
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ भने कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
त्यस्तै, आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने देशको पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने महाशाखाकाले जनाएको छ ।
त्यस्तै, कोशी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्यांगसहित हल्का वर्षाको सम्भावना रहेको छ।