चाडपर्वहरू सामान्य सांस्कृतिक परिघटना वा सांस्कृतिक उत्सव मात्रै होइन । यो एउटा सामाजिक संस्था र सामूहिक अभ्यास हो । आमरूपमा चाडपर्वहरूको माध्यमबाट समाजमा पहिचान, ज्ञान, एकता, सामाजिक सम्बन्ध, आदिमा आइरहेको परिवर्तनलाई देख्न र बुझ्न सकिन्छ ।
चाडपर्वहरूले सामाजिक सम्बन्ध, पहिचान, एकता र ज्ञानको उत्पादन, पुनरुत्पादन र परिवर्तन गरिरहेको हुन्छ । यस्ता चाडपर्वहरू शक्ति, संस्कृति, राजनीति, धर्म, कृषि, आदिसँग सम्बन्धित हुन्छ । चाडपर्वका विविध र विशिष्ट आयाम हुन्छन्, सामूहिक÷सामुदायिक सम्झना, सामूहिक/सामुदायिक पहिचान, सामाजिक एकता, शक्ति, अर्थतन्त्र, राजनीति आदि ।
नेपाल बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक समाज भएकाले यहाँ विभिन्न प्रकारका चाडपर्व मनाइन्छ । त्यसमध्ये दसैँँ एक विशिष्ट चाडपर्व हो । दसैँँलाई सामाजिक सांस्कृतिक सद्भाव, सांस्कृतिक उत्सवको रूपमा मात्र नभई शक्तिको उपासना, विजय उत्सवसँग जोडेरसमेत बुझ्ने र मनाउने गरिन्छ ।
दसैँँले नेपाली समाजमा निश्चित खालको चेतना र ज्ञानको उत्पादन र पुनर्उत्पादन गर्दै आइरहेको छ । तर, पछिल्लो दशकमा नेपाली समाजमा आएको सामाजिक, राजनीतिक, आर्थिक, संस्थागत एवं संरचनात्मक परिवर्तनसँगै दसैँलाई बुझ्ने, बुझाउने र मनाउने सबै तरिकामा व्यापक परिवर्तन देखिएको छ ।
दसैँँले नेपाली समाजमा निश्चित खालको चेतना र ज्ञानको उत्पादन र पुनरुत्पादन गर्दै आइरहेको छ । तर, पछिल्लो दशकमा नेपाली समाजमा आएको सामाजिक, राजनीतिक, आर्थिक, संस्थागत एवं संरचनात्मक परिवर्तनसँगै दसैँलाई बुझ्ने, बुझाउने र मनाउने सबै तरिकामा व्यापक परिवर्तन देखिएको छ ।
अनुष्ठान र क्रियाकलापका आधारमा हेर्ने हो भर्ने दसैँँ मूलतः शक्तिको उपासना र विजय उत्सवसँग सम्बन्धित पर्व हो । हिन्दु धर्म र परम्परासँग जोडिएको यो पर्वमा हिन्दु देवी–देवताको उपासना गरिन्छ, हतियारको पूजा गरिन्छ र शक्ति याचना गरिन्छ । यसमा भेटघाट र मनोरञ्जनजस्ता सामाजिक पक्षहरू पनि स्वतः जोडिएर आउँछन् ।
ऐतिहासिक रूपले राष्ट्र–राज्य निर्माणको प्रक्रियामा नेपाली समाज जतिजति हिन्दुकरण हुँदै गयो, राज्यले हिन्दु धर्म–संस्कृतिलाई बढावा दिँदै गयो, दसैँँ त्यति नै बलशाली, सर्वव्यापी र ‘राष्ट्रिय पर्व’का रूपमा स्थापित हुँदै गयो । पछिल्लो दशकहरूमा दसैँँप्रतिको बुझाइ र यो पर्व मनाउने प्रक्रिया दुवैमा व्यापक परिवर्तन हुँदै आएको छ । हाम्रा अघिल्ला पुस्ताले मनाउने दसैँँ र आज पुस्ताले मनाउने मात्र होइन, बुझ्ने र बुझाउने दसैँँमा ठुलो अन्तर छ ।
