राजमार्गका होटेलमा गुणस्तरहीन खाना खुवाए चालक र सञ्चालकलाई कारबाही हुने

बुधबार, २८ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । चाडपर्वका वेला राजमार्गमा रहेका होटेल तथा रेस्टुरेन्टमा यात्रुलाई गुणस्तरहीन खाना खुवाएको पाइए सवारीचालक र होटेल सञ्चालक दुवैलाई कारबाही गरिने भएको छ। यातायात व्यवस्था विभागले खाद्य स्वच्छता कायम गर्न र यात्रुलाई गुणस्तरीय खाना उपलब्ध गराउन सम्बन्धित पक्षलाई निर्देशन दिएको हो।

राजमार्गका होटेलमा बासी खाना बिक्री हुने, खाद्यवस्तुमा झिँगा भन्किने तथा सरसफाइमा लापरबाही हुने गरेको गुनासो बढेपछि विभागले यस्तो कदम चालेको जनाएको छ।

विभागका निर्देशक मणिराम भुसालले सोमबार जारी गरेको सूचनामा सार्वजनिक यातायातका यात्रुलाई खाना, नास्ता तथा खाजा उपलब्ध गराउने होटेल र रेस्टुरेन्टले सरसफाइमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरिएको छ।

विभागले सार्वजनिक यातायातका चालकलाई यात्रुलाई खाना खुवाउन रोक्दा सफा, स्वच्छ र गुणस्तरीय खाद्यवस्तु उपलब्ध हुने होटेल तथा रेस्टुरेन्ट छनोट गर्न आग्रह गरेको छ। सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य स्वच्छतासम्बन्धी स्टिकर टाँसिएका होटेल तथा रेस्टुरेन्टलाई प्राथमिकता दिन पनि निर्देशन दिइएको छ।

होटेल तथा रेस्टुरेन्टले उपलब्ध गराएको खाना वा खाजाका कारण यात्रु बिरामी परेको गुनासो आए सम्बन्धित निकायले निगरानी गर्ने विभागले जनाएको छ। खाद्य स्वच्छता र गुणस्तरमा लापरबाही गर्ने वा मूल्यमा ठगी गर्ने व्यवसायीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने विभागको चेतावनी छ।

यात्राका क्रममा गुणस्तरहीन खाना, अस्वच्छता वा मूल्यमा ठगी भएको पाइए यात्रुले सम्बन्धित निकायमा उजुरी दिन सक्नेछन्। यसका लागि नेपाल प्रहरीको हेल्पलाइन नम्बर १०० मा सम्पर्क गर्न सकिनेछ। साथै, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा मातहतका कार्यालयमा उजुरी दिन सकिने विभागले जनाएको छ।

दसैँलगायत चाडपर्वका वेला सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने भएकाले राजमार्गका होटेल तथा रेस्टुरेन्टमा खाद्य स्वच्छता कायम गर्न र मूल्यमा हुने ठगी नियन्त्रण गर्न विभागले चालक तथा व्यवसायीलाई जिम्मेवार बन्न आग्रह गरेको छ।
 

सुझावित समाचार