फेरि खिच्ननपरे हुन्थ्यो ती दृश्य...

पशुमाथि क्रूरताको दारुण दृश्य खिचेर म घर फर्किएँ । मनभरि एउटै कुरा खेलिरह्यो । आखिर मानिस धर्मको नाममा किन यस्तो क्रूरतालाई अँगालिरहेको छ ?

शनिबार, १ कार्तिक, २०८३
प्रिन्ट संस्करण

म हुर्केको गाउँ वैतडीको दशरथचन्द सदरमुकामबाट झन्डै सय किलोमिटर टाढा छ । सानोमा दसैँ आउनु भनेको ‘तल्लादेहीको जात(जात्रा)’ आउनु हो भन्ने लाग्थ्यो । हामी केटोकटीहरूका लागि त्यो सबैभन्दा रमाइलो क्षण बनेर आउँथ्यो । घरबाट डेढ घण्टा पश्चिमतर्फ हिँडेपछि तल्लादेहीको डिलासैनी मन्दिर पुगिन्थ्यो । जहाँ विशाल जात्रा हेर्न पाइन्थ्यो । दसैँको अष्टमीमा तल्लादेही जात्रा हेर्न गयो भने दसौँ हजार मानिसहरूको जनसागर भेटिन्थ्यो । 

मन्दिरवरिपरि राँगो, बोकाहरू बाँधिएका हुन्थे । मन्दिरको उत्तरतर्फको ढोकाछेउमा दमाहा, बिगुल, झ्यालीजस्ता बाजा निरन्तर बजिरहन्थे । एकनासले एउटै तालमा बजिरहने त्यो बाजा भने सुनिरहुँजस्तो लाग्थ्यो । 

दिउँसो दुई बजेको आसपासमा मन्दिरमा बाँधिएका राँगोहरू दौडाउन सुरु गरिन्थ्यो । कुनै राँगोहरू पश्चिमतर्फ दौडाइन्थे, कोही पूर्वतर्फ । बाबियोका बलिया डोरीले कसिएका राँगोहरू तान्न दर्जनौँ मानिसहरू लागिरहेका हुन्थे । तिनका पिठ्युँमा जोसुकैले पनि घाँङरुका लाठी बर्साइरहेका हुन्थे । त्यो दृश्य सकभर म हेर्न चाहन्नथेँ ।

केही मिनेटपछि राँगोहरू दौडाउँदै ल्याएर मन्दिरमै बाँधिन्थ्यो । पानीको नोला(इनार)मा लगेर पानी खुवाउन राँगोहरू त्यता लगिएका हुन्थे, तर तिनले प्रशस्त पानी पिउन पाउँदैनथे । टन्न पानी पिउन दियो भने उनीहरूको शरीरमा तागत आउँछ र नियन्त्रण गर्न गाह्रो हुन सक्छ भनेर सकभर पानी पिउन दिइन्नथ्यो ।

त्यसपछिको समयमा मन्दिरका बाजाहरू झन्झन् चर्कोसँग बज्न थाल्थे । हातहातमा लाठी बोकेकाहरूको हुल मन्दिरवरिपरि उफ्रिँदै दौडन थाल्थ्यो । मन्दिरको पश्चिमतर्फ दर्जनौँ युवाहरू लाठी ठोक्काउँदै उत्तर–दक्षिण दगुरेकोदगुरै गर्थे । त्यतिखेरको कर्कस आवाजको कोलाहल निकै टाढासम्म पुगिरहेको हुन्थ्यो । मन्दिरको चारैतिरबाट मानिसहरू हेरिरहेका हुन्थे । दक्षिण र पश्चिमतिर प्रायः महिलाहरू खेतका गराहरूमा निकै टाढासम्म फैलिएर बसेका हुन्थे । 