त्यसैले दसैँँलाई सांस्कृतिक उत्सव वा घटनाका रूपमा मात्र नहेरी अन्य थुप्रै सामाजिक, आर्थिक आयामबाट हेर्न र बुझ्न आवश्यक हुन्छ । यसरी हेर्दा र बुझ्दा, दसैँँ नेपाली समाजको अवस्था र परिवर्तनलाई बुझ्ने र बुझाउने आँखीझ्यालसमेत हुन सक्दछ ।
दसैँ र नेपाली समाज
तीव्र रूपमा परिवर्तन भइरहेको नेपाली समाज, यो समाजभित्र विघटन वा तीव्र रूपमा रूपान्तरित भइरहेको परिवार, नाता प्रणाली, समुदाय दसैँँको ऐनामा हेर्दा छर्लंग देखिन्छ । दसैँँको अवसरमा घरघरमा बजारिया खाद्य पदार्थ अधिक भित्रिनु, नयाँनयाँ सामग्री भित्रिनुले हाम्रो घरमा बजारले गरिरहेको अतिक्रमण देखाउँछ । यसले हाम्रो उपभोक्तावादी संस्कृतिको आयतनलाई प्रस्ट पार्छ ।
दसैँँमा लगाइँदै आएको टीका, जमरा र दिइँदै आएका आशिर्वादले एक किसिमको निरन्तरलाई प्रस्ट्याउँछ । खाद्य पदार्थ, किनमेलका साथै बाटामा विभिन्न रंग, प्रकार र मूल्यका कपडा र गहनाहरू लगाएर हिँड्ने महिला र पुरुषहरूले सामाजिक, पारिवारिक, सामुदायिक एकताको प्रदर्शन मात्र होइन, हाम्रो समाजको आर्थिक असमानतालाई ऐना जसरी देखाइदिन्छ ।
काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट डोरिले बाँधेको सुटकेस र पछाडि अर्को झोला भिरेर उमंगका साथ नेपाल आउनेको भिडले दसैँँको महŒव मात्र होइन, हाम्रो रेमिट्यान्स अर्थतन्त्रलाई चित्रित गर्छ । काठमाडौंबाट दसौँ लाख मानिस बाहिरिनुले हाम्रो परिवारमा भइरहेको विभाजनलाई मात्र होइन, नेपालको केन्द्रीकृत राज्यको चरित्रलाई समेत प्रस्ट पार्दछ । बढ्दै गएको बजार अर्थतन्त्रको चरित्रलाई देखाउँछ । मधेशका नाकाहरूबाट मसिना झोला भिरेर नेपाल प्रवेश गर्ने लस्कर, जो दसैँँमा देखिन्छ, यसले हाम्रो गाउँ रित्तिएको मात्र होइन, हामी कति आर्थिक परनिर्भरतामा बाँचिरहेका छौँ भन्ने देखाउँछ ।
दसैँँको वेला राज्यले कर्मचारीहरूलाई दिने भत्ता, लामो सार्वजनिक बिदाले राज्यले दसैँप्रति देखाएको नरम नीतिलाई संकेत गर्दछ । दसैँँको वेला राष्ट्रपतिको (शक्तिशालीको) हातबाट टीका थाप्न जाने भिडले नेपाली समाजमा सामन्तवाद जिउँदै रहेको प्रमाण दिन्छ ।
अझै पनि दसैँलाई नेपालीहरूको महान् पर्व, राष्ट्रिय पर्वको संज्ञा दिँदै यसैलाई बढोत्तरी गर्ने प्रक्रियाले नेपाली राष्ट्र–राज्य निर्माण प्रक्रियामा भएको हिन्दुकरणको प्रक्रिया अझै जारी रहेको प्रस्ट्याउँछ ।
