ताप्लेजुङमा अरिङ्गाल झार्ने क्रममा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ। फुङलिङ नगरपालिका–१ लक्मीबोटेका ५९ वर्षीय छत्रबहादुर सुनुवारको अरिङ्गाल झार्ने क्रममा रुखबाट खसेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरिक्षक विन्देश्वर यादवले बुधबार राति करिब १० बजे फुङलिङ नगरपालिका–६ थुवाजुङमा सुवास मादेनको बारीमा रहेको चिलाउनेको रुखमा चढेर अरिङ्गाल झार्ने क्रममा सुनुवार करिब १० मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको जानकारी दिए।
घटनाबारे फुङलिङ नगरपालिका–१ का वडाध्यक्ष रुद्रबहादुर मादेनले बिहीबार राति १२ः४५ बजे प्रहरीलाई जानकारी गराएका थिए। सूचना पाएलगत्तै प्रहरी चौकी भानुबाट प्रहरी टोली घटनास्थलमा पुगेर घटनास्थल सुरक्षित राखेको थियो।
घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक विद्यालालकुमार साहको नेतृत्वमा टोली घटनास्थलतर्फ गएको थियो। घटनास्थलको मुचुल्का गरी जिल्ला अस्पतालमा शवको पोष्टमार्टम गरी आफन्तलाई जिल्लामा लगाएको प्रहरीले जनाएको छ।