धनगढी । सुदूरपश्चिम प्रदेश सभाले मंगलबार पारित गरेको बजेटलाई लिएर सत्तारूढ नेकपा एमालेभित्र असन्तुष्टि चर्किएको छ। बजेटप्रति असन्तुष्ट प्रदेश सभा सदस्य वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । थापाले सभामुख भीमबहादुर भण्डारीलाई हिजो नै राजीनामापत्र बुझाएका हुन्। उनको राजीनामाबारे सभामुखले निर्णय गरिसकेका छैनन्।
राजीनामा बुझाएर उनी हिजो बजेट पारित गर्ने प्रयोजनका लागि बसेको प्रदेश सभा बैठकमा सहभागी भएनन्। सभामुख भण्डारीले थापाले प्रदेश सभा सदस्यबाट राजीनामा बुझाएको पुष्टि गर्दै यसबारे निर्णय भइनसकेको बताएका छन्। स्रोतका अनुसार थापाको राजीनामा तत्काल स्वीकृत नगर्न एमाले नेतृत्व तहबाटै सभामुखलाई आग्रह गरिएको छ।
एमालेका एक सांसदका अनुसार बजेट पारितअघि थापाले बजेट पारित गर्न नहुने र बजेटमाथिको छलफलका क्रममा सबै सांसदले भाग लिन पाउनुपर्ने माग संसदीय दलमा राखेका थिए। तर, एमालेले उनलाई पार्टीका तर्फबाट बजेटमाथि बोल्न समय दिएन। दलका नेता राजेन्द्रसिंह रावल आफैँले बजेटबारे सदनमा धारणा राखेका थिए।
बजेटप्रति असन्तुष्ट रहेका थापा सदनमा बोल्ने समय नपाएपछि थप असन्तुष्ट बनेका बताइएको छ। यसअघि उनले बजेट टुक्रे योजनाले भरिएको, रूपान्तरणकारी योजना नरहेको, कुनै क्षेत्रविशेषमा खन्याइएको र भौगोलिक सन्तुलनसमेत नमिलाई विनियोजन गरिएकाले बजेट पारित गर्न नहुने प्रतिक्रिया दिएका थिए।
कञ्चनपुर क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट प्रत्यक्ष निर्वाचित थापा यसअघि प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री थिए ।एमालेकै अर्का प्रदेश सांसद धर्मराज पाठक पनि बजेटप्रति असन्तुष्ट छन्। त्यही कारण दलको निर्देशकविपरीत उनी हिजोको प्रदेश सभा बैठकमा सहभागी भएनन्।
आर्थिक मामिलामन्त्री चक्र मल्लले गत आइतबार प्रस्तुत गरेको ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजारको बजेट प्रदेश सभाले हिजो पारित गरेको थियो । मल्ल एमालेबाटै मन्त्री बनेका हुन्। बजेटलाई लिएर सत्तापक्षकै सांसद असन्तुष्ट देखिएपछि सत्ता पक्षबिच आगामी मंसिर पहिलो सातासम्म पूरक बजेट ल्याउने सहमति भएको छ।