भूकम्पले जीर्ण जाजरकोट दरबारमा भित्र्याइयो फूलपाती

शनिबार, १ कार्तिक, २०८३
डिजिटल संस्करण

जाजरकाेट । भूकम्पले क्षतिग्रस्त जाजरकोटको ऐतिहासिक दरबारमा बडादसैँको फूलपाती भित्र्याइएको छ। शनिबार भेरी नगरपालिका– ११, जगतिपुरबाट खड्गदेवतासहित फूलपाती भित्र्याइएको हो। ऐतिहासिक दरबारमा क्षति पुगे पनि जाजरकोटको इतिहास, धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको परम्परालाई निरन्तरता दिइएको छ।

परम्परागत विधिअनुसार जगतिपुरबाट ल्याइएको खड्गदेवता र फूलपाती जाजरकोट दरबारमा भित्र्याइएको प्रमुख जिल्ला अधिकारी नवराज बरालले बताए। बरालको संयोजकत्वमा असोज २८ गते बसेको बैठकले जगतिपुरबाट खर्कदेवता र फूलपातीलाई व्यवस्थित रूपमा दरबारमा भित्र्याउने निर्णय गरेको थियो।

null

जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले जगतिपुरबाट खड्गदेवतासहित फूलपाती भित्र्याउने परम्परा जाजरकोटको ऐतिहासिक गौरव र सांस्कृतिक पहिचानसँग जोडिएको बताए। नयाँ पुस्तालाई आफ्नो इतिहास, परम्परा र सम्पदाबारे जानकारी गराउँदै यस्ता सांस्कृतिक अभ्यासलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए।

जगतिपुरबाट खड्गदेवता ल्याएर फूलपाती भित्र्याउने परम्परा लामो समयदेखि चलिआए पनि सशस्त्र द्वन्द्वका कारण ०५५ सालतिर रोकिएको थियो। त्यसपछि खलंगास्थित कालिका मन्दिरबाट फूलपाती ल्याएर दरबारमा भित्र्याउने गरिएको थियो।

लामो समय रोकिएको यो परम्परा २६ वर्षपछि ०८१ सालमा जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको नेतृत्वमा सुरु गरिएको थियो। त्यसयता जगतिपुरबाटै खड्गदेवतासहित फूलपाती भित्र्याउने परम्परालाई निरन्तरता दिइँदै आएको छ।null०८० कात्तिक १७ को भूकम्पले जाजरकोटको ऐतिहासिक दरबारमा क्षति पुर्याएको थियो। ऐतिहासिक महत्त्व बोकेको दरबार संरक्षण र पुनर्निर्माणको विषय महत्त्वपूर्ण बनिरहेका वेला त्यहाँसँग जोडिएका धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिइनुले सम्पदा संरक्षणको महत्त्वलाई थप उजागर गरेको छ।

ऐतिहासिक संरचना भत्किए पनि त्यससँग जोडिएको संस्कृति र परम्परा जीवित राख्न सकिने सन्देश यस वर्षको फूलपातीले दिएको छ। जगतिपुरबाट खड्गदेवतासहित फूलपाती भित्र्याउने चलन जाजरकोटको ऐतिहासिक विरासतलाई नयाँ पुस्तासम्म पुर्याउने महत्त्वपूर्ण माध्यमसमेत बनेको छ।

सुझावित समाचार