दिउसो तीन बजेको आसपास मन्दिरभित्रबाट भोक्कर बजाउने समूह निस्कन्थ्यो । मन्दिरमा बलि गर्न ल्याएको मुख्य बोकाले पर्छिएपछि भोक्करबाहिर निस्कने चलन हुन्छ । भोक्कर बज्न सुरु गरेसँगै राँगो र बोकाहरूको बलि दिन सुरु हुन्थ्यो । पशुबलि दिँदा मानिसहरूको हुलसँग दया, करुणा, विवेक अभाव हुन्थ्यो । घरबाट हिँड्दा नै राँगो काट्ने हुलले कुल्चिन सक्छ भन्दै केटाकेटीहरूलाई सचेत गराइएको हुन्थ्यो । त्यसैले यो समयमा हामी माथिल्लो गराहरूमा गएर टाढैबाट राँगोहरू वध गरेको दृश्य हेर्ने गर्दथ्यौँ ।

मन्दिरवरिपरि दौडाउँदै, पिट्दै राँगोहरूलाई केही फन्का लगाइन्थ्यो । त्यसपछि घाँटी नछिनाल्दासम्म तलवार र खुँडाहरू राँगोको गर्दन र पिठ्युँमा बर्सिरहन्थे । काट्नुभन्दा पाँच–सात मिनेटअगाडिदेखि दर्जनौँ मानिसहरूले पिट्दा राँगोको ढाडको छाला नै थिलथिलो भइसकेको हुन्थ्यो । राँगो, बोकाहरूको बलि दिइसकेपछि मात्र मानिसहरू आ–आफ्नो गन्तव्यतर्फ जानेक्रम सुरु हुन्थ्यो । 

हरेक वर्ष दसैँको अष्टमी तिथिमा डिलाशैनी भगवती मन्दिर, तल्लादेहीमा विशाल जात्रा लाग्छ । विद्यालय उमेरमा नछुटाइ हेरिने यो जात्रा उच्च शिक्षाका लागि गाउँ छोडेसँगै बिरानो हुनपुग्यो । पत्रकारिता क्षेत्रमा आइसकेपछि सात वर्षअघि सोनी कम्पनीको मिररलेस क्यामेरा बोकेर पुनः तल्लादेही जात्राको रिपोर्टिङमा जाने मौका जुर्यो । यो बिचमा एकाधचोटि गए पनि पशुबलिलाई त्यति नजिकबाट अवलोकन गरेको पहिलोचोटि थियो । 

झन्डै एक दशकपछि डिलाशैनी मन्दिर पुग्दा त्यसको स्वरूप नै बदलिएको रहेछ । पहिला ढुंगा, माटो र काठबाट बनेका मौलिक संरचना पुनर्निर्माणको नाममा सिमेन्टको प्रयोगले बनावटी देखिएका थिए । मूल मन्दिरको बाहिरी भागमा पूरै सिमेन्ट प्रयोग गरिएको थियो । उत्तरतर्फका देवलहरू भने उस्तै थिए । सात वर्षअघि, घटस्थापनाको आठौँ दिन अष्टमीको बिहानी । मन्दिरको चारतर्फका बाटो भएर आइरहेका मानिसहरूको लामो लस्कर देखिन्थ्यो । 

मानिसहरूका हातहातमा मोबाइल फोन थिए । प्रायले फोटो भिडियो खिचिरहेका थिए । कोही ‘लाइभ’ गरिरहेका थिए । कोही ‘भिडियो कल’मा आफन्तहरूलाई जात्राका दृश्य देखाइरहेका थिए । जसले प्रविधिको प्रयोग गाउँ–गाउँसम्म पुगेको झल्को दिन्थ्यो । भिडमा युवा र अधवैँशेहरू नजिक आउँदा ह्वास्स मदिराको दुर्गन्ध आउँथ्यो । मन्दिरको वातावरण, जात्राको विधि, चहलपहल सबै उस्तै थियो, जस्तो मेरो बाल्यकालको सम्झनामा गढेर बसेको थियो । 

