कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयले खुला प्रतिस्पर्धामार्फत विभिन्न आठ पदमा पदाधिकारी नियुक्त गरेको छ। विश्वविद्यालयका विभिन्न संकाय तथा केन्द्रमा रिक्त रहेका पदमा यसपटक खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त गरिएको हो।
विश्वविद्यालयको कार्यकारी परिषद्ले ०८३ असोज २८ गते बसेको बैठकमा पदाधिकारी सिफारिस समितिको सिफारिसका आधारमा आठ पदमा नियुक्ति गर्ने निर्णय गरेको हो।
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयका सूचना अधिकारी नवीनबहादुर बमका अनुसार कार्यकारी परिषद्ले विभिन्न संकायका डिन, केन्द्रका निर्देशक र केन्द्रीय क्याम्पसका प्रिन्सिपल नियुक्त गर्ने निर्णय गरेको छ।
उनका अनुसार व्यवस्थापन संकायको डिनमा सहप्राध्यापक डा. शिवप्रसाद सापकोटा, शिक्षाशास्त्र संकायको डिनमा सहप्राध्यापक डा. नाथुराम चौधरी, विज्ञान तथा प्रविधि संकायको डिनमा सहप्राध्यापक डा. प्रेमसिंह साउद र स्वास्थ्य विज्ञान संकायको डिनमा सहप्राध्यापक डा. डबलबहादुर धामी नियुक्त भएका छन्।
त्यसैगरी मानविकी तथा सामाजिक शास्त्र संकायको डिनमा प्राध्यापक डा. राजेन्द्रप्रसाद भट्ट, अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको निर्देशकमा सहप्राध्यापक डा. महेन्द्रराज जोशी र भाषा, साहित्य तथा संस्कृति केन्द्रको निर्देशकमा प्राध्यापक डा. हरिशचन्द्र जोशी नियुक्त भएका छन्।
यस्तै, महेन्द्रनगरस्थित केन्द्रीय क्याम्पसको प्रिन्सिपलमा उपप्राध्यापक डा. दीपकचन्द्र भट्ट नियुक्त भएका छन्।