संरचनात्मक पक्ष
जतिवेला नेपाली समाज मुख्यतः कृषिमा आधारित थियो, संयुक्त परिवार थियो, परिवारिक संख्या धेरै थिए । बालीनाली लगाइसकेर कृषिकर्मको व्यस्तता तुलनात्मक रूपमा कम भएको समयमा पर्ने दसैँको समयमा परिवारका सदस्यहरूसँगै बसेर मिठोमसिनो खाने, नयाँ कपडा लगाउने र विश्राम गर्ने अवसरको रूपमा मनाइन्थ्यो । छरछिमेक, छोरीचेली, अन्य नातागोता भेटघाटको महत्वपूर्ण अवसर थियो, दसैँँ ।
भेटघाट र खानपानसँगै टीका लगाइदिने/थाप्ने, आफूभन्दा साना (उमेर र साइनो दुवै)लाई आशिर्वाद दिने, शुभेच्छा प्रकट गर्ने अवसर थियो, दसैँ । आज नेपाली समाज त्यो अवस्थाबाट अगाडि बढेको छ । नेपाली समाज कृषिमा मात्र आधारित छैन, गैरकृषिक्षेत्र (सेवाक्षेत्र) व्यापक भएको छ । बजार अर्थतन्त्र बलशाली बन्दै गएको छ । बजारमा आधारित अर्थतन्त्रसँगै प्रविधि, सामाजिक सञ्जाल, र अन्य सञ्चारमाध्यम हाम्रो दैनिक जीवनका अभिन्न अंग बनेका छन् । हाम्रो समाजको आर्थिक जीवन बजारकेन्द्रित हुँदै गएको छ, प्रविधिकेन्द्रित बन्दै गएको छ ।
यी संंरचनागत परिवर्तनसँगै दसैँँ मनाउने चलन र प्रक्रियामा पनि व्यापक परिवर्तन आएको छ । दसैँँ मनाउने परम्परागत शैलीमा परिवर्तन आएको छ । त्यस अर्थमा मौलिकतामा समेत केही परिवर्तन आएको छ । तर, मौलिकता पूर्ण रूपमा हराएकोभन्दा पनि यसलाई मनाउने तरिका, प्रस्तुत गर्ने शैली र बुझ्ने दृष्टिकोणमा परिवर्तन ल्याएको छ ।
दसैँँसँगै जोडिएका सामाजिक सम्बन्ध र सांस्कृतिक अभ्याससमेत यही प्रक्रियामा बदलिएका छन् । यो परिवर्तन बाहिरबाट हेर्दा प्रविधिमा आएको विकासका कारणले जस्तो देखिन्छ । किनकि परिवर्तित शैलीमा बाहिरबाट देखिने प्रविधि नै हो । तर, दसैँँ मनाउने शैली र प्रक्रियामा आएको परिवर्तनलाई प्रविधिका कारणले आएको परिवर्तनको रूपमा मात्र बुझ्नु हुँदैन ।
प्रविधिले दसैँँको मौलिकतामा ह्रास ल्याएको अर्थमा मात्र पनि सीमित गर्नुहुँदैन । किनभने यसको पछाडि समाजको सामाजिक र आर्थिक संरचनामा आएको परिवर्तन मुख्य जिम्मेवार छ । विशेष गरी, बजारमा आधारित अर्थतन्त्र, त्यसले संस्कृतिमा पारेको प्रभाव र त्यसबाट विकसित उपभोक्तावादले यस पर्वको शैली र स्वरूप बदल्न महत्वपूर्ण भूमिका खेलेको छ ।
