मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३० शनिबार
  • Saturday, 12 April, 2025
२o८१ चैत ३० शनिबार २o:o४:oo
Read Time : > 1 मिनेट
अर्थ

२०औँ फेवा नव वर्ष महोत्सव सुरु

चार सय होटल तथा रेष्टुरेण्टले सडकमै भान्छा राखेर दिन थाले सेवा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ३० शनिबार २o:o४:oo

पर्यटन, नेपाली कला संस्कृति र खानालाई मुख्य जोड दिएर पोखरामा फेवा नव वर्ष महोत्सव सुरु भएको छ । नयाँ वर्ष ०८२ को पूर्वसन्ध्यामा आयोजना गरिएको २०औं संस्करणको १ वैशाख ०८२ सम्म सञ्चालन हुनेछ ।

अंग्रेजी नयाँ वर्ष जस्तै‌ नेपाली नयाँ वर्षलाई समेत उत्तिकै महत्व दिनेगरी महोत्सव आयोजना भएको हो । नेपाली कला तथा संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उदेश्यसहित होटल संघ पोखरा नेपालले नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, पोखरा महानगरपालिका लगायतले महोत्सव आयोजना गरिएको हो । महोत्सवले प्राकृतिकसँगै मानविय अतिक्रमणमा परेको फेवा तालको संरक्षणमा सहयोग गर्ने विश्वास आयोजकको छ । 

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शनिबार महोत्सवको उद्घाटन गरेका छन् । महोत्सव उद्घाटन पूर्व खहरेचोक र ड्यामसाइड चोकबाट पञ्चे बाजासँगै विभिन्न जातजाति, संघसंस्था, आमा समूहलगायतको झाँकीसहितको र्याली फेवा ताल किनारको अम्मट पुगेको थियो । 

महोत्सवका संयोजक समेत रहेका आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले फेवा ताल किनारको ड्यामसाइड चोकदेखि लेकसाइडको गैराको चौतारासम्मको करिब साढे तीन किलोमिटर क्षेत्रमा हुने तीन दिने महोत्सव अवधिभर त्यस क्षेत्रमा सञ्चालित होटल तथा रेष्टुरेण्टले आफ्ना भान्छा सडकमै राख्ने र त्यहिँबाट पर्यटकलाई सेवा दिने गर्छन् । महोत्सवमा रेष्टुरेन्टसँगै खाना र अन्यका गरी चार सयको हाराहारीमा स्टल सडकमा राखिएका छन् । महोत्सवमा पुग्ने पर्यटकले सडक मै विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय परिकारको स्वादसँगै नेपालका विभिन्न जातिय तथा धार्मिक संस्कृति झल्कने साँस्कृतिक कार्यक्रम, पर्यटकीय स्टलहरूको जानकारी, खेलकुद, लाइभ ब्याण्ड, सडकमै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत हेर्न पाउने सुवेदीले जानकारी दिए ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको महोत्सवमा पचेबाजा, भजन र रत्यौली जस्ता नेपाली मौलिक बाजा र नाचसँगै भक्तपुरको बिस्केट जात्रा विशेष आकर्षणको रुपमा रहेको उनले बताए । कोभिड १९ बाट प्रभावित पर्यटन क्षेत्रलाई लयमा फर्काउन तथा आर्थिक क्षेत्र चलायमान बनाउन महोत्सव सहयोगी हुने अपेक्षा आयोजकको रहेको सुवेदीले जानकारी दिए ।

महोत्सवमा आउने आगन्तुक र पोखरा आउने पाहुनालाई संघअन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत विशेष छुट दिने आयोजक संघका प्रथम उपाध्यक्ष एंव महोत्सवका सहसंयोजक दीपक श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार होटलहरूसँगै अन्य व्यवसायीले समेत महोत्सव अवधिभर छुट दिने जानकारी दिए ।

आन्तरिक एवं वाह्य गरी तीन लाख पर्यटकले महोत्सवको अवलोकन गर्ने अपेक्षा आयोजकको रहेको उनले जानकारी दिए । महोत्सवमार्फत देशविदेशका पर्यटकलाई पोखरा भ्रमणका लागि आकर्षित गर्ने उदेश्यसमेत आयोजकको रहेको श्रेष्ठले जानकारी दिए ।

महोत्सवका सहसंयोजक गणेशराज पहारीका अनुसार संघले आन्तरिक पर्यटक प्रवर्द्धन गर्न दुई दशकदेखि जाउँ है पोखरा... अभियान र भारतीय शहरहरूमा चलिए पोखरा अभियान सञ्चालन गर्दै आएको छ ।

महोत्सवको उद्घाटनपछि प्रमुख आचार्यले पोखरालाई पर्यटनको राजधानी शहर घोषणापछि यस क्षेत्रको पर्यटनमा सकारात्मक सन्देश प्रभाव भएको बताए । पोखरा नेचर, कल्चर एड्भेञ्चर तीनै हिसाबले उत्कृष्ट रहेकाले यस्तो विशिष्टतालाई अनुभव गर्न सकिने गरी काम गर्न पर्यटन व्यवसायीलाई आग्रह गरेका थिए । 

होटल संघ नेपालका अध्यक्ष विनायक शाहले पर्यटनबाट मात्र आर्थिक समृद्धि सम्भव रहेका दाबी गर्दै पोखरामा पर्यटनसम्बन्धी लगानी र ब्राण्डहरू थपिदै गएकोले पर्यटन क्षेत्रको लागि यो सुखद पक्ष रहेको बताएका थिए ।
 

छुटाउनुभयो की ?