मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३० शनिबार
  • Sunday, 13 April, 2025
धर्मेन्द्र विह्वल
२o८१ चैत ३० शनिबार १o:o३:oo
Read Time : > 6 मिनेट
फिचर प्रिन्ट संस्करण

‘हे वैद्यनाथ ! सबैको भलो गर्‍या’

बुढीगंगाकै कारण जोखिममा बुढीगंगा–साँफे सभ्यता

Read Time : > 6 मिनेट
धर्मेन्द्र विह्वल
नयाँ पत्रिका
२o८१ चैत ३० शनिबार १o:o३:oo

पत्रकारसँग पत्रकारिताकै कुरा
०७६ जेठमा हामी अछामको मंगलसेन जाँदै थियौँ । धनगढीबाट डडेल्धुरा हुँदै डोटीको सिलगढी पुगेका हामी डोटीका पत्रकार मित्र दिलबहादुर सिंहलाई लिएर अगाडि बढ्यौँ । सिलगढी पुग्नुअघि हामी दिपायलमा अडियौँ । यो बाटो हिँड्दा दिपायलका साथीलाई नभेट्नु र वर्षा होटेल नछिर्नु मेरा लागि निकै कठिन हुन्छ । होटेल वर्षामा साथीहरू मीन, योगेन्द्र, अरुण, धीरेन्द्र, पवन, मोहन, सुनिता, प्रकाश, चक्र, विमललगायतसँग भेटेर चिया खाएका थियौँ । विगतमा दिपायल आउँदा प्रियजनहरू उद्धव, टेकेन्द्र र दिलबहादुर छन्त्याल पनि भेटिन्थे, तर उनीहरू अहिले यहाँ छैनन् । सिलगढीमा खगेन्द्र सिंह र गणेश मौनीसँग भेटेर सामान्य कुराकानी भयो, तर यसअघि सधैँ भेट हुने गणेश जोशी, शंकर थापा र उद्धव ढाँटसँग यसपटक भेट भएन । जो पत्रकारसँग भेट भयो, उनीहरूसँग अरू के कुरा गर्नु थियो र, उही पत्रकारिताकै कुरा त हो । 

अछामको यात्रा मेरा लागि नौलो त थिएन । यसअघि मैले दुईपटक साँफे र मंगलसेनसम्मको यात्रा गरिसकेको थिएँ । प्रिय भाइ राम कुँवर (जो नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष थिए) को आतिथ्यमा मैले मंगलसेनसम्मको यात्रा गरिसकेको थिएँ । त्यसवेला साँफे र मंगलसेनमा आयोजित सूचनाको हकसम्बन्धी तालिमको सहजीकरण गरेको थिएँ । अछाममा सूचनाको हकसम्बन्धी तालिम सायद त्यही नै पहिलो थियो । 

अछाम यात्रा : अतीतदेखि वर्तमानसम्म
सिलगढीबाट हामी अगाडि बढिरहँदा अछामको पुरानो यात्रा अनुभव, तर नयाँ संस्मरणमा थियो । यसपटक अछामको तेस्रोपटकको यात्राका लागि म अग्रसर थिएँ । यसपटक अघिपछिको भन्दा रोमाञ्चको पारो बढी थियो भन्ने मेरो अनुभूति थियो । किन ? यकिनका साथ त भन्न सक्दिनँ, तर यसपटकको यात्रा मंगलसेनभन्दा अगाडि तुर्माखादसम्म हुने भएकाले हुन सक्छ । 

गाडीमा चालकसहित हामी पाँचजना थियौँ । चालक, म र दिलबहादुरका साथै सुदूरपश्चिमका अग्रज पत्रकार धनगढीका मनमोहन स्वाँर र कैलाली टीकापुरका पत्रकार गणेश चौधरीजी । दिलबहादुर सिंह, जो कम्युनिकेसन फाउन्डेसनसँग आबद्ध थिए, को मूल कर्म पत्रकारिता नै हो । तर, पहाडी जिल्लामा पत्रकारिता मात्र गरेर जीवन धान्न सकिने अवस्था छैन । सिंहजी पनि अपवाद होइनन्÷छैनन् । उनी पत्रकारितासम्बद्ध अन्य काम पनि गर्छन् ।

सिलगढीबाट हिँड्दा करिब साढे १२ बजेको थियो । आजै मंगलसेन पुग्नुपर्ने थियो । सिलगढीबाट साँफे करिब ६५ किलोमिटर र त्यसपछि करिब २५÷३० किलोमिटर मंगलसेनसम्मको यात्रा । ढिलो त हुँदै थियो, तर खाना खाइएको थिएन । खाना खानु थियो ।