दसैँँको मौलिकता हराउनु, पर्वका अभ्यास बदलिनु वा संस्कृति वस्तुकरण हुनुमा प्रविधि मात्र जिम्मेवार छैन, प्रविधि एउटा माध्यम मात्र हो । त्यसको प्रयोग कसले ?, कसरी ?, कुन उद्देश्यका लागि भइरहेको छ ? र त्यसलाई परिचालन गर्ने सामाजिक, आर्थिक संरचना कस्तो छ ? भन्ने कुरा महत्वपूर्ण हुन्छ । यसको संरचनात्मक पक्षलाई केलाउँदै जाँदा पुँजीवाद, बजारमा आधारित अर्थतन्त्र र उपभोक्तावादसम्म पुगिन्छ । पुँजीवादी व्यवस्थामा बजारले सामाजिक तथा सांस्कृतिक गतिविधिलाईसमेत आर्थिक सम्बन्धसँग जोड्छ । प्रविधि यी सबै कुराका लागि महत्वपूर्ण माध्यमको रूपमा आउँछ ।
बजारमा आधारित अर्थ–व्यवस्था र त्यसैको साधनको रूपमा आउने प्रविधिले संस्कृतिलाई सामाजिक संस्था र सामूहिक अभ्यासका रूपमा मात्र नभई वस्तुकरण गर्ने प्रवृत्ति विकसित भएको छ । जस्तैः पहिले दसैँँ पारिवारिक र सामुदायिक अभ्यासका रूपमा मनाइन्थ्यो ।
अहिले दसैँँसँग जोडिएका गतिविधि युट्युब र अन्य सामाजिक सञ्जालका व्यापारिक सामग्री बन्छन् । दसैँँलाई सामग्री बनाएर आम्दानी गर्ने, पर्वसँग जोडिएका वस्तु बेच्ने र त्यसलाई बजारमा प्रस्तुत गर्ने काममा प्रविधिले साधनको भूमिका खेल्छ ।
दसैँँ मनाउने क्रममा बजारिया सामग्रीहरूको व्यापक प्रयोग अर्थतन्त्रसँग जोडिने अर्को पाटो पनि त्यत्तिकै महत्वपूर्ण छ । तर, दसैँँलाई यसरी वस्तुकरण गर्ने संरचनात्मक आधार पुँजीवादी बजार अर्थतन्त्र हो । प्रविधि उपलब्ध हुँदैमा संस्कृति स्वतः वस्तुकरण हुने होइन । त्यसलाई कसरी प्रयोग गरिन्छ ? भन्ने कुरा सामाजिक–आर्थिक सम्बन्धले निर्धारण गर्छ । त्यसैले प्रविधिका कारण मौलिकता गुम्यो ? भन्नुभन्दा मौलिकता कमजोर बनाउने वा संस्कृतिलाई वस्तुकरण गर्ने संरचनात्मक अवस्थाको विश्लेषण गर्नु आवश्यक छ ।
बसाइँसराइ र भर्चुअल दसैँँ
आजभोलि दसैँँमा विगतमा जस्तो सबै परिवारका सदस्य, आफन्त एकैठाउँमा भेला हुन सम्भव छैन । बसाइँसराइ, कामको सिलसिलामा परदेसिनुपर्ने बाध्यताले भेटघाट गर्नुपर्ने मानिसहरू नै विभिन्न ठाउँमा छरिएका छन् । दसैँँमा घर आउने इच्छा हुँदाहुँदै पनि व्यक्तिको विविध अवस्थाले त्यसलाई सम्भव नबनाउन सक्छ ।
जस्तैः हङकङ वा साउदी अरबमा काम गरिरहेको व्यक्ति दसैँँमा घर फर्कन नसक्ने अवस्था हुन सक्छ । यस्तो अवस्थामा उसले भर्चुअल माध्यमबाट दसैँ मनाउने चलन चलिसकेको छ । त्यसैको माध्यमबाट परिवारका सदस्यलाई हेर्छ र पर्वमा सहभागी हुन्छ । यसरी प्रविधिले भौगोलिक दूरीमा रहेका मानिसलाई पनि दसैँँ मनाउन सम्भव बनाएको छ । यो प्रविधिको सकारात्मक योगदान हो । तर, मानिस घरपरिवारबाट टाढा हुनुपर्ने अवस्थाको पछाडि प्रविधि होइन, अर्थतन्त्र र विश्वव्यापीकरणको भूमिका छ ।
