मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २२ सोमबार
  • Tuesday, 07 January, 2025
२o८१ पौष २२ सोमबार o८:२७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रतिबन्धका बाबजुद दुई लाख टन गहुँ आयात गर्न भारतको स्वीकृति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २२ सोमबार o८:२७:oo

भारतले दुई वर्षदेखि निर्यात प्रतिबन्धको सूचीमा राखेको गहुँ नेपालका लागि भने खुला गरेको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले शनिबार एक सूचना जारी गर्दै नेपाललाई दुई लाख टन गहुँ आयातको स्वीकृति दिएको हो । ‘राष्ट्रिय सहकारी निर्यात लिमिटेडमार्फत नेपाललाई दुई लाख मेट्रिकटन गहुँ निर्यात गर्न अनुमति दिइएको छ,’ विदेश व्यापार महानिर्देशक सन्तोषकुमार सारंगीद्वारा जारी सूचनामा भनिएको छ ।

भारतका लागि नेपालका राजदूत शंकर शर्माले पनि सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै गहुँ आयातको अनुमित पाएको पुष्टि गरेका छन् । ‘हाम्रो अनुरोधमा भारत सरकारले हामीलाई राष्ट्रिय सहकारी निकासी लिमिटेडमार्फत दुई लाख टन गहुँ आयात गर्न अनुमति दिएको छ,’ शर्माले ट्विटरमा लेखेका छन् ।

भारतले दुई वर्षअघि खाद्य मुद्रास्फीतिको चिन्ता र घरेलु उपभोगलाई प्राथमिकता दिएर गहुँलगायत खाद्यान्न निर्यातमा प्रतिबन्ध लगाएको थियो । गहुँ आयातको प्रमुख बजारबाट निर्यात प्रतिबन्ध हुँदा नेपाली उद्योगलाई ठुलो असर परेपछि कोटामा उपलब्ध गराइदिन नेपाली पक्षले बारम्बार आग्रह गर्दै आएको थियो । त्यसपछि भारतले गहुँको निर्यात प्रतिबन्ध यथावत् रहेको जनाउँदै नेपालका लागि मात्रै दुई लाख टन आयातको स्वीकृत दिएको हो ।

भारतले राष्ट्रिय खाद्य सुरक्षा योजना पूरा गर्नका लागि किसानबाट ठूलो मात्रामा गहुँ खरिद गरेर राखेको छ । राष्ट्रिय भण्डारणमा रहेको परिमाणमध्येबाट नेपाललाई आयातको स्वीकृति दिएको हो । भारत विश्वको दोस्रो ठुलो गहुँ उत्पादन गर्ने देश हो । तर, सन् २०२० देखि मौसमी प्रतिकूलताका कारण उत्पादनमा निरन्तर असर परेपछि सन् २०२२ देखि गहुँ निर्यातमा प्रतिबन्ध लगाइएको थियो । भारतले सेतो चामल र प्याज निर्यातमा पनि प्रतिबन्ध कायम राखेको छ ।

न्यून विन्दुमा पुगेको राष्ट्रिय खाद्य भण्डार पूर्ति गर्न भारतले खाद्यान्न निर्यातमा कठोर नीति लिएको हो । मौज्दात पर्याप्त भएपछि मात्रै गहुँलगायत खाद्यान्नको निर्यात खुला गर्ने विषयमा बहस थाल्ने भारतले यसअघि नै जानकारी दिइसकेको छ । नेपालको उत्पादनले धान्न नसक्दा भारतलगायतका देशबाट बर्सेनि आयात गर्नुपर्ने बाध्यता छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार मुलुकभर वार्षिक २० लाख टन गहुँ उत्पादन हुने गरेको छ । तर, ठुलो परिमाण किसान आफैँले उपभोग गर्ने भएकाले व्यावसायिक प्रयोजनका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था छ ।