साजघाटको माछा र पूर्वीचौकीको वास
यस क्षेत्रमा खाना खानका लागि साजघाट उपयुक्त मानिने यात्रा दलका एक सदस्यले जनाए । र, हामी तिनकै अनुशरणमा अगाडि बढिरहेका थियौँ । दिलबहादुरजीले आफ्नो सञ्जाल प्रयोग गरेर साजघाटको एक होटेलमा हामी आउने र खाना खाने जनाउ दिए । साजघाट शान्तिनगरको लेकमुनि एक सानो खोला किनारमा अवस्थित बेसीजस्तो ठाउँमा रहेको सानो बजार हो । यस ठाउँको माछा बडो प्रसिद्ध छ । यो बाटो भएर हिँड्ने जोकोहीलाई पनि साजघाटको माछाभातले लोभ्याउने गरेको छ । हामी अपवाद हुने कुरै भएन । त्यसमा पनि म, माछाप्रेमीको त कुरै बेग्लै । साजघाटमा पहिले पनि खाना खाइसकेको हुनाले म त्यहाँको स्वादमा अभ्यस्तजस्तै थिएँ । गाडी गुडिरहेको थियो, म भने कुन वेला साजघाट आउला र माछा खान पाइएला भनेर सम्झँदै थिएँ । 

सिलगढीबाट सायद चार–पाँच किलोमिटर अगाडि केहीबेरको उकालोपछि लेकमा एउटा सानो बजार देखियो । सुन्दर पहाडी बजार–शान्तिनगर । डोटीमा यो स्थानले वनभोज स्थलका रूपमा चर्चा बटुलिरहेको छ । स्थानीय तहले पनि यो ठाउँलाई यसै रूपमा विकसित गर्ने प्रयास गरिरहेको छ । यो ठाउँ प्रसिद्ध पर्यटकीय गन्तव्य खप्तड जाने केन्द्रका रूपमा पनि चर्चित छ । यहाँसम्म गाडीमा आएपछि अब पैदलयात्रा वा घोडचढीका माध्यमबाट खप्तडतर्फको उकालो लागिन्छ । कांग्रेसका नेता भरतबहादुर खड्काको गाउँ पनि हो यो । यतै कतैबाट दिपायल सिलगढी नगरपालिका र पूर्वीचौकी गाउँपालिकाको सिमाना छुट्टिन्छ । माछा र खानाको कुरा सोच्दासोच्दै शान्तिनगर कटेर अगाडि बढिसकेका थियौँ । यसको अर्थ हो, हामी अब पूर्णतः पूर्वीचौकी गाउँपालिकामा थियौँ । 

म आफूलाई संघीयता, स्थानीय तह र सुशासनको विद्यार्थी पनि मान्छु । सहयात्री मनमोहनजीको पनि रुचिको क्षेत्र हो यो । यसैले स्थानीय तहका गतिविधि हाम्रा लागि अध्ययनका विषय बन्ने गरेका छन् । अध्ययनका सन्दर्भमा मैले कतै स्थानीय तहका सफलताका कथाभित्र पूर्वीचौकीको नाम पनि भेटेको थिएँ । हामी यिनै विषयमा गफिइरहेका थियौँ । पूर्वीचौकी हेर्ने रहर थियो । यस पालिकाले एक सार्थक अभ्यासको पहल गरेको मानिन्छ । कुरा के भने, डोटीबाट अछाम बाजुरा जाने यो बाटो बनेको निकै भइसके पनि यातायातका साधन –विशेषगरी सार्वजनिक यातायात) भने निकै अभाव रहने गरेको थियो । सडक भएर पनि यातायात सुविधा अभावमा यस क्षेत्रका बासिन्दाले सास्ती व्यहोरिरहेका थिए । यस अवस्थालाई दृष्टिगत गर्दे पूर्वीचौकी गाउँपालिकाले चौखुट्टे–दिपायल–चौखुट्टे सार्वजनिक बस सेवा सञ्चालनमा ल्याएको थियो । र, यो सेवा निकै लोकप्रिय बनेको थियो । पहिलोपटकको स्थानीय निर्वाचनपछि गठित स्थानीय सरकारको अनुकरणीय असल अभ्यासअन्तर्गत यो बस सेवाले चर्चा पाएको थियो । हामी दुवैजनाको निष्कर्ष थियो– यस्ता अभ्यासलाई अन्य स्थानीय तहले पनि अनुकरण गर्नुपर्छ । हामी गाडीभित्र यस्तै कुरा गरिरहेका वेला एक्कासि दिलबहादुरजीले भने ल अब गाडी रोक्नुपर्‍यो । 