नेपाली समाजको अर्थतन्त्र कृषिमा मात्र आधारित मात्र नरहनु, रोजगारीका लागि विदेश जानुपर्ने अवस्था र रेमिट्यान्समा निर्भरता बढ्नुजस्ता कारणले मानिसहरू विभिन्न देशमा छरिएका छन् । बसाइँसराइ र श्रमको गतिशीलताले परिवारलाई एउटै ठाउँमा बसिरहन दिएको छैन । यस्तो अवस्थामा प्रविधि पर्व मनाउने माध्यम बनेको छ । मानिसले टाढैबाट परिवारसँग सम्बन्ध कायम राख्न र दसैँँमा सहभागी हुन यसको प्रयोग गरिरहेको छ ।
अहिलेको आर्थिक व्यवस्थाले हुने र नहुनेबिच ठुलो असमानता सिर्जना गरेको छ । यो असमानता दसैँँ मनाउने प्रक्रियामा पनि देखिन्छ । विदेशमा रहेका कतिपय मानिसले परिवारलाई उपहार पठाउन सक्छन्, आर्थिक सहयोग गर्न सक्छन् र प्रविधिको माध्यमबाट घरपरिवारसँग नियमित सम्पर्कमा रहन सक्छन् । तर, सबैको अवस्था समान हुँदैन । जस्तैः साउदी अरबमा काम गरिरहेको गरिब व्यक्तिको घरपरिवारसँग स्मार्टफोन छैन भने उसले भिडियोमार्फत परिवारलाई देख्न वा परिवारका सदस्यसँग प्रत्यक्षजस्तो संवाद गर्न सक्दैन । स्मार्टफोन भए पनि इन्टरनेटको सुविधा नहुन सक्छ । उपकरण भए पनि त्यसको प्रयोग गर्न नजान्ने अवस्थासमेत हुन सक्छ ।
यसरी प्रविधिमा पहुँच हुने र नहुनेबिचको अन्तरले पर्वमा सहभागी हुने अनुभवसमेत फरक भने बनाउँछ । प्रविधिमा पहुँच हुने व्यक्ति भर्चुअल रूपमा परिवारसँग जोडिन सक्छ भने पहुँच नहुने व्यक्ति त्यसबाट वञ्चित हुन सक्छ । यस्तो अवस्थामा उसले पर्वबाट विमुख भएको अनुभव गर्न सक्छ । तर, यसको मूल कारण प्रविधि मात्र होइन, प्रविधिमा पहुँच हुनु वा नहुनु व्यक्तिको आर्थिक क्षमता, गरिबी र वर्गीय अवस्थासँग जोडिएको छ । त्यसैले प्रविधिको अभावलाई व्यक्तिगत कमजोरीका रूपमा मात्र हेर्न मिल्दैन । यसले समाजमा विद्यमान आर्थिक असमानतालाई पनि प्रतिबिम्बित गर्छ । धनी र गरिबबिचको अन्तरभौतिक जीवनमा मात्र होइन, सांस्कृतिक गतिविधिमा सहभागी हुने अवसरमा समेत प्रकट हुन्छ ।
सामाजिक पुँजी निर्माण
दसैँँ सामाजिक पुँजी निर्माण गर्ने एउटा महत्वपूर्ण माध्यम पनि हो । यस अवसरमा मानिसबिच भेटघाट हुन्छ, अन्तरक्रिया हुन्छ, दुःख–सुख साटासाट गरिन्छ । नयाँ मानिससँग चिनजान पनि हुन्छ । यस्ता गतिविधिबाट सामाजिक तथा सांस्कृतिक पुँजी निर्माण हुन्छ । व्यक्ति, परिवार, आफन्त र समुदायसँग जोडिएको हुन्छ । यी सम्बन्धले उसलाई सामाजिक जीवनमा पहिचान र आत्मीयता प्रदान गर्छन् । दसैँँजस्ता पर्वले ती सम्बन्धलाई निरन्तरता दिन, पुनस्र्थापित गर्न र बलियो बनाउन सहयोग गर्छ ।