दिउँसोसम्म भिडभाडमा बरालिँदै समय बित्यो । अब जात्राको क्लाइमेक्स आउन लागेको थियो । त्यो भनेको राँगोहरूको बलि दिनु हो । बलिको दृश्य मलाई उहिल्यैदेखि मन नपर्ने कुरा थियो । यसपल्ट ‘अन्तिमचोटि’ क्यामेरामा कैद गरेर राख्छु भनेर म त्यहाँ पुगेको थिएँ । 
मन्दिरको पश्चिमतर्फ एक मिटरजति उचो ढुंगाको चौतारो थियो । परम्पराअनुसार त्यो चौतारोमा ठकुरी समुदायका व्यक्तिहरूले उभिनुपर्ने रहेछ । त्यहाँ सबै महिलाहरू मात्रै थिए । त्यसमध्ये एकाधजना मेरा सहपाठी पनि देखिए । थोरै ठाउँ बनाउन अनुरोध गर्दै म त्यहाँ उक्लिन सफल भएँ । भिडभाड र ठेलमठेलबिच मैले ट्राइपडमा राखेर क्यामेराको एंगल मिलाएँ । क्यामेराको फ्रेमभित्र राँगोको बली दिने स्थान पक्का भयो । केही मिनेटमा त्यहाँ एउटा निर्दोष पशुलाई तड्पाइ–तड्पाइ वध गरिनेवाला थियो । 

नभन्दै मन्दिरको दक्षिण–पूर्वबाट हल्ला गर्दै एक हुल मानिसहरू दौडिएर आए । त्यही भिडमा आधा गर्दन काटिएर टाउको झुन्डिएर दगुरिरहेको बडेमानको राँगो थियो । पछिपछि तलवार बोकेका चार–पाँचजना र लाठी हिर्काइरहेका १०–१२ जना थिए । यो यति क्रूर र डरलाग्दो दृश्य थियो कि त्यसको तुलना कुनै अर्को दृश्यसँग गर्न सकिँदैन । घाइते राँगो म उभिएको ठाउँतर्फ किच्लाजस्तो गरेर आयो । ड्वाँड्वाँ... एकोहोरो कराउँदै राँगो हुत्तिँदै आएपछि सबैजना भागे । मैले ट्राइपडमा क्यामेरा अड्याएर भिडियो खिचिरहेको थिएँ ।

सबैजना भागे पनि क्यामेरा छोडेर म भने भाग्न सकिनँ । धन्न, डोरी तानिरहेका चार–पाँचजनाले राँगोलाई विपरीत दिशातिर ताने । यति कारुणिक र कहालीलाग्दो दृश्य अधिकांशले सहजै हेरिरहेका थिए । पशुमाथि क्रूरताको दारुण दृश्य खिचेर म घर फर्किएँ । उसो त अघिल्लो दिन निंग्लाशैनी भगवती मन्दिरमा यस्तै कहालीलाग्दो दृश्य खिचेको थिएँ । यसपछि अब त्रिपुरासुन्दरीमा यही काम दोहोर्याउनुपर्ने थियो ।

मनभरि एउटै कुरा खेलिरह्यो । आखिर मानिस धर्मको नाममा किन यस्तो क्रूरतालाई अँगालिरहेको छ ? के साँच्चै निर्दोष पशुको वध गरेर धर्म कमाइन्छ ? यो चलन कहिलेसम्म चल्ला ? पशुबलिविरुद्धको आवाज उचो भएपछि कतिपयले तर्क गर्छन्, ‘मासु खान काट्न हुने, मन्दिरमा किन नहुने ?’ तर पशुवध गर्नका लागि पनि निश्चित कानुनी मापदण्ड पूरा गर्नुपर्ने कुराको हेक्का राख्दैनन् ।

सुदूरपश्चिमका त्रिपुरासुन्दरी, निग्लाशैनी, मेलौली, डिलाशैनी भगवती मात्र होइन, पूर्वको गढीमाईमा पनि दसौँ हजार पशुको रगत बग्छ । केही वर्षअघिसम्म भारतबाट सयौँको संख्यामा राँगा, बोकाहरू बलिका लागि ल्याइन्थे । भारतको कानुनले नै पशुबलिलाई बन्देज गरेसँगै यो क्रम रोकिएको छ ।

दशक लामो सशस्त्र माओवादी द्वन्द्वका वेला पशुबलि रोकिएको थियो । विकल्पमा कुभिन्डो, चिचिन्डो काट्न सुरुवात गरिएको थियो । तर, शान्ति प्रक्रियासँगै पशुबलिले निरन्तरता पायो । समयक्रमसँगै जसरी सतीप्रथा, देवकी प्रथा, डोली प्रथालगायतका कुप्रथाहरू अन्त्य भएर गए, त्यसरी नै एक दिन बलिप्रथा पनि बन्द होला कि नहोला ? 

सुझावित समाचार