मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १३ मंगलबार
  • Tuesday, 25 February, 2025
मासात्जु असाकावा
२o८१ फाल्गुण १३ मंगलबार १o:४१:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

हिन्दुकुश क्षेत्रमा तीव्र गतिमा पग्लिँदै हिमनदी

Read Time : > 2 मिनेट
मासात्जु असाकावा
नयाँ पत्रिका
२o८१ फाल्गुण १३ मंगलबार १o:४१:oo

शताब्दीको अन्त्यसम्म तापमान पूर्वऔद्योगिक स्तरभन्दा तीन डिग्री सेल्सियसले बढ्यो भने हिन्दुकुश क्षेत्रका करिब ७५ प्रतिशत हिमनदी पग्लनेछन्

संयुक्त राष्ट्र संघले सन् २०२५ लाई अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्ष घोषणा गरेको छ । यसले विश्वका हिमताल पग्लँदै गएको कटु यथार्थ सामना गर्न उपयुक्त अवसर प्रदान गरेको छ । जलवायु परिवर्तनले हिमताल पगाल्ने प्रक्रिया थप तीव्र बनाउँदै लगेको छ । विशेषतः आर्कटिक र अन्टार्कटिकाबाहेक सबैभन्दा ठुलो मात्रामा हिउँ सञ्चित रहेको पृथ्वीको तेस्रो ध्रुव भनेर चिनिने हिन्दुकुश हिमालय क्षेत्रमा यो प्रभाव देखिन्छ । यो हिमशृंखला अफगानिस्तानदेखि म्यान्मारसम्म आठ देशमा फैलिएको छ । यसले करिब तीन हजार पाँच सय किलोमिटर क्षेत्र ओगट्छ । यस क्षेत्रमा विश्वको औसतभन्दा करिब तीनगुणा छिटो तापक्रम वृद्धि भइरहेको छ । यो शताब्दीको अन्त्यसम्ममा तापमान पूर्वऔद्योगिक स्तरभन्दा तीन डिग्री सेल्सियसले बढ्यो भने यस क्षेत्रका करिब ७५ प्रतिशत हिमनदी पग्लनेछन् । जसले, पानीको उपलब्धता घटाउने, खाद्य एवं ऊर्जा सुरक्षामा आँच पुर्‍याउने र जैविक विविधताको क्षतिलाई थप तीव्र बनाउनेछ ।

यसरी हिमनदी पग्लिनुले हिन्दुकुश क्षेत्रका समुदाय र स्थानीय अर्थतन्त्रमा अपरिवर्तनीय क्षति पुर्‍याउने खतरा हुन्छ । यसबाहेक यसले विश्वभर अस्थिरता बढाउने सम्भावना पनि राख्छ, अर्थात् आप्रवासन वृद्धि, व्यापारमा अवरोध र खाद्यवस्तुको मूल्यवृद्धि हुने सम्भावना हुन्छ । नेपालको मेलम्ची नदीमा सन् २०२१ मा आएको बाढी विपत्तिले भविष्यमा आउन सक्ने संकटको झलक देखाएको छ । असाधारण रूपमा भारी वर्षा र अत्यधिक हिउँ पग्लिनुका कारण उत्पन्न गेगरान बहावले हजारौँ हेक्टर कृषिभूमि र महत्वपूर्ण भौतिक पूर्वाधार ध्वस्त पारेको थियो, जसका कारण लाखौँ मानिस पानीको पहुँचबाट वञ्चित भएका थिए ।

हिमनदी पग्लिँदै जाँदा पानीको अभाव हुनेछ । यो समस्या सन् २०५० सम्ममा हिन्दुकुश हिमालय क्षेत्रमा गम्भीर रूपमा देखा पर्ने अनुमान गरिएको छ । घट्दो नदी प्रवाहका कारण विश्वको लगभग एकतिहाइ चामल र एकचौथाइ गहुँ उत्पादन गर्ने यस क्षेत्रमा कृषिका लागि सिँचाइ गर्न कठिन हुनेछ । पानी आपूर्ति र सरसफाइ प्रणालीको व्यवस्थापन झनै कठिन बन्नेछ, जसले पहिल्यै आधारभूत सरसफाइ सुविधाबाट वञ्चित भएका यस क्षेत्रका एक अर्ब मानिसलाई थप असर गर्नेछ । खाद्य असुरक्षा सम्भवतः गम्भीर रूपले बढ्नेछ, जबकि समुदाय र केही उद्योगसमेत ताजा पानीको खोजीमा अन्यत्र सर्न बाध्य हुने सम्भावना छ । यसले एसियाका सबैभन्दा गरिब र कमजोर जनसंख्या समूहलाई सबैभन्दा बढी प्रभावित गर्नेछ ।

