महोत्तरीको मटिहानी नगरपालिकास्थित समुदायका सक्रिय समूहलाई राष्ट्रिय खोप कार्यक्रमबारे अभिमुखीकरण गरिएको छ।कार्यक्रममा राष्ट्रिय खोप कार्यक्रमलाई प्रभावकारी, सबल र सफल बनाउन समुदायमा सक्रिय विभिन्न समूहका प्रतिनिधिहरूको सहभागिता थियो।
धार्मिक गुरु, पण्डित, मौलाना, शिक्षक–शिक्षिका तथा आमा समूहका सदस्यलाई राष्ट्रिय खोप कार्यक्रमको उद्देश्य, खोपको प्रयोग, महत्त्व तथा बालबालिकालाई समयमै नियमित खोप लगाउनुपर्ने आवश्यकताबारे जानकारी गराइएको थियो।
अभिमुखीकरणका क्रममा खोपसम्बन्धी समुदायमा देखिन सक्ने भ्रम तथा गलत धारणालाई न्यूनीकरण गर्दै अभिभावक तथा समुदायका सदस्यलाई खोपको महत्त्वबारे सही र तथ्यपरक जानकारी प्रवाह गर्नुपर्नेमा जोड दिइएको थियो।
मटिहानी नगरपालिकाभित्र रहेका सबै बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत आवश्यक खोप समयमै लगाउने वातावरण निर्माण गर्न सहयोग पुग्ने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पवनकुमार मण्डलले बताए। समुदायका सक्रिय समूहलाई राष्ट्रिय खोप कार्यक्रमबारे जानकारी गराउँदा खोपको पहुँच र प्रयोगमा थप प्रभावकारिता आउने भएकाले कार्यक्रम आयोजना गरिएको उनले बताए।
मटिहानी नगरपालिकाभित्र कुनै पनि बालबालिकालाई आवश्यक खोपबाट वञ्चित हुन नदिन स्थानीय सरकार, स्वास्थ्यकर्मी, सामुदायिक समूह, अभिभावक तथा सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको उनले बताए।