साजघाट आइपुगियो । यहाँ आइपुग्दा करिब दुई जति बजेको थियो । दिलबहादुरजीकै नेतृत्वमा होटेलमा गयौँ । खाना खाइयो । पहिले अलिअलि तारेको माछा बजाइयो र त्यसपछि झोल माछासँग भात । आहा ! स्वाद त कसरी बयान गर्नु ? बयान गर्न सके पो गर्नु । होटेलको पछाडिको भागमा लगाइएका कुर्सीटेबुलमा आसन जमाएर पहाडको कापबाट बगिरहेको खोलाको पानीसँग भावनात्मक रूपले एकाकार हुने प्रयत्न गर्दै भोजनको आनन्दको व्याख्या कसरी गर्न सकिएला र खै ? म त सक्दिनँ । यस सम्बन्धमा अहिलेलाई यत्ति नै । 

चौखुट्टे हुँदै साँफे र मंगलसेन
खाना खाएपछि यात्रालाई निरन्तरता दियौँ । यहाँबाट प्रस्थान गर्दै गर्दा करिब चार बजिसकेको थियो । गाडी उकालो लाग्यो । केहीबेरको यात्रापछि सानागाउँ पुगियो । यो ठाउँ पूर्वीचौकी गाउँपालिकाको केन्द्र हो । यहाँ गाउँपालिकाको कार्यालय छ । यहाँबाट अगाडि बढ्दै जाँदा चौखुट्टे बजार पुगियो । पछिल्लो समयमा यो सानो बजार बिस्तारै व्यापारिक केन्द्रका रूपमा विकसित हुँदै छ । यहीँबाट डोटी र अछामको सिमाना छुट्टिन्छ । यस अर्थमा यसलाई सीमाको साझा बजारका रूपमा चिन्दा पनि फरक पर्दैन । चौखुट्टेबाट गाडी बिस्तारै बुढीगंगाको किनार अर्थात् साँफे बजारतर्फ गइरहेको थियो । 

अँध्यारो बिस्तारै बढ्दै थियो । हामी आज मंगलसेन पुग्नैपर्ने थियो । त्यसैले म अब बाटोमा कतै रोकिने सोचमा थिइनँ । तर, त्यो कहाँ सम्भव हुन सक्थ्यो र ? साँफेबगरमा पत्रकार रामबहादुर कुँवरले बाटो रोके र एक कप कफीपछि मात्र अगाडि बढ्न सक्ने जनाउ दिए । कसरी अस्वीकार गर्न सक्नु ? हामीमाथि साथीहरूको अधिकार पनि हो यो । यो प्रेम, यो सद्भाव हाम्रो पनि त गौरव हो । हाम्रो निधि हो । यस्तो अवसर कहाँ सबैले पाउँछन् र ? कुँवरको अनुरोध साँच्चै यति प्रेमिल थियो कि त्यहाँ अडिनुबाहेक अर्को उपाय नै थिएन । कफी खाने क्रममा पत्रकार साथीहरू जनक, गीता र सुशील पनि भेटिए । साँझ छिप्पिइसकेको थियो । अब कैलाश खोलामा अडिन सक्ने सम्भावना थिएन । कैलाश खोलाको माछा साजघाटभन्दा पनि प्रसिद्ध मानिन्छ । स्वाद पनि गजब छ रे ! तर, खै के भन्नु के भन्नु ! आजसम्म कैलाश खोलाको होटेलमा बसेर माछाको स्वाद लिन पाइएको छैन । साथीहरूको सौजन्यमा कैलाश खोलाको भन्दै माछा खाइएको त छ । तर, ठाउँमै बसेर स्वाद लिनुको मजा त बेग्लै पो हुन्छ त । मंगलसेन पुग्दा रातको लगभग साढे आठ बजेको थियो । हामीले राति त्यहीँ आराम गर्‍यौँ । 

