प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूलाई नयाँ सोच, उपाय र विचारका साथ काम गर्न आग्रह गर्दै पाँच वर्षमा मुलुकमा उल्लेख्य परिवर्तन ल्याउन सकिने बताएका छन्।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय संसद्को प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले सांसदहरू ‘असाधारण’ मानिस भएकाले नयाँ उपाय र विचार ल्याएर त्यसको कार्यान्वयनमा केन्द्रित हुनुपर्ने बताएका हुन्।
उनले सांसदहरूले राजनीतिक विषयमा मात्रै केन्द्रित नभई आफ्नो ज्ञान, सीप र अनुभवलाई मुलुकको विकासमा उपयोग गर्नुपर्नेमा जोड दिए। प्राविधिक पृष्ठभूमिका सांसदहरू नीति निर्माण गर्ने स्थानमा रहेकाले आफ्नो विज्ञताको अधिकतम प्रयोग गर्न उनले आग्रह गरे।
‘तपाईंहरू आफैँ प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ, देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्,’ प्रधानमन्त्री शाहले भने।
प्रधानमन्त्री शाहले पार्टी राजनीतिसँगै सांसदहरूले आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकता दिनुपर्ने बताए। निर्वाचन तथा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका प्राविधिक विषयमा केन्द्रित हुन उनले आग्रह गरे।