मामाघर जाँदाका ती दिनहरू

मामाघरका ती दिनहरू अब सपना बनेका छन् । अब सपना पुराना हुँदैनन् । उमेर ढल्दै जाँदा ती झन् उज्याला हुन्छन् । समयले तिनलाई मेट्दैन, बरु हरेक सम्झनामा फेरि जवान बनाइदिन्छ ।

शनिबार, १ कार्तिक, २०८३
प्रिन्ट संस्करण

दसैँ पहाडका मानिसका लागि मामा घर सम्झने एउटा विशेष समय पनि हो । दसैँ नजिकिँदै जाँदा नयाँ लुगा लगाउने उत्साह, कोसेली तयार गर्ने चटारो र मामाघर जाने हतारोले घरको वातावरण नै बदलिन्छ । कुनै कारणले जान नपाउँदा मनमा एउटा खालीपन जन्मिन्छ ।

मधेशमा हाम्रा लागि विवाह, भोजभतेर वा नातागोताको निम्तो नै मामाघर पुग्ने मुख्य अवसर हुन्थे । आज त्यो सामाजिक संरचना पनि बदलिएको छ । रक्षाबन्धनजस्ता पर्वले मामाघर र माइतीघरको सम्बन्धलाई नयाँ रूपमा जोडिरहेका छन् ।

पर्व बदलिएका छन्, यात्रा बदलिएको छ, सम्बन्ध अभिव्यक्त गर्ने माध्यम बदलिएको छ । तर मामाघरको भावनात्मक अर्थ भने अझै उस्तै छ । किनकि मामाघर भनेको एउटा घर मात्र होइन । त्यो आमाको बाल्यकालको घर हो । त्यो भान्जा–भान्जीको पहिलो स्वतन्त्र संसार हो । त्यो नाताको अर्को नाम हो ।

त्यो समय न मोटर थियो, न राम्रो सडक, न मोबाइल । टाढाका आफन्तसँग सम्पर्क राख्नु आफैँमा एउटा चुनौती थियो । चिठीपत्र, मुखे खबर र कहिलेकाहीँ सुपारीको दानाजस्तो सानो संकेत पनि समाचारको माध्यम बन्थ्यो । आजको पुस्तालाई यो कुरा कथाजस्तो लाग्न सक्छ । तर, त्यो हाम्रो इतिहासको वास्तविकता थियो । आफन्त भेट्न पैदल हिँड्नुपथ्र्यो ।

आज मामाघर जाने संस्कृति समाप्त भएको छैन । यसको रूप भने फेरिएको छ । रक्षाबन्धनले नयाँ सम्बन्धको ढोका खोलेको छ । दसैँले अझै आफन्त भेला गराउँछ । छठले अझै माइती– मामाघरको सम्बन्धलाई जीवन्त राख्छ । 

त्यसैले यात्रा केवल भौगोलिक दूरी पार गर्ने प्रक्रिया थिएन, त्यो सम्बन्धलाई पुनस्र्थापित गर्ने सामाजिक संस्कार थियो । मामाघर जाने कुरा चल्नासाथ बाल्यकालको मनमा उत्सव सुरु हुन्थ्यो । ‘भोलि मामा घर जाने ।’ यति सुन्नासाथ निद्रा हराउँथ्यो । रातभर मनमा एउटै आतुरता हुन्थ्यो— कति वेला बिहान होला र बाटो लागौँला ! आमाले अघिल्लो रात नै खिरपुरी पकाएर सनेस अर्थात् कोसेली तयार गर्नुहुन्थ्यो ।

चुलोछेउमा बसेर पाकिरहेको खानाको गन्धसँगै म मनभित्र मामाघर पुगिसकेको हुन्थेँ । बिहान सूर्योदयअघि नै यात्रा सुरु हुन्थ्यो— सप्तरीको गरुराहाबाट । बनरझुला र कन्चिरा पार गर्दै महेशपुर पुग्दा सूर्य उदाइसकेको हुन्थ्यो । केही बेर विश्राम गरेपछि फेरि बाटो लागिन्थ्यो । खेत, चौर, सुनसान बाटा र नदीहरू पार गर्दै भजाका र टिकुलिया हुँदै बलान नदी पुगिन्थ्यो । त्यहाँबाट यात्राको कठिन अध्याय सुरु हुन्थ्यो ।

गर्मीमा बलान नदीको बालुवा यति तातो हुन्थ्यो कि पैतालाले सहन गाह्रो पथ्र्यो । वर्षामा त्यही नदी बाढी बनेर बाटो छेक्थ्यो । एक हातले लुगाको फेर माथि सुर्काएर समात्ने, अर्को हातमा चुँडिएको चप्पल झुन्ड्याउने र पानी पार गर्ने– त्यो यात्राको सामान्य दृश्य थियो । आमाको टाउकोमा कोसेलीको भारी हुन्थ्यो । एक हातले बालकको हात समातेर नदी पार गर्नुहुन्थ्यो ।

आज सम्झँदा लाग्छ– त्यो नदी हामीले मात्र पार गरेका थिएनौँ, आमाले आफ्ना बालबालिकालाई जीवनको कठिन बाटो पनि पार गराउँदै हुनुहुन्थ्यो । बलान पार गरेपछि सखुवा–सिमराहा हुँदै सिराहा प्रवेश हुन्थ्यो । त्यसपछि लामो खेतबारी, चौर र ससाना गाउँ पार गर्दै अन्ततः पटना गाउँको सिमानामा पुगिन्थ्यो । पोखरीको डिलमा रहेको पिपलचौतारी हाम्रो अन्तिम बिसौनी थियो । दिनभरको चर्को घाम, हिलो, धुलो र थकानले शरीर गलिसकेको हुन्थ्यो । तर, साँझ सिराहाको भोर कटैयाको चौर देखिनासाथ मनमा एउटा अनौठो हलुकापन आउँथ्यो– अब मामाघर आइपुग्यौँ । यो वाक्यसँगै दिनभरको सबै थकान हराउँथ्यो ।

 चौरमा झर्ने आमाको आँसु
मृत्यु शोकका वेला नौता पुर्न जाँदा पनि त्यही चौरमा आमाका आँखाबाट आँसु झर्थे । त्यो बाटोमा उनको आफ्नै बाल्यकाल लुकेको थियो । घाँसदाउरा गर्ने दिनहरू, गाईबस्तु चराउने समय, बाल्यकालका साथीहरू– सबै त्यही भूगोलसँग जोडिएका थिए । आमा आइपुगेको खबर गाउँभरि फैलिन्थ्यो । ‘कमली आइपुगी रे !’ मामा, माइजू,दाइभाउजूहरू दौडिँदै अगुवा लिन आउँथे । कसैले कोसेलीको भारी बोक्थ्यो । कसैले हामी बच्चाहरूलाई काँधमा (काँधेकुरी) हाल्थ्यो । त्यो स्वागतमा कुनै औपचारिकता थिएन ।

त्यो नाताको स्वाभाविक भाषा थियो । घर पुगेपछि थकान हटाउने आफ्नै संस्कार थियो । तोरीको तेलमा बेसार र लसुन मिसाएर तताइएको मनतातो तेलले शरीर मालिस गरिन्थ्यो । आमालाई माइजूहरूले, हामीलाई भाउजूहरूले र बाबा गएको वेला उनका सालीहरूले तेल लगाइदिन्थे ।

आज स्वास्थ्य विज्ञान धेरै अगाडि बढेको छ । औषधि, अस्पताल र आधुनिक उपचारका सुविधा छन् । तर, त्यो मनतातो तेलमा मिसिएको आत्मीयताको उपचारलाई कुनै आधुनिक शब्दले परिभाषित गर्न सक्दैन । त्यो तेलले शरीरभन्दा पहिले मन तताउँथ्यो ।

मामाहरू गाउँका सम्पन्न मानिस थिए । खेतीपाती, फलफूल र पशुपालन प्रशस्त थिए । मामाघर पुग्नेबित्तिकै आँपको बगैँचा, बेल, आँता, सरिफा, तेतैरका रुख, गाउँछेउको खोला र दह हाम्रो संसार बन्थे । माछा समातिन्थ्यो । पौडी खेलिन्थ्यो । गुड्डी (चंगा) उडाइन्थ्यो । रुख चढिन्थ्यो । पुलीडन्डा, लुकाचोरी, हाथीचौका, चिनीचिनी र रेंगरेंगजस्ता खेलमा हाम्रो दिन आँपको बगैँचामा बित्थ्यो । 

बिदाइको त्यो भावुक क्षण
नौताको काम सकिएपछि फर्किने चटारो सुरु हुन्थ्यो । मामा, माइजु र दाजुभाउजूहरू भन्थे— ‘अझै केही दिन बस न । स्वागत सत्कारमा कमी त भएन ?’ तर, सही कुरा त्यो नभएर घरका खेतबारी, गोरुगाई र जिम्मेवारीले आमालाई धेरै दिन बस्न दिँदैनथ्यो । बिदाइमा आमालाई नयाँ साडी, हामीलाई नयाँ लुगा र बुबालाई धोती, कुर्ता तथा गम्छा दिइन्थ्यो ।

उपहार महँगो थिएन । तर, त्यसमा हुने सम्बन्धको मूल्य ठुलो हुन्थ्यो । आउँदा जसरी चौरसम्म लिन आएका थिए, फर्कँदा पनि त्यहीँसम्म पुर्याउन आउँथे । टाढासम्म पुर्याउँदा फेरि धेरै दिनमा आउँछ कि भने धार्मिक बुझाइको कारणले सबैजना नजिकै पुर्याएर फर्किन्थे । हामी टाढिँदै जान्थ्यौँ । हात हल्लाउँदै आवाज आउँथ्यो—‘फेरि आउनू नि !’ त्यो आवाज खुला चौरमा धेरै परसम्म सुनिन्थ्यो । आज त बिदाइको स्वरूप पनि बदलिएको छ । विमानस्थलमा बिदाइ हुन्छ, बसपार्कमा बिदाइ हुन्छ, कहिलेकाहीँ त मोबाइलको स्क्रिनमा ‘बाई’ लेखेर पनि बिदाइ हुन्छ ।

 छठ पर्वमा मामाको कोसेली
छठ आउँदा मामाघरको माया झन् बलियो हुन्थ्यो । हाम्रो गाउँमा छठ नहुँदा मामा आफैँ काँधमा (भार) कोसेली बोकेर रातारात हिँडेर एकाबिहानै आइपुग्थे । ठकुवा, केरा, उखु, भुसुवा ल्याउँथे । ‘आफ्नो भान्जा–भान्जीले चाडमा खाओस् भनेर एकाबिहानै भार बोकेर आउँथे मामा !’ यो वाक्यमा अर्थशास्त्र थिएन । बजारमूल्य थिएन । हिसाबकिताब थिएन ।

त्यहाँ केवल माया र गहिरो नाता सम्बन्ध हुन्थ्यो । आज ती आमा, मामा र माइजुहरू यो संसारमा छैनन् । उनीहरूको ती आवाज छैन । तर, उनीहरूको माया अझै छ । सम्झनामा ।
हिजो मामाघर पुग्न ५० कोस हिँड्नुपथ्र्यो । आज त्यही ठाउँ घण्टाभरमा पुगिन्छ । हिजो खबर आउन महिनौँ लाग्थ्यो । आज मोबाइलको टोनमा क्षणमै खबर आउँछ । हिजो चिठी लेखेर उत्तरको प्रतीक्षा गर्नुपथ्र्यो ।

आज म्यासेन्जरमा क्षणभरमै कुरा गर्न मिल्छ । हिजो एउटा तस्बिर खिच्न पनि विशेष अवसर चाहिन्थ्यो । आज एक दिनमै सयौँ तस्बिर खिचिन्छन् । यो परिवर्तनलाई अस्वीकार गर्न सकिँदैन । आधुनिक यातायातले मानिसको श्रम र समय बचाएको छ । सञ्चार प्रविधिले संसारलाई नजिक ल्याएको छ । डिजिटल माध्यमले विदेशमा रहेका परिवारलाई समेत निरन्तर सम्पर्कमा राखेको छ । तर, इतिहासले हामीलाई अर्को पाठ पनि सिकाउँछ । सुविधा बढ्दैमा आत्मीयता बढ्दैन ।

 डिजिटल युगमा मामाघरको अर्थ
आज मामाघर जाने संस्कृति समाप्त भएको छैन । यसको रूप भने फेरिएको छ । रक्षाबन्धनले नयाँ सम्बन्धको ढोका खोलेको छ । दसैँले अझै आफन्त भेला गराउँछ । छठले अझै माइती– मामाघरको सम्बन्धलाई जीवन्त राख्छ । विवाह, पारिवारिक उत्सव र दुःखका अवसरले मानिसलाई फेरि एउटै आँगनमा ल्याउँछन् । हामीले गर्नुपर्ने काम पुरानो समय फर्काउनु होइन । पुरानो समयको आत्मीयतालाई नयाँ समयसँग जोड्नु हो । मोबाइललाई सम्बन्धको विकल्प होइन, सम्बन्धको सेतु बनाउनु हो ।

भिडियो कलले टाढाको अनुहार देखाओस्, तर सम्भव हुँदा प्रत्यक्ष भेटलाई पनि ठाउँ दिइयोस् । सामाजिक सञ्जालमा शुभकामना दिइयोस्, तर कहिलेकाहीँ फोन गरेर लामो कुरा पनि गरियोस् । परिवारको इतिहास डिजिटल अभिलेखमा राखियोस्, तर हजुरबा–हजुरआमाको मुखबाट पुराना कथा सुन्ने परम्परा पनि जीवित राखियोस् । किनकि इतिहास किताबमा मात्र हुँदैन । इतिहास मानिसको स्मृतिमा पनि हुन्छ । मामाघर अब कहाँ छ ?

आज मामाघर उस्तै छैन । म पनि उस्तै छैन । समय पनि उस्तै छैन । ती बाटाहरू फेरिएका छन् । ती चौतारीहरू फेरिएका छन् । ती आँपका बगैँचाहरू फेरिएका छन् । ती बस्तीहरूको अनुहार फेरिएका छन् । बलानको किनार फेरिएका छन् । खेतबारीको स्वरूप फेरिएका छन् । तर, स्मृतिको भूगोलमा ती सबै अझै उस्तै छन्, फेरिएका छैनन् । त्यहाँ आमा अझै कोसेली बोकेर हिँडिरहनुभएको छ । मामा अझै चौरमा अगुवा लिन आइरहनुभएको छ । माइजू अझै मनतातो तेल तताइरहनुभएको छ ।

आज यात्रा छोटिएको छ । सूचना क्षणमै पुग्छ । मानिसको हातमा संसार आएको छ । तर, जीवनको एउटा सत्य अझै उस्तै छ– हामीलाई अन्ततः सम्झना रहने कुरा कति छिटो यात्रा गरियो भन्ने होइन । यात्रामा कसले हात समात्यो, थकाइमा कसले तेल लगाइदियो, बिदाइमा कसले आँसु झार्यो र फर्केर आउन कसले प्रेमपूर्वक भन्यो– ‘फेरि आउनू नि !’—हो, त्यही हो । मामाघरका ती दिनहरू अब सपना बनेका छन् । तर, ती सपना पुराना हुँदैनन् । उमेर ढल्दै जाँदा ती झन् उज्याला हुन्छन् ।

समयले तिनलाई मेट्दैन, बरु हरेक सम्झनामा फेरि जवान बनाइदिन्छ । मामाघर अब त्यहाँ छैन । तर, मेरो हृदयमा त्यसको आँगन अझै छ । र त्यहाँ, समयको सबैभन्दा सुरक्षित कुनामा, मेरी आमा, मेरा मामामाइजूहरू र मेरो बाल्यकाल अझै सँगै बसिरहेका छन् ।

सुझावित समाचार