विनायक, रामारोशन, कमलबजारजस्ता महत्वपूर्ण स्थान रहेको अछाम राजनीतिक दृष्टिले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । विगतमा नेपाल एकीकरणअघि अत्यन्तै शक्तिशाली राज्यका रूपमा चर्चित अछामको इतिहासबारे मंगलसेनमा रहेको पुरानो दरबारको अवशेष (जुन अहिले पुनः निर्माण भइसकेको छ) ले आज पनि सर्वसाधारणलाई आकर्षित गर्छ । पुराना पत्रकार यज्ञ ढुंगाना हामीलाई मंगलसेनमा पर्खिरहेका थिए । मैले धेरैपछि उनलाई भेटेको थिएँ । यज्ञसँग मेरो बडो आत्मीय साइनो छ । भेटघाट धेरै पनि भएको होइन, तर मनले खाएको एकजना प्रिय भाइ हुन् यज्ञ । उनले एउटा गुण लगाएका छन् । म नेपाल पत्रकार महासंघको अध्यक्ष हुँदै गर्दाको कुरा हो । महासंघका शाखाहरूको निर्वाचन भइरहेको थियो । अध्यक्षका हैसियतले निर्वाचनका लागि मैले रुकुम पठाएको प्रतिनिधिले निर्वाचनभन्दा एक दिनपहिला आफू जान नसक्ने जानकारी गराए । मेरो सामु अब अप्ठ्यारो अवस्था उत्पन्न हुने सम्भावना थियो । यस्तोमा निर्वाचनकै लागि उमिद वागचन्दजी सल्यान गएका थिए र उनीसँगै गएका थिए यज्ञ पनि । मैले उमिदजीसँग छलफल गरेँ र उनकै प्रस्तावमा यज्ञलाई निर्वाचन प्रतिनिधिका रूपमा रुकुम गइदिन आग्रह गरेँ । उनी गए र रुकुममा सफलतापूर्वक काम सम्पन्न गरेर फर्के । त्यो दिनदेखि यज्ञको क्षमताको म प्रशंसक हुँ । हामीले सँगै खाना खायौँ र त्यहीँको एक होटेलमा रात बितायौँ । 

१० जेठ ०७६ । पत्रकारहरूको उपस्थितिमा मंगलसेनमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । हामीले भाग लियौँ । धेरै दिनपछि पत्रकार भाइ वेदप्रकाश तिमिल्सेना (अब उनको प्राथमिकता राजनीति हो)सँग भेट भयो । हक्की र स्पष्टवक्ता वेद पत्रकारितामा राम्रै जमेका व्यक्ति हुन् । अछामका पत्रकारमध्ये मैले सबैभन्दा पहिले चिनेको वेदसँगै खड्ग विष्ट पनि हुन् । विष्टजी अछाममा थिएनन्, भेट भएन । पत्रकारितामा राम्रो सम्भावना देखिएकी मेनुकासँग भेट भयो । यस्तै शिवराजसँग पनि भेटेकोजस्तो लाग्छ । बिहानको समय सदुपयोग गर्दै हामीले एकछिन मंगलसेन दरबारको अवलोकन गर्‍यौँ । मनमोहनजीको पुख्र्यौली थातथलो यही जिल्ला हो । त्यसैले प्रायः यहाँ आइरहने उनका लागि दरबारलगायत अन्य स्थानको अवलोकन प्राथमिकतामा नपर्नु स्वाभाविक हो । तर, मेरा लागि यो अवलोकन महत्वपूर्ण थियो । त्यही साँझ हामी मंगलसेनबाट बाहरिँदै तुर्माखादका लागि प्रस्थान गरेका थियौँ ।

जोखिममा बुढीगंगाको सभ्यता र वैद्यनाथको वास
तुर्माखादबाट फर्किंदा (१२ जेठमा) हामीले साँफेमा रात बितायौँ । बुढीगंगाको किनार (बगर) मा बसेको यो ठाउँ निकै मनमोहक छ । बुढीगंगाले विकसित गरेको साँफे सभ्यता बुढीगंगाकै कारण जोखिममा छ भनेर भनियो भने अतिशयोक्ति हुनेछैन । नदीकटानको समस्याबाट प्रभावित साँफे कहिलेकाहीँ खहरे (छिपे खोला) को कहरमा पनि पर्ने गरेको छ ।