यस क्षेत्रमा तीव्र रूपमा भइरहेको हिमनदी पग्लिने प्रक्रियाका विनाशकारी प्रभाव रोक्न विश्वले तत्काल कदम चाल्न आवश्यक छ । यसको अर्थ बहुजोखिम मूल्यांकनमा लगानी गरेर हाम्रो ज्ञानलाई विस्तार गर्नु हो, किनभने क्षतिको स्तर मुख्य रूपमा विश्वव्यापी तापमान १.५, १.८, २ वा ३ सेल्सियसले वृद्धि हुनेमा निर्भर रहनेछ । यसबाहेक हामीले समन्वित नदी जलाशय व्यवस्थापनलाई सुदृढ पार्नुपर्छ । यसका लागि तथ्यांक संकलनमा सुधार गर्नु, ज्ञान आदान–प्रदानलाई प्रवद्र्धन गर्नु, पानी व्यवस्थापनलाई प्रभावकारी बनाउनु र माथिल्लो तथा तल्लो तटीय क्षेत्रमा बसोवास गर्ने मानिस र समुदायबिच समन्वय कायम गर्नु अत्यन्त आवश्यक छ । नयाँ र विद्यमान पूर्वाधार जलवायु प्रतिरोधी रहेको सुनिश्चित गर्नु अत्यावश्यक छ, जसले सुरक्षित खानेपानी र ऊर्जा सुरक्षाका साथै सरसफाइ, सिँचाइ र यातायात प्रणालीको स्थायित्व कायम राख्न मद्दत गर्छ । यसैगरी वृक्षरोपण, पुनः वृक्षरोपण, सीमसार संरक्षण र बाढी मैदान पुनस्र्थापना गरेर पारिस्थितिकी तन्त्रको संरक्षण र प्राकृतिक समाधान प्रवद्र्धन गर्नु पनि उत्तिकै आवश्यक छ ।

यस रणनीतिका हरेक पक्षका लागि थप वित्तीय स्रोत आवश्यक छ । विकास संस्थाले हिन्दुकुश हिमालय क्षेत्रमा लगानी विस्तार गर्न निरन्तरता दिनुपर्छ र यो हिमनदीयुक्त क्षेत्र तथा यसको नदी जलाशयलाई विश्वव्यापी सार्वजनिक सम्पत्तिका रूपमा पुनः परिभाषित गर्न आपसमा सहकार्य गर्नुपर्छ । यस सहकार्यमा विशेषतः कृषि र औद्योगिक गतिविधिका महत्वलाई ध्यानमा राख्नुपर्छ । अन्तर्राष्ट्रिय समुदायले सहयोग र कूटनीतिक माध्यमबाट साझा हिमनदी स्रोतको न्यायसंगत उपयोगलाई अघि बढाउनुपर्छ । यसले सम्भावित तनाव कम गर्न, दिगो विकासलाई प्रवद्र्धन गर्न र यस क्षेत्रका हिमनदीलाई द्वन्द्वको सट्टा शान्तिको कारकका रूपमा सुनिश्चित गर्न मद्दत गर्नेछ ।

एसियाली विकास बैंकले यी लक्ष्य हासिल गर्न केही महत्वपूर्ण कदम चालेको छ । ग्रिन क्लाइमेट फन्ड र विभिन्न देशीय साझेदारसँग मिलेर बैंकले हालै ग्लेसियर्स टु फाम्र्स कार्यक्रम सुरु गरेको छ, जसले मध्य र पश्चिम एसियामा कृषि क्षेत्रमा जलवायु सहनशीलता बलियो बनाउन तीन अर्ब ५० करोड डलर परिचालन गर्नेछ । त्यसैगरी हिन्दुकुश हिमालय–भुटान र नेपालमा अनुकूलन र सहनशीलता निर्माण पहलले जलवायु प्रतिरोधी पूर्वाधार र सेवा योजना तथा डिजाइनमा सहयोग पुर्‍याइरहेको छ । यसबाहेक बैंकले इको–क्षतिपूर्ति संयन्त्र, कार्बन बजार र पानी व्यापार तथा दिगोपन–सम्बन्धित ऋणपत्रजस्ता नयाँ वित्तीय साधनको परीक्षण पनि गरिरहेको छ ।

युनेस्को र विश्व मौसम संगठनले गत महिना अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्ष घोषणा गर्दा संगठनका महासचिव सेलेस्टे सौलोले हिमनदी संरक्षणलाई ‘विश्वका लागि एक चेतावनी’का रूपमा लिन आवश्यक भएको बताएका छन् । विश्व समुदायले जलवायु सहनशीलता निर्माणदेखि हरित रुपान्तरणलाई तीव्र बनाउने र क्षेत्रीय सहकार्य प्रवद्र्धन गर्नेजस्ता सबै उपाय अवलम्बन गर्नुपर्छ, ताकि हिमनदी र यीसँग सम्बन्धित पारिस्थितिकी तन्त्रमा निर्भर अर्बौं मानिसका लागि दिगो भविष्य सुनिश्चित गर्न सकियोस् । अहिले कदम नचाल्ने हो भने यसको परिणाम सबैका लागि विनाशकारी हुनेछ ।

(असाकावा एसियाली विकास बैंकका अध्यक्ष हुन्) 
प्रोजेक्ट सिन्डिकेटबाट