प्रविधिले पनि सामाजिक पुँजीको निरन्तरतामा सहयोग पुर्याउँछ । व्यक्ति, घरपरिवार र समुदायबाट भौतिक रूपमा टाढा भए पनि ग्याजेट्स, इन्टरनेट र अन्य सञ्चारमाध्यमबाट सम्बन्ध कायम राख्न सक्छ । भर्चुअल माध्यमबाट भए पनि भेटघाटमा सहभागी हुन सक्छ र पारिवारिक गतिविधिसँग जोडिन सक्छ । यसले भौतिक दूरीका कारण कमजोर हुन सक्ने सम्बन्धलाई निरन्तरता दिन सहयोग गर्छ । दसैँँको सन्दर्भमा प्रविधिले सामाजिक तथा सांस्कृतिक पुँजीलाई पुनर्उत्पादन र निरन्तरता दिने माध्यमको भूमिका खेल्छ ।
पर्वमार्फत मानिसले आफ्नो पहिचान प्रस्तुत गर्छ, परम्परालाई निरन्तरता दिन्छ र सामाजिक सम्बन्धलाई पुनर्निर्माण गर्छ । प्रविधिले यी प्रक्रियालाई नयाँ माध्यम उपलब्ध गराएको छ । त्यसैले प्रविधिलाई सम्बन्ध विच्छेद गराउने साधनका रूपमा मात्र बुझ्नुहुँदैन, यसले टाढा रहेका मानिसलाई जोड्ने सम्भावना पनि प्रदान गर्छ ।
बजार अर्थतन्त्र र प्रविधिको संयुक्त प्रभावले दसैँँ मनाउने तरिकामा एकरुपता ल्याइरहेको छ । काठमाडौंमा दसैँँ कसरी मनाइन्छ ? भन्ने कुरा सामाजिक सञ्जालमा देखेपछि गाउँका मानिसले पनि त्यही शैली अपनाउन थालेका छन् । विदेशमा रहेका नेपालीले समेत नेपालमा दसैँँ मनाउने तरिका हेरेर त्यसैअनुसार टीका लगाउने वा अन्य गतिविधि गर्न सक्छन् । यसरी गाउँ, सहर र विदेशमा मनाइने दसैँँका कतिपय अभ्यास एकअर्कासँग मिल्दोजुल्दो बन्दै जान्छन् । प्रविधिले एउटा ठाउँमा प्रचलित अभ्यासलाई अर्को ठाउँसम्म पुर्याउँछ, त्यसलाई अनुकरण गर्न सहज बनाउँछ ।
तर, संस्कृतिको यस्तो मानवीकरणमा बजार अर्थतन्त्रका भूमिका छ । पुँजीवादी व्यवस्थाले वस्तु र सेवाका लागि व्यापक बजार निर्माण गर्न खोज्छ । एउटै किसिमका वस्तु धेरै ठाउँमा बिक्री गर्न सकिने अवस्था बनेमा बजार विस्तार गर्न सहज हुन्छ । यस प्रक्रियामा संस्कृतिसँग जोडिएका वस्तु, पहिरन, सजावट र उपभोगका शैलीसमेत एकरुपता हुन सक्छन् ।
दसैँँको व्यापारीकरण र उपभोक्तावाद