साँफे नेपालमा विभिन्न कारणले चिनिन्छ । एउटा कारण हो, बाबा वैद्यनाथधाम (कतिपयले वैजनाथधाम पनि भन्छन्)को उपस्थिति । बुढीगंगाको किनारमा बाबा वैद्यनाथको प्रसिद्ध मन्दिर छ । मन्दिर कहिले र कसरी स्थापना भयो र भगवान् शिवको पदार्पण यहाँ किन र कसरी भयो भन्ने यकिन त छैन, तर अनेक किंवदन्ती व्याप्त छन् । भारतको झारखण्डमा अवस्थित वैद्यनाथ मन्दिरका देवता यहाँ सहअस्तित्वमा रहेको विश्वास गरिन्छ । किंवदन्ती पनि दुवै मन्दिरसँग एकैखालका प्रचलित छन् । घोर तपस्यापछि रावणले कैलाशबाट लंकाका लागि शिवलाई लिएर हिँडेका थिए र शौचक्रियाका लागि बाटोमा अडिँदा सर्त भंग गरेको भन्दै भगवान् शिवले त्यहाँबाट अगाडि बढ्न अस्वीकार गरेका थिए । जहाँ भगवान् शिवलाई अड्याइएको थियो । त्यहीँ उनी स्थापित भए । त्यही स्थान वैद्यनाथधाम हो । यसै स्थानमा भगवान् शिव र देवी पार्वतीको विवाह भएको किंवदन्ती पनि छ । बुढीगंगा नदीकिनारमा अवस्थित यो स्थान निकै दर्शनीय छ । साँफेमा बस्ने व्यवस्था रामबहादुर कुँवरले गरेका थिए । हामीले त्यहीँ रात बितायौँ । यस यात्रामा भाइ सुशीलले पनि निकै सघाएको सम्झन्छु । 

१३ जेठ बिहान । वैद्यनाथधामको दर्शन गर्ने कार्यक्रम थियो । राम कुवँरजीले सबै चाँजो मिलाएका थिए । हामी निश्चित समयमा त्यतातर्फ प्रस्थान गर्‍यौँ । रामजी पनि हाम्रै गाडीमा थिए । केहीबेरको यात्रापछि मन्दिर पुग्यौँ र बाबाको दर्शन गर्‍यौँ । यहाँ बाबा वैद्यनाथका अतिरिक्त हतियार संग्रहालय र नौमुठे गाईको प्रजाति पनि हेर्न लायक छन् । 

हामी मिथिला भूमिका मानिस । भारत झारखण्डस्थित वैद्यनाथधाम (बाबाधाम) मिथिलाको भूगोलबाट नजिक मानिन्छ । देवघर पनि भनिने यो तीर्थस्थल मिथिलाका प्रत्येक व्यक्तिका लागि एक प्रकारले अनिवार्य गन्तव्यजस्तै छ । विश्वका अन्य स्थानका हिन्दुकोजस्तै मिथिलाका लागि पनि भगवान् शिवको यो धाम महत्वपूर्ण छ । पैदल, रेल र मोटरका माध्यमले बर्सेनि लाखौँ व्यक्तिले यस धामको यात्रा गर्छन् । संयोग नै मान्नुपर्छ, मैले भने यो सामग्री तयार पारुन्जेलसम्म यहाँको यात्रा गरेको छैन । सायद समय जुरिसकेको छैन । ईश्वरलाई सायद मेरा बारेमा अर्कै कुरा स्वीकार्य थियो । मिथिलाबाट नजिक मानिने बाबाधाम जाने अवसर नपाएको मैले मिथिलाबाट निकै टाढा रहेको सुदूरपश्चिमको अछामको भ्रमण गर्ने अवसर पटक–पटक पाएँ । संयोग नै मान्नुपर्छ, यो जिल्ला पनि बाबा वैद्यनाथको भूमि हो । नेपालको चारधाममध्ये एक मानिने बाबा वैद्यनाथधामको जिल्ला अछाम धार्मिक दृष्टिले जति महत्वपूर्ण छ, प्रकृतिका दृष्टिले त्यत्तिकै सुन्दर । बाबाको दर्शन र एकछिनको घुमघामपछि हामी त्यहाँबाट फिर्ती यात्रातर्फ लाग्यौँ । 

अगााडि बढ्दै जाँदा मन्दिर पछाडि छुटिरहेको थियो । मन्दिर अगाडिको चौरपारि बुढीगंगा र बुढीगंगाले निरन्तर कटान गरिरहेको साँफेको भूमि । बुढीगंगाको किनारमा लोभलाग्दो फाँट । तर, यो फाँट कति दिनसम्म यही रूपमा रहन्छ ? नदीले गरिरहेको कटानलाई ध्यानमा राख्दा यसै भन्न सकिने अवस्था छैन । अघिदेखि यो दृश्य एकतमासले हेरिरहेका मनमोहनजीले बाबालाई गुहार्दै गरेको मैले सुनेँ– हे, वैद्यनाथ ! सबैको भलो गर्‍या...। 

म भने अब मनमोहनजीको मुख हेरिरहेको थिएँ । गाडी अगाडि बढिरहेको थियो ।

छुटाउनुभयो की ?