बजेट अधिवेशन अन्त्यतिर पुग्दै गर्दा कांग्रेस सांसद भीष्मराज आङ्देम्बेले सरकारको कार्यशैली र प्रधानमन्त्रीको संसदीय भूमिकामाथि कडा प्रश्न उठाएका छन्। सरकार गठन भएको ६ महिना पूरा हुन लाग्दा पनि जनताले अपेक्षा गरेको सुशासन र परिवर्तनको अनुभूति हुन नसकेको उनको भनाइ छ।
‘हामीले बलियो सरकार खोजेका थियौँ, तर बलियो सरकार किन कमजोर शासन गरिरहेको छ ? ’ भन्दै आङ्देम्बेले सरकारको कार्यसम्पादनमाथि प्रश्न गरेका हुन्। उनले आफूहरूले कुनै व्यक्तिको अहंकार नभई परिवर्तन, सुशासन र जवाफदेहिताको सरकार खोजेको स्पष्ट पारे। संसद कुनै प्रधानमन्त्री वा सरकारको अनुकूलतामा सञ्चालन हुने संस्था नभएको उनको तर्क छ।
‘संसद तपाईंको अनुकूलतामा चलाउने संस्था होइन,’ उनले भने, ‘संसदीय प्रमुख प्रतिपक्ष दल वा प्रतिपक्षले आफ्नो विचार राखिरहँदा प्रधानमन्त्री उपस्थित हुनु संसदीय अभ्यास हो।’ संसद बैठक चलिरहेका बेला प्रधानमन्त्री कहाँ छन् र के गरिरहेका छन् भन्ने विषय संसदलाई जानकारी हुनुपर्ने उनले बताए। आफ्नो इच्छाअनुसार संसदमा बस्ने वा मन नलाग्दा उठेर हिँड्ने प्रवृत्ति संसदीय अभ्यास हुन नसक्ने उनको टिप्पणी छ।‘मन लाग्दा बस्ने र मन नलाग्दा उठेर जाने संसदीय अभ्यास होइन,’ आङ्दामेले भने।
उनले यस्तो व्यवहारले नयाँ पुस्ता र राजनीतिमा प्रवेश गरिरहेका युवालाई गलत राजनीतिक संस्कार सिकाउने खतरा रहेको समेत औँल्याए। ‘हामीले जेन–जीलाई यही सिकाउन खोजेको हो ? राजनीतिमा आउँदै गरेका युवालाई हामी कस्तो संस्कार सिकाइरहेका छौँ’ ?उनको प्रश्न थियो।
प्रधानमन्त्री संसदबाट बनेको सरकारको प्रमुख भएकाले संसदका नियम र अभ्यास पालना गर्नु अनिवार्य रहेको उनले बताए। प्रधानमन्त्रीलाई संसदका नियम नमान्ने छुट नरहेको उनको भनाइ छ।
आङ्दामेले सरकार, सत्तापक्ष र प्रतिपक्ष सबै जनताप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै संसदको गरिमा र जनताको प्रश्नलाई सम्मान गर्न आग्रह गरे। ‘संसदलाई सम्मान गर्नुस्। लोकतन्त्रमा प्रश्नलाई सम्मान गर्दा आफैँ सम्मानित भइन्छ,’ उनले भने।