दसैँँको व्यापारीकरणका विभिन्न पक्ष छन् । पहिलो, दसैँँलाई आधार बनाएर वस्तु तथा सेवाको उपभोग बढाइन्छ । नयाँ लुगा किन्नुपर्ने र विभिन्न सामग्री खरिद गर्नुपर्ने सामाजिक अपेक्षा निर्माण हुन सक्छ । राज्यका नीति तथा अभ्यासले समेत दसैँँको समयमा खर्च गर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्छ । जस्तैः कर्मचारीलाई चाडपर्व खर्च उपलब्ध गराउने तथा पेस्की दिने व्यवस्था छ । दोस्रो, दसैँँलाई नै व्यापारिक सामग्रीका रूपमा प्रयोग गरिन्छ ।
दसैँँसम्बन्धी भिडियो तथा अन्य सामग्री बनाएर आम्दानी गर्ने, पर्यटकलाई पर्व देखाउने र विभिन्न व्यावसायिक गतिविधि सञ्चालन गर्ने गरिन्छ । यसरी पर्व आफैँ पनि आर्थिक गतिविधिको स्रोत बन्छ ।
तेस्रो, दसैँंमा उपहार र कोसेली दिने अभ्यास बजारसँग जोडिँदै गएको छ । पहिले घरमै उत्पादन गरिएका सामग्री वा स्थानीय उत्पादन कोसेलीका रूपमा लैजाने चलन थियो । अहिले बजारमा उपलब्ध सामान किनेर लैजाने प्रवृत्ति बढेको देखिन्छ । घरेलु उत्पादनलाई भन्दा बजारका सामग्रीहरूको बढी उपभोगले अर्थतन्त्रमा फरक प्रभाव पारेको छ ।
जसकारण उपहारको मूल्य र दक्षिणाको रकमसमेत सामाजिक अपेक्षासँग जोडिएको छ ।
यी परिवर्तनलाई प्रविधिका कारण मात्र भएको भन्न मिल्दैन । यसको पछाडि बजार अर्थतन्त्रबाट प्रभावित संस्कृति र उपभोक्तावादी प्रवृत्ति छ ।
पर्वसँग जोडिएका सामाजिक सम्बन्धलाई समेत वस्तु तथा पैसाको माध्यमबाट अभिव्यक्त गर्ने अभ्यास बढ्दा सांस्कृतिक सम्बन्धको स्वरूप बदलिएको छ । यसैले दसैँँको व्यापारीकरण बुझ्न प्रविधिभन्दा तल रहेको सामाजिक–आर्थिक संरचनालाई हेर्नुपर्छ । प्रविधिले बजारको पहुँच र प्रचारलाई सहज बनाउँछ, तर त्यसको प्रयोग कुन उद्देश्यका लागि हुन्छ भन्ने कुरा बजार अर्थतन्त्र र उपभोक्तावादसँग जोडिएको हुन्छ ।
हिन्दुकरण र दसैँँको राष्ट्रियकरण
दसैँँ हिन्दु धर्मावम्लीहरूको पर्व हो । हिन्दुकरणको प्रभावकै कारण गैरहिन्दुले पनि दसैँँलाई सहज रूपमा मनाउन थालेका हुन् । यसबारे बुझ्न हिन्दुकरणको ऐतिहासिक प्रक्रियालाई ध्यान दिनुपर्छ । हाम्रो राष्ट्र/राज्य आर्थिक प्रक्रिया, एउटै आर्थिक प्रणाली, एउटै भाषा (खस नेपालीभाषा) र एउटै संस्कृति (दसैँँ संस्कृति)बाट राष्ट्र÷राज्य निर्माण हुन्छ । यसलाई हिन्दुकरणको प्रक्रियासँग जोडेर हेर्न सकिन्छ । हिन्दु धार्मिक परम्परासँग सम्बन्धित पर्व क्रमशः राष्ट्रिय पर्वका रूपमा स्थापित हुँदै जाँदा गैरहिन्दु समुदायका मानिसले समेत त्यसलाई अपनाउने अवस्था सिर्जना भएको हो ।
