उदयपुर/ उदयपुरमा प्रहरीले एकै रातमा एक हजार ४० केजी ४४० ग्राम गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन् भने गाँजा बोकेको बोलेरोसहित अन्य संलग्न व्यक्ति फरार छन्।
इलाका प्रहरी कार्यालय कटारी र बेल्टारबाट खटिएको प्रहरी टोलीले सोमबार बिहानसम्म कटारी नगरपालिका–६ स्थित सागुरी पुलनजिकैको जंगल र चौदण्डीगढी नगरपालिका–१ स्थित चारघरेबाट गाँजा बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंका अनुसार असोज २५ गते राति करिब १०:२० बजे कटारी नगरपालिका–६ स्थित सागुरी पुलनजिकैको जंगलबाट पाँचवटा बोरामा राखिएको एक सय केजी गाँजा बरामद गरिएको हो। तिनतलेबाट सिराहातर्फ गाँजा लैजाँदै गरेको अवस्थामा ताप्ली गाउँपालिका–२ का करिब २२ वर्षीय विश्वराज राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै, असोज २६ गते बिहान करिब २ बजे चौदण्डीगढी नगरपालिका–१ स्थित चारघरेको रानीटार–बेल्टार भित्री सडकखण्डमा पार्किङ गरेर राखिएको बा.१४ च २२५५ नम्बरको बोलेरोबाट २९ वटा बोरामा राखिएको ९४० केजी ४४० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले गाँजासहित बोलेरो नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार दुवै स्थानबाट बरामद गाँजाको कुल तौल एक हजार ४० केजी ४४० ग्राम रहेको छ। दोस्रो घटनामा बरामद गाँजाको तौलमा बोरासमेत समावेश रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ। बोलेरोबाट गाँजा बरामद भएको घटनामा संलग्न व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।