी बढेको छ, उत्साहपूर्वक रूपमा चाडबाड मनाऔँ भन्ने छैन, मनमा अँध्यारो छ, पर्व टार्नका लागि मनाउने एउटा कुरा हो,’ उनी भन्छन्, ‘तर मनैदेखि पर्व मनाउने खुसी र उत्साह अहिले छैन, विपत््का घटनाले दसैँलाई छायामा पारेको छ, यही चाडबाडको मौका छोपेर व्यापारीले महँगो बनाउने गरेका छन्, राज्यले अनुगमन पनि राम्ररी गर्न सकेको छैन ।’ 

हाल दसैँँमा घर जाने लामो दूरीका बस भाडासमेत बढेको छ । अझ लामो दूरीका बसले यात्रुहरूलाई मनपरी भाडा उठाइरहेका छन् । सरकारले निर्धारण गरेको दरअनुसार गत वर्षको तुलनामा यस वर्ष दसैँँमा काठमाडौं–काँकडभिट्टा भाडादर ५१५ रुपैयाँले बढेको छ ।

अहिले काठमाडौं–काँकडभिट्टा सुपर डिलक्स बसको भाडा ३ हजार ८२ रुपैयाँ रहेको छ । गत वर्ष यही समयमा उक्त स्थानको भाडादर २ हजार ५६७ रूपैयाँ थियो । त्यस्तै, काठमाडौं–धनगढी रुटको बस भाडा पनि ५८२ रुपैयाँ महँगिएको छ । गत वर्ष दसैँँमा २८ सय ९५ रुपैयाँ रहेको काठमाडौं–धनगढीको सुपर डिलक्स बसभाडा यसपालि ३४ सय ७७ निर्धारण भएको छ । त्यस्तै, अहिले हवाई भाडा पनि अकासिएको छ । 

दसैँका लागि किनमेल गर्न बजार पसेकाहरू लत्ताकपडादेखि खानेकुरासम्म भाउ बढेको देख्दा आजित छन् । विगतको दसैँको तुलनामा यो वर्ष लत्ताकपडामा २० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ । 

 बाहिरिने सडक छैन सुरक्षित 
दसैँको वेला उपत्यकाबाट हरेक वर्ष करिब २० लाख मानिस बाहिरिन्छन् । तर, यसपटक दसैँमा उपत्यका छाड्नेहरूको मनमा चिन्ता छ । घरसम्म पुगिएला कि नपुगिएला ? बाटो खुल्ला कि नखुल्ला ? टिकट पाइएला कि नपाइएला ? भन्ने प्रश्नहरू यात्रुहरूको मनभरि छन् ।

यसपटक बाढी र विपत्तिका घटना भए पनि करिब २० लाख यात्रु उपत्यकाबाट बाहिरिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ । तर, यस वर्ष बाढीपहिरोले सडक र पुलमा पुर्याएको क्षतिका कारण यात्रा असामान्य बनेको छ । बाढीपहिरोकै कारण पूर्व–पश्चिम राजमार्गको ठाउँ–ठाउँमा अवरोध छ । जसका कारण यात्रुहरू घण्टाैँ जाम र जोखिमपूर्ण यात्रा गरिरहेका छन् । 

सुझावित समाचार