मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले चाडपर्वमा उच्छृंखल गतिविधि, तडकभडक तथा अनावश्यक खर्च नगर्न आग्रह गरेको छ ।
दसैँ, तिहार, छठ र नेपाल संवतलगायतका पर्वका अवसरमा सामाजिक, धार्मिक तथा सांस्कृतिक सदभाव कायम राख्दै सभ्य रूपमा चाडपर्व मनाउन प्रशासनले अनुरोध गरेको हो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले आ–आफ्नो धर्म, संस्कृति, परम्परा र आस्थाअनुसार पर्व मनाउँदा अन्य समुदायको अस्तित्वलाई पनि सम्मान गर्न आग्रह गरे ।
‘समाजमा रहेका विविध समुदायको अस्तित्वलाई आत्मसात् गर्दै चाडपर्व मनाउने क्रममा आपसी सामाजिक, धार्मिक तथा सांस्कृतिक सदभाव कायम गर्नु, गराउनुहुन अनुरोध छ,’ उनले भने ।
अधिकारीले चाडपर्वका नाममा भड्किलो गतिविधि, ठुलो ध्वनि प्रदूषण र अनावश्यक खर्च नगर्न तथा नगराउन आग्रह गरे ।
चाडपर्व शान्तिपूर्ण वातावरणमा मनाउने सुनिश्चितताका लागि जिल्लाको सुरक्षा व्यवस्था थप प्रभावकारी बनाइएको उनले बताए । ‘आसन्न चाडपर्वहरू शान्तिपूर्ण वातावरणमा मनाउने सुनिश्चित गर्न जिल्लाको समग्र शान्ति सुरक्षा व्यवस्था थप प्रभावकारी तुल्याइएको छ,’ अधिकारीले भने ।
चाडपर्वका वेला आपराधिक व्यक्ति तथा समूहबाट चोरी, डकैतीलगायतका घटना हुन सक्ने भन्दै प्रशासनले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन पनि अनुरोध गरेको छ । आफ्नो आसपासमा हुने शंकास्पद गतिविधिबारे समयमै सुरक्षाकर्मीलाई जानकारी गराउन प्रशासनको आग्रह छ ।
शान्ति सुरक्षामा प्रतिकूल प्रभाव पार्ने कुनै गतिविधि भएको, भइरहेको वा हुन लागेको देखिएमा तत्काल नजिकको सुरक्षा निकाय वा प्रहरीलाई खबर गर्न अधिकारीले अनुरोध गरे । उनले नागरिकबाट प्राप्त सूचनाले जिल्लाको शान्ति सुरक्षा कायम राख्न सहयोग पुग्ने भन्दै सूचना दिएर सघाउन पनि आग्रह गरे ।