अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा भारतबाट नेपाल भ्रमणमा आएका पर्यटकलाई महोत्तरीको जलेश्वरस्थित नेपाल–भारत सीमा नाकामा स्वागत गरिएको छ। होटेल तथा पर्यटन व्यवसायी संघ जलेश्वरको आयोजनामा जलेश्वर नगरपालिका–३ मलिवारा (भिट्ठामोड) स्थित सीमा नाकामा भारतीय पर्यटकलाई स्वागत गरिएको हो।
नेपालका धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमणका लागि आएका पर्यटकलाई जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनार, महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी सञ्जयकुमार पोखरेल, सुरक्षा निकायका प्रमुख तथा होटल तथा पर्यटन व्यवसायी संघ जलेश्वरका पदाधिकारीले स्वागत गरेका थिए।
नेपालमा विभिन्न समयमा भएका आन्दोलन, विपद् तथा राजनीतिक उतारचढावका कारण भारतीय पर्यटकको संख्यामा कमी आएको भन्दै पर्यटन व्यवसायमा सुधारको अपेक्षासहित स्वागत कार्यक्रम गरिएको संघका अध्यक्ष सरोजकुमार चौधरीले बताए।
कार्यक्रम असोज ११ गते गर्ने निर्णय भए पनि मौसममा आएको परिवर्तनका कारण बुधबार आयोजना गरिएको चौधरीले जानकारी दिए। उनका अनुसार बुधबार नै विभिन्न सरोकारवाला निकाय तथा व्यक्तिसँग होटल तथा पर्यटन क्षेत्रको सुधारका विषयमा अन्तर्क्रिया कार्यक्रमसमेत आयोजना गरिएको छ।