बेलकाबाट १५९ किलोभन्दा बढी गाँजासहित पिकअपचालक पक्राउ

मंगलबार, २७ असोज, २०८३
डिजिटल संस्करण

उदयपुर । उदयपुरको बेलका नगरपालिका– ५, सुपाडेस्थित देउरालीबाट १५९ किलो १०० ग्राम गाँजासहित पिकअप भ्यानका चालक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन चापागाईंका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोमबार साँझ चेकजाँचका क्रममा गाँजासहित चालकलाई पक्राउ गरेको हो ।

रामपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ५२९० नम्बरको पिकअप भ्यानमा गाँजा ओसारपसार भइरहेको अवस्थामा प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको चापागाईंले जानकारी दिए ।

पक्राउ पर्नेमा सप्तरीको सप्तकोशी नगरपालिका– ८, आदोरा निवासी २८ वर्षीय पशुपति साफी रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि गत सोमबार राति पनि प्रहरीले उदयपुरका दुई स्थानबाट एकै रातमा एक हजार ४० किलो ४४० ग्राम गाँजा बरामद गरेको थियो । उक्त घटनामा गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका थिए ।

उदयपुरमा छोटो अवधिमै ठुलो परिमाणमा गाँजा बरामद हुन थालेपछि प्रहरीले लागुऔषध ओसारपसार नियन्त्रणका लागि निगरानी र अनुसन्धानलाई तीव्र बनाएको छ ।


 

सुझावित समाचार