बुधबार १० बजेसम्मका प्रमुख १० खबर

बुधबार, २८ असोज, २०८३
डिजिटल संस्करण

संसदीय सुनुवाइको परीक्षणमा दुईजना अस्वीकृत भएपछि राजदूत नियुक्तिमा सरकारलाई धक्का

सरकारले सिफारिस गरेका दुई प्रस्तावित राजदूत संसदीय सुनुवाईको परीक्षणमा अस्वीकृत भएपछि सरकारलाई समेत धक्का लागेको छ । साउदी अरेबियाका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेललाई संसदीय सुनुवाई समितिको बैठकले बुधबार सर्वसम्मत रुपमा अस्वीकृत गरेको हो। 

सुनारमाथि महिला हिंसा तथा खरेलमाथि आर्थिक हिनामिनाको विषयलाई अस्वीकृत गरिएको हो । साथै, जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाको हकमा थप विवरण आएपछि मात्र निर्णय गर्ने गरी ‘होल्ड’मा राखिएको छ । 

पोखरालाई चलायमान बनाउँदै फ्लाई दुबई, १३ महिनासम्म टिकट बुकिङ खुला

संयुक्त अरब इमिरेट्स (युएई) को वायुसेवा कम्पनी फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानका लागि सन् २०२७ अक्टोबर ३० सम्म टिकट बुकिङ खुला गरेको छ।

सुरुमा ६ महिनाका लागि खुला गरिएको बुकिङ अवधि सात महिना थपिएसँगै पर्यटन व्यवसायीमा पोखराबाट हुने अन्तर्राष्ट्रिय उडान नियमित हुने आशा बढेको छ।

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण

रसुवाको भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ घरधुरीलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद राहत वितरण गरेको छ।

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)को सहयोगमा स्थानीय तहसँगको समन्वयमा राहत रकम वितरण गरिएको हो। रसुवाका ५, नुवाकोटका ४ र धादिङका २ गरी ११ स्थानीय तहका प्रभावित परिवारले राहत पाएका छन्।

सशस्त्रको इन्टेलिजेन्स ब्युरोद्वारा काठमाडौंबाट १० विदेशी नागरिक पक्राउ

अवैध रूपमा नेपाल प्रवेश गरी काठमाडाैंका विभिन्न स्थानमा बसिरहेका १० विदेशी नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरू बंगलादेशी नागरिक भएको खुलेको छ। 

पक्राउ पर्नेहरूमा ४५ वर्षीय मोहमद मुक्तर होसेन, ३९ वर्षीय अब्बास अली, ४६ वर्षीय रफिक आलम, ४० वर्षीय मोहम्मद अरिफ सोसन,  ३० वर्षीय अजिजुल, २९ वर्षीय अब्दुल, ३७ वर्षीय मोहम्मद आलम करिम, ३६ वर्षीय मेहेताब मण्डल, २० वर्षीय रातुल इस्लाम र ३० वर्षीय बसर खानलाई पक्राउ गरेको हो।  

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा उम्मेदवार छनोटको रूपरेखा सार्वजनिक, अन्य दलबाट आएकाको हकमा कम्तीमा ९० दिन पूरा गरेको हुनुपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा सार्वजनिक गरेको छ। उम्मेदवार हुने प्रक्रियाबारे रूपरेखामा विस्तृत खुलाइएको छ। 

जसमा अन्य पार्टी छाडेकाको हकमा उम्मेदवार छनोटकै निर्वाचनमा भाग लिन सदस्यता लिएको ९० दिन अवधि पुगेको हुनुपर्ने उल्लेख छ। त्यस्तै, शैक्षिक योग्यताको प्रमाणीकरणदेखि फौजदारी मुद्दा भएको अवस्थामा जानकारी गराउनुपर्ने प्रावधान छन्। उम्मेदवार बन्न पार्टीको लिडरसिप एकेडेमीको परीक्षा अनिवार्य गरिएको छ। 

