टिकटकमा आपत्तिजनक भिडियो पोस्ट गर्ने युवक धनुषा प्रहरीको नियन्त्रणमा

बुधबार, २८ असोज, २०८३
डिजिटल संस्करण

जनकपुरधाम । सामाजिक सञ्जाल टिकटकमा हिंसा फैलाउन उत्प्रेरित गर्ने, विभिन्न व्यक्ति, समुदाय तथा संगठनको मर्यादामा आँच पुर्याउने खालका गालीगलौज, आपत्तिजनक अभिव्यक्ति र धाकधम्कीसम्बन्धी भिडियो पोस्ट गरेको आरोपमा धनुषामा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार लक्ष्मीनियाँ गाउँपालिका– १ निवासी करिब २० वर्षीय राजु यादवलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले उनलाई ०८३ असोज २७ गते राति करिब ११ बजे जनकपुरधाम उपमहानगरपालिका– १ बाट नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले असोज २८ गते जारी गरेको प्रेस विज्ञप्तिमा यादवले सामाजिक सञ्जाल टिकटकमा समाजमा हिंसा फैलाउन उत्प्रेरित गर्ने तथा विभिन्न व्यक्ति, समुदाय र संगठनको मर्यादामा आँच आउने किसिमका भिडियो पोस्ट गरेको पाइएको उल्लेख छ। प्रहरीका अनुसार उनीमाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ।

यसैबिच, सामाजिक सञ्जालको दुरुपयोग गरी हिंसा फैलाउन उत्प्रेरित गर्ने, गालीगलौज तथा आपत्तिजनक अभिव्यक्ति दिने र धाकधम्कीसम्बन्धी फोटो तथा भिडियो पोस्ट गरेको आरोपमा अन्य चारजनामाथि समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जारी गरेको विज्ञप्तिमार्फत उक्त जानकारी दिइएको हो।

सुझावित समाचार