राज्यले सबैलाई प्रत्यक्ष रूपमा दसैँँ मनाउन बाध्य पारेको छैन भन्ने तर्क आउन सक्छ । तर, राज्यका नीति, सार्वजनिक बिदा, संस्थागत अभ्यास र सामाजिक वातावरणले कुनै एउटा पर्वलाई व्यापक मान्यता दिन सक्छन् । राज्यले लामो बिदा दिने, समाजका छिमेकी र समुदायका मानिसले पर्व मनाउने तथा सार्वजनिक जीवनमा त्यसको प्रभाव देखिने भएपछि गैरहिन्दु समुदायका मानिससमेत त्यसमा सहभागी हुन सक्छन् । यसरी दसैँँ सबै समुदायमा फैलिएको प्रक्रियालाई प्रविधिको प्रभावबाट मात्र व्याख्या गर्न सकिँदैन । राज्य सत्ता, सांस्कृतिक प्रभुत्व र हिन्दुकरणको ऐतिहासिक प्रक्रियाले यसमा भूमिका खेलेका छन् ।
अबको दसैँँको स्वरूप
भविष्यमा दसैँँ कस्तो हुन्छ ? भन्ने कुरा नेपाली समाजको आर्थिक तथा सामाजिक जीवन कसरी परिवर्तन हुन्छ ? भन्नेमा निर्भर रहन्छ । समाजको अर्थतन्त्र, बसाइँसराइ, परिवारको संरचना र प्रविधिको प्रयोगमा परिवर्तन हुँदै जाँदा दसैँँको स्वरूप पनि बदलिँदै जानेछ । सायद यो अझै बढी आधुनिक, वस्तुकृत, बजारकेन्द्रित र उपभोक्तावादी हुनेछ ।
मानिसहरूको गतिशीलता बढेसँगै दसैँ अझै बढी भर्चुअलसमेत हुँदै जानेछ । यदि नेपाली समाजको आर्थिक संरचना परिवर्तन भएर समाजवादी अर्थ–व्यवस्थामा प्रवेश गर्यो भने दसैँँ मनाउने तरिका र त्यसको सामाजिक अर्थ अहिलेको भन्दा फरक हुन सक्छ । त्यसैगरी, पुँजीवादी अर्थ–व्यवस्थाकै स्वरूप परिवर्तन भयो ।
बजारमा आधारित अर्थतन्त्र अझ व्यापक हुँदै गयो भने पनि दसैँँको स्वरूप बदलिनेछ । नेपाली समाज गैरकृषि अर्थतन्त्रतर्फ अघि बढ्दै जाँदा रोजगारीका लागि बसाइँसराइ बढ्न सक्छ । मानिसको भौगोलिक गतिशीलता बढेसँगै परिवारका सदस्यहरू विभिन्न ठाउँमा बस्ने अवस्था अझ व्यापक हुन सक्छ । यसले परम्परागत रूपमा एकै ठाउँमा भेला भएर दसैँँ मनाउने अभ्यासलाई प्रभावित पार्न सक्छ ।
अहिले पनि विदेशमा रहेका नेपालीका लागि दसैँँ मनाउने अनुभव नेपालमा परिवारसँगै रहेका मानिसको भन्दा फरक छ । रोजगारीको प्रकृति र बिदा पाउने अवस्थाले उनीहरू घर फर्कन सक्ने वा नसक्ने कुरा निर्धारण गर्छ । त्यसैले भर्चुअल माध्यमबाट दसैँँ मनाउने अभ्यास भविष्यमा अझ बढ्न सक्छ । यसको अर्थ भौतिक भेटघाट पूर्ण रूपमा हराउँछ भन्ने होइन, बरु भौतिक र भर्चुअल सहभागिता सँगसँगै रहने सम्भावना छ । प्रविधिको विकासले टाढा रहेका मानिसलाई जोड्ने नयाँ अवसर प्रदान गर्नेछ भने सामाजिक–आर्थिक संरचनाले उनीहरू कहाँ बस्छन् ? र कसरी जीवनयापन गर्छन् ? भन्ने कुरा निर्धारण गरिरहनेछ ।
(समाजशास्त्री राईसँग शान्ति तामाङले गरेको कुराकानीमा आधारित)