१२ वर्ष अवधि पुगेका न्यायाधीशलाई अवकाशअघि स्वतः एक तह बढुवाको प्रस्ताव

 जिल्ला र उच्च अदालतमा १२ वर्ष अवधि पुगी अवकाशमा जान लागेका न्यायाधीशलाई स्वतः एक तह बढुवा दिएर मात्र अवकाश दिनेबारे न्यायपरिषद्ले छलफल थालेको छ। यसका लागि उच्च नैतिक चरित्र भएको हुनुपर्ने व्यवस्था गर्न लागिएको छ। 
जिल्ला न्यायाधीशलाई उच्च अदालतको न्यायाधीश तथा उच्च अदालतको न्यायाधीशलाई मुख्य न्यायाधीश पदमा बढुवा गरेर मात्र अवकाश दिनुपर्ने प्रस्तावमा छलफल अघि बढेको न्यायपरिषद्का सचिव रामप्रसाद भट्टराईले बताए।

यसले एकातर्फ न्यायाधीशलाई उच्च व्यावसायिकता कायम राख्न प्रोत्साहन गर्ने उनी बताउँछन्। कुनै उजुरी नपरेका तथा विवादमा नपरेका न्यायाधीशलाई मात्र सम्मानस्वरूप यस्तो सुविधा दिनेबारे छलफल थालिएको हो। 

केन्द्रीय कार्यालयका लागि घरजग्गा खरिद गर्दै रास्वपा, प्रस्ताव आह्वान

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय कार्यालय सञ्चालनका लागि घर वा जग्गा खरिद गर्ने प्रक्रिया अघि बढाएको छ। पार्टीको बढ्दो सांगठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वलाई ध्यानमा राख्दै रास्वपाले आफ्नै स्वामित्वमा स्थायी केन्द्रीय कार्यालय स्थापना गर्ने तयारी गरेको हो।

रास्वपाले बुधबार सूचना जारी गर्दै पार्टीको केन्द्रीय समितिले ०८३ असोज १७ गते गरेको निर्णयअनुसार हालको अस्थायी व्यवस्थापनलाई प्रतिस्थापन गरी आफ्नै स्वामित्वको स्थायी संरचनामा केन्द्रीय कार्यालय स्थानान्तरण गर्न घरजग्गा खरिद गर्न लागिएको जनाएकाे छ ।

नेपालबाट मनसुन बाहिरियो, यस वर्ष १२ दिन ढिलो

 यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार (असोज २८ गते) दिउँसो २ बजे मनसुन बहिर्गमनसम्बन्धी बुलेटिन जारी गर्दै मनसुन पूर्ण रूपमा बाहिरिएको जनाएको हो।

महाशाखाका अनुसार यस वर्ष असोज १७ गतेदेखि मनसुन बहिर्गमन सुरु भएको थियो। उक्त दिन सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागका केही स्थानबाट मनसुन बाहिरिन थालेको थियो।

सरकारी अस्पतालका कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउन मन्त्रालयको पत्राचार

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य संघीय निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउन पत्राचार गरेको छ।

मन्त्रालयले स्वास्थ्य बिमा ऐन तथा नियमावलीमा भएको व्यवस्थाबमोजिम कर्मचारीलाई स्वास्थ्य बिमा कार्यक्रममा समेट्न सम्बन्धित निकायलाई समन्वय तथा सहजीकरण गर्न अनुरोध गरेको हो।

नेप्सेमा पाँच दिनदेखि वृद्धि, २,६२१ अंकमा पुग्यो

बैंकिङ समूहमा देखिएको उच्च वृद्धिको बलमा सेयर बजार परिसूचक नेप्से बुधबार २१.३२ अंकले बढेर दुई हजार ६२१ अंकमा पुगेको छ। योसँगै बजार लगातार पाँच कारोबार दिनदेखि उकालो लागेको छ।

बुधबार बैंकिङ समूहको सूचक १.४५ प्रतिशत बढ्यो। कुल बजार पुँजीकरणमा २५.४४ प्रतिशत हिस्सा रहेको बैंकिङ समूहको वृद्धिले समग्र बजारलाई सकारात्मक दिशा दिएको हो।

 

सुझावित समाचार