
प्रधानमन्त्री केपी ओलीले त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति प्राडा केशरजंग बरालले काम गर्न नसकेर राजीनामा दिएको आरोप लगाएका छन् । एमालेले शुक्रबार बुटवलमा गरेको प्रदेशस्तरीय जनजागरण सभालाई सम्बोधन गर्दै उनले उपकुलपतिको राजीनामा प्रकरणको पनि चर्चा गर्ने क्रममा सो आरोप लगाएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘एउटा उपकुलपतिले काम गर्न सकेनछन्, राजीनामा फ्याँकेछन् ।’ प्रधानमन्त्री ओलीले बरालको राजीनामा स्वीकृतमा ढिलाइ हुनुको कारणमा आफूसँग राजीनामा पत्र आउन ढिलाइ भएको तर्कसमेत राखे ।
‘राजीनामा कति दिनपछि मकहाँ आइपुग्यो, राजीनामा स्वीकृत गर्दैन भन्छन् पत्रपत्रिकाहरूले, राजीनामा छँदै छैन त कहाँबाट स्वीकृत गर्ने ?’ प्रधानमन्त्री ओलीले भने, ‘न भेटेको छ, न राजीनामा गर्छु भनेको छ, न यस्तो समस्या भो भनेको छ, राजीनामा कोहीमार्फत पठाएको थियो अरे, त्यो पुग्न पाएको छैन, अखबारबाजी भयो, आएपछि राजीनामा स्वीकृत गर्दिएँ, भेरिफाई गरेर । राजीनामा स्वीकृत पछि फेरि द्वन्द्वको कुरा उठाएको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरे ।
राजीनामा स्वीकृत गरेपछि प्रधानमन्त्री र उपकुलपतिबिच द्वन्द्व, लडाइँ, भिडन्त, लफडाजस्ता कुरा सुरु भएको भन्दै उनले अचम्म व्यक्त गरे । उपकुलपतिले मलाई यस्तो भयो भनेर एक शब्द नभनेको, तर यहाँ हल्ला अनेक हुने गरेको उनले बताए ।
मुलुकमा अफवाह फैलाउने, नक्कली भिडियो बनाउने, नक्कली आवाजहरू राखिने कामहरू भएको भन्दै भ्रम तोड्नुपर्नेमा उनले जोड दिए ।