सिद्धार्थ बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य संस्था अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)बिच स्मल लोन ग्यारेन्टी प्रोग्राम (एसएलजिपी)अन्तर्गत चार करोड अमेरिकी डलरबराबरको रिस्क सेयरिङ साझेदारी सुविधासम्बन्धी सम्झौता भएको छ । यो व्यवस्थाअन्तर्गत बैंकले प्रवाह गर्ने लघु, साना तथा मझौला उद्यम (एमएसएमई) कर्जामा निहित जोखिमको ५० प्रतिशत हिस्सा आइएफसीले बहन गर्नेछ । यसबाट देशभरका लघु, साना तथा मझौला उद्यमहरूमा कर्जा विस्तार गर्ने सिद्धार्थ बैंकको क्षमतालाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामेश्वरप्रसाद बस्यालले यो साझेदारीबाट बैंकको एमएसएमई कर्जा पोर्टफोलियो विस्तारको दिशामा महत्वपूर्ण कदम हुने बताए । ‘साना व्यवसायीले चुनौतीपूर्ण आर्थिक परिस्थितिको सामना गरिरहेका वेला यो सुविधाले कर्जा प्रवाह गर्ने हाम्रो क्षमतालाई थप सुदृढ बनाउने अपेक्षा रहेको छ,’ उनले भने । यसले महत्वपूर्ण क्षेत्रमा कर्जा प्रवाह बढाएर उद्यमशीलतालाई प्रोत्साहन गर्ने, रोजगारी सिर्जना गर्ने तथा नेपालको समावेशी आर्थिक वृद्धिमा योगदान पुर्याउने बैंकको लक्ष्य छ ।
सन् २०१४ मा सिद्धार्थ बैंक आइएफसीको ग्लोबल ट्रेड फाइनान्स प्रोग्राममा आबद्ध भएपश्चात् यसले बैंकलाई विश्वव्यापी करेस्पोन्डेन्ट बैंकहरूको सञ्जालसँग जोडिन थप सहज बनाएको बताइएको छ । त्यसपछि सन् २०२३ मा सिद्धार्थ बैंकले आइएफसीबाट अमेरिकी डलर पाँच करोड ५० लाखबराबरको सिन्डिकेटेड कर्जा सुविधा लिएको थियो ।