जिल्ला प्रहरी कार्यालय खोटाङले सडक दुर्घटनामा चालक अनुमतिपत्र नभएका व्यक्तिलाई छुट दिएको र अनुमतिपत्र भएका व्यक्तिविरुद्ध भने कारबाहीको प्रक्रिया अगाडि बढाएको पाइएको छ। करिब चार महिनाअघि मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डको मुडेस्थित नेपाली सेनाको ब्यारेकनजिक विपरीत दिशाबाट आएका मोटरसाइकल र अटो आपसमा ठोक्किँदा मोटरसाइकल चालक घाइते भएका थिए।
हलेसीबाट दिक्तेलतर्फ आउँदै गरेको बा.७९ प ६८४३ नम्बरको मोटरसाइकल र दिक्तेलबाट हलेसीतर्फ जाँदै गरेको कोशी प्रदेश ०५००१ ह ०६८१ नम्बरको अटोबीच २०८३ जेठ २५ गते दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकल चालक ३८ वर्षीय मेखबहादुर खत्रीको दाहिने खुट्टामा चोट लागेको थियो।
दुर्घटनालगत्तै उद्धार गरिएका खत्रीलाई उपचारका लागि काठमाडौं लगिएको थियो। उपचारका क्रममा दाहिने खुट्टाको बुढीऔँलाले काम नगरेपछि काट्नुपरेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन्।
सडक दुर्घटनामा घाइते भएका खत्रीको उपचार खर्च अटो चालक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका ३२ वर्षीय राकेश मगरले व्यहोर्ने गरी दुवै पक्षबीच मौखिक सहमति भएको बताइएको छ। तर, उक्त सहमति कार्यान्वयन नभएपछि खत्रीले यही असोज १२ गते जिल्ला प्रहरी कार्यालय खोटाङमा अटो चालकविरुद्ध सवारी अंगभंगसम्बन्धी मुद्दा दर्ता गराएका थिए।
मुद्दा दर्ता भएको भोलिपल्ट असोज १३ गते प्रहरीले अटो चालक मगरलाई पक्राउ गरेको हो। प्रहरी चौकी बुइपाको सहयोगमा पक्राउ परेका मगरलाई असोज १४ गते जिल्ला अदालत खोटाङमा उपस्थित गराएर थप अनुसन्धानका लागि पाँच दिनको म्याद माग गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए। उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तर, दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक खत्रीसँग मोटरसाइकल चलाउने चालक अनुमतिपत्र नभएको समाचार स्रोतले जनाएको छ। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ (पहिलो संशोधन २०५०) मा कुनै पनि सवारीसाधन चलाउनुअघि चालक अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ। सवारी दुर्घटना रोकथाम गर्न, दुर्घटनाका पीडित पक्षलाई क्षतिपूर्ति दिलाउन, बीमा व्यवस्था गर्न तथा सर्वसाधारणलाई सरल र सुलभ ढंगले सेवा उपलब्ध गराउन चालक अनुमतिपत्र अनिवार्य गरिएको ऐनको प्रस्तावनामा उल्लेख छ।
तर, दुर्घटनामा घाइते भएका खत्रीले प्रहरी प्रशासनको आडमा लामो समयदेखि जिल्लामा चालक अनुमतिपत्रबिनै मोटरसाइकल चलाउँदै आएको समाचार स्रोतको दाबी छ। बिना चालक अनुमतिपत्र मोटरसाइकल चलाउँदै आएका खत्रीले अटो चालकविरुद्ध ठहर नहुने मुद्दा दर्ता गराएको अधिवक्ता ओमप्रकाश घिमिरेले बताएका छन्।
‘सवारी तथा यातायात व्यवस्था ऐनमा सवारी चलाउने जोसुकै व्यक्तिसँग चालक अनुमतिपत्र अनिवार्य हुनुपर्ने उल्लेख छ। यो घटनामा ट्राफिक प्रहरीको पनि कमजोरी देखिन्छ,’ उनले भने, ‘दुर्घटनाका घाइते खत्रीले चालक अनुमतिपत्र भएको प्रमाण पेस गर्न नसकेको खण्डमा उनलाई नै पाँच हजार रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ। यस विषयमा गम्भीर रूपमा छानबिन हुनुपर्छ।’
सडक दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक खत्री राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय खोटाङका प्रमुखको खाना पकाउने भान्से रहेको खुलेको छ। करार कर्मचारीका रूपमा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयमा कार्यरत खत्री दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पास्थित बुवालुङका हुन्।
सडक दुर्घटनाका विषयमा पीडित भनिएका व्यक्तिबाट परेको उजुरीका आधारमा पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए। ‘अनुसन्धानका क्रममा जे प्रमाण फेला पर्छ, सोहीबमोजिम सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेस गरिनेछ,’ उनले भने।
दुर्घटनापछि अटो चालक मगरले तत्काल उपचारका लागि खत्रीलाई केही रकम उपलब्ध गराएको समाचार स्रोतले जनाएको छ। बाँकी रकम उपचारपछि फर्किएर दुवै पक्षले बीमा कम्पनीमार्फत भुक्तानी लिने र त्यसपछि रकम उपलब्ध गराउने सहमति भएको मगरले बताउँदै आएका थिए।
तर, मोटरसाइकल चालक खत्रीसँग चालक अनुमतिपत्र नभएको पाइएपछि बीमा कम्पनीले भुक्तानी नदिँदा दुवै पक्षबीच भएको सहमति कार्यान्वयन हुन नसकेको जनाइएको छ। सडक दुर्घटनाबाट भएको क्षतिको बीमा दाबीका लागि दुवै सवारी चालकसँग वैध चालक अनुमतिपत्र हुनुपर्ने कानुनी व्यवस्था रहेको बताइएको छ।