विपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले हजार र पाँच सय रुपैयाँका नोट बन्द गर्न सरकारलाई चुनौती दिएका छन्।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले भ्रष्टाचार गरेर लुकाइएको रकम व्यवस्थापन गर्न नोटबन्दी गर्नुपर्ने बताएपछि जवाफ दिँदै दुलालले सरकारले हजार र पाँच सयका नोट बन्द गरे आफ्नो दलले पूर्ण समर्थन गर्ने बताएका हुन्।
‘रास्वपाको सरकारलाई अविलम्ब पुरानो हजार र पाँच सयका नोटहरूलाई नोटबन्दी गर्न माग गर्दछु। हाम्रो दलको तर्फबाट सम्पूर्ण रूपमा साथ र सहयोग हुनेछ,’ दुलालले संसदमा भने।
उनले आवश्यक परे आफ्नो दलका संघीय संसद्का सबै सांसदले हस्ताक्षर गरेरसमेत सहयोग गर्ने बताए। ‘हाम्रो संघीय संसद्का सबै सांसदले हस्ताक्षर गरेर दिनुपरे पनि आजै दिने घोषणा गर्न चाहन्छु,’ उनले भने।
दुलालले भ्रष्टाचार गरेर राखिएको भनिएको रकम बाहिर ल्याउन नोटबन्दी गर्न सरकारले ढिलाइ गर्न नहुने बताए। ‘भ्रष्टाचार गरेर राखिएको हजार र पाँच सयको नोट नोटबन्दी गर्न रास्वपालाई केले छेक्यो ? तुरुन्त गर्नका लागि माग गर्दछु। यसका लागि रुलिङ गर्न पनि माग गर्दछु,’ उनले भने।