बनेपामा ग्यास बुलेटको ठक्करबाट नाै वर्षीय बालकको मृत्यु, बुबाआमा घाइते

शनिबार, १ कार्तिक, २०८३
डिजिटल संस्करण

काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– १३, भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा नाै वर्षीय बालकको मृत्यु भएको छ भने उनका बुवा र आमा घाइते भएका छन्।

असोज ३१ गते (शनिबार) बिहान करिब ५:३० बजे काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको ग्यास बुलेट HR38AL1634 ले सोही दिशातर्फ गइरहेको मोटरसाइकल (बा.प्र.०७१ प ७०६३)लाई ठक्कर दिएको हो।

दुर्घटनामा मोटरसाइकलचालक खोटाङको ऐँसेलुखर्क गाउँपालिका– ६ निवासी २९ वर्षीय चन्द्र बुढाथोकी, उनकी २७ वर्षीया श्रीमती रेणुका राई र नाै वर्षीय छोरा जुवास बुढाथोकी घाइते भएका थिए।

घाइते तीनैजनालाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल लगिएको थियो। उपचारका क्रममा चिकित्सकले बिहान ६ बजे बालक जुवासलाई मृत घोषणा गरेका थिए। उनका बुवा र आमाको उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न दुवै सवारीसाधन तथा ग्यास बुलेटका चालक भारतनिवासी करिब ३७ वर्षीय शिवजी रामलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार