बर्दियामा मानव  वन्यजन्तु  द्वन्द्व न्यूनीकरण गर्न साइरन र लुना जिपिएस जडान

बुधबार, २८ असोज, २०८३
डिजिटल संस्करण

बर्दिया/ मानव  वन्यजन्तु  द्वन्द्व न्यूनीकरण गर्न बर्दिया राष्ट्रिय निकुञ्ज र सामुदायिक वनबाट आउने वन्यजन्तुबारेमा  स्थानीयलाई समय सूचना दिन बर्दियाका विभिन्न स्थानमा साइरन र लुना जिपिएस जडान गरिएको छ।

वन्यजन्तु खेतबारी वा बस्तीमा आएको देखेपछि स्थानीय समुदायलाई जानकारी गराउन गाउँको बडघरको घरमा राखिएको साइरन बजाइन्छ भने लुना जिपिएसमा कसैले वन्यजन्तु देखेको म्यासेज पठाउनेबित्ति कै लुना एप जडान भएको साइरन स्वचालित रूपमा बन्छ।

बारबर्दिया नगरपालिका- ९ को खैरनी ढकेलामा साइरन र वडा नम्बर ७ को रम्बापुरमा  लुना जिपिएस जडान गरिएको छ। बाँसगढी नगरपालिका- १ को बबई चेपाङ क्षेत्रमा साइरन जडान गरिएको छ। त्यसैगरी, गेरुवा गाउँपालिका- ६  को  मनाउ, नौँरगा , सोनाहा फाँटा, पर्सेनी, गुप्तीपुर र बिन्द्रामा साइरन जडान गरिएको छ भने बन्जरियामा लुना जिपिएस जडान गरिएको छ। मधुवन नगरपालिका- १ को डल्लामा पनि लुना जिपिएस जडान गरिएको छ  भने ठाकुरबाबा नगरपालिका- ३ को तिनघरुवामा साइरन र वडा नम्बर ९ मा लुना जिपिएस जडान गरिएको छ।

बर्दियाबाहिर सुर्खेतको भेरीगंगा नगरपालिकामा पनि साइरन जडान गरिएको जेड.एस.एलका प्रतिनिधि कमल रेग्मीले जानकारी दिए। ‘लुना जिपिएस जडान भएको क्षेत्रमा बसोबास गर्ने स्थानीयले आफ्नो मोबाइलमा लुना जिपिएस एप डाउनलोड गर्नुपर्छ।

गाउँमा कतै वन्यजन्तु देखिएमा एप म्यासेजमार्फत सन्देश पठाएपछि स्वचालित रूपमा साइरन बज्ने  गर्छ,’ उनले भने, ‘एपमार्फत सन्देश पठाउँदा वन्यजन्तु देखिएको स्थानको लोकेसनसमेत देखाउने भएकाले सम्बन्धित निकायलाई वन्यजन्तु भएको स्थलसम्म पुग्न सहज हुन्छ। एपमा के भएको भनेर जानकारी पनि दिन मिल्ने भएकाले समस्या पहिचान भएर समाधान गर्न सजिलो हुन्छ।’

ठाकुरबाबा नगरपालिका- ७ बठनपुरकी स्थानीय  प्रभाकुमारी चौधरीले लुना जिपिएसमार्फत म्यासेज गर्दा साइरन बज्ने गरेको बताइन्। उनले भनिन्, ‘ एपमार्फत म्यासेज गर्दा साइरन बज्नुका साथै सम्बन्धित निकायका रेन्जर, नेपाली सेनालगायतका निकायमा एसएमएस जाने गरेको छ। तर, कतिपय साथीहरूलाई यो एप चलाउन पनि आउँदैन, यो एप चलाउन अझै सिकाउन जरुरी छ। म्यासेज जानेबित्तिकै वन्यजन्तुको उद्धार र वन्यजन्तुलाई धपाउन आउने व्यवस्था मिलाउन आवश्यक छ।’

बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत एवम् सूचना अधिकारी महेश न्यौपानेले लुना एपमार्फत सूचना आउने भएकाले घटना स्थलमा तत्काल पुगेर मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न सहज हुने गरेको बताए। उनले भने, ‘पछिल्लो समय प्रविधिको प्रयोग गरेरसमेत संरक्षणको क्षेत्रमा काम हुने गरेको छ।’

सुझावित समाचार