मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २५ सोमबार
  • Monday, 07 April, 2025
२o८१ चैत २५ सोमबार o८:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गण्डकीका सभामुख धितालको निजी सचिवालयमा श्रीमती र ज्वाइँलाई नियुक्ति

काठमाडौं बस्ने ज्वाइँलाई पाँचौँ तह र श्रीमतीलाई कार्यालय सहयोगीको सेवा–सुविधा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २५ सोमबार o८:४३:oo

गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले आफ्नो निजी सचिवालयमा श्रीमती र छोरीज्वाइँलाई नियुक्त गरेका छन् । धितालले कान्छी छोरीका श्रीमान् गोरखाका प्रदीप शाहलाई स्वकीय सचिव र श्रीमती लक्ष्मीदेवी धिताललाई कार्यालय सहयोगी प्रथम तहको सेवा–सुविधा लिने गरी निजी सचिवालयमा नियुक्त गरेका हुन् । शाह काठमाडौं बस्दै आएका छन् ।

पाँचौँ तहको मासिक सुविधा ३४ हजार ७३० र प्रथम तहको २४ हजार ७०२ रुपैयाँ पाउने व्यवस्था छ । ४ मंसिर ०७९ मा सम्पन्न निर्वाचनमा माओवादीका उम्मेदवार धिताल गोरखा १ (१) बाट निर्वाचित भएका थिए । उनी ३० पुस ०७९ मा सभामुखमा नियुक्त भएका थिए । 

कानुनअनुसार सभामुखको निजी सचिवालयमा अधिकृत स्तरका एकजना स्वकीय सचिव र एकजना सञ्चारविज्ञ गरी दुई, पाँचौँ तहको स्वकीय सचिव एक, प्रथम तहको एक सवारीचालक र एक कार्यालय सहयोगी गरी दुईसँगै पाँचजना नियुक्त गर्न पाउने व्यवस्था छ । तर, सभामुख धितालले सचिवालयमा आवश्यक योग्यताअनुसार कर्मचारी राख्नसमेत सकेका छैनन् । जसकारण दुवै स्वकीय सचिवले पाँचौँ तहको सेवा–सुविधा प्रदेश सभाबाट लिने गरेका छन् ।

सभामुख धितालले काठमाडौंमा समेत काम परिरहने भएकाले ज्वाइँलाई सचिवालयमा नियुक्त गरिएको बताए । निवासमा भात पकाउन श्रीमतीलाई राख्दा सजिलो हुने भएकाले कार्यालय सहयोगीका रूपमा नियुक्त गरेको बताए । उनले ‘भात पकाउने मान्छे हो, आफ्नै श्रीमती राख्दा के फरक पर्छ र’ भन्दै प्रतिप्रश्न गरे । प्रदेश सभाका सचिव हरिराज पोखरेलले निजी सचिवालयमा कसलाई राख्ने–नराख्ने भन्ने सभामुखको अधिकारको विषय भएको बताए । निजी सचिवालयमा काम गर्ने कर्मचारी कसैले पनि हाजिर गर्ने चलन नरहेको उनको भनाइ छ ।