बागमती प्रदेश सरकारले प्रदेश खेलकुद विकास परिषद्को चार सदस्यको सपथ ४५ दिनदेखि रोकेको छ । १० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेका चार सदस्यले ४५ दिन बितिसक्दा पनि शपथग्रहण गर्न पाएका छैनन् ।
मन्त्रिपरिषद बैठकले २ महिलासहित चारजनालाई परिषद्को सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो । बैठकको निर्णयअनुसार परिषद् सदस्यमा ललितपुरका रवि महर्जन, मकवानपुरका संगीत श्रेष्ठ, चितवनकी नविना खनियाँ र रामेछापकी कल्पना खड्कालाई नियुक्त गरिएको थियो ।
कानुनी अड्चनको समाधानका बिच सामाजिक विकास मन्त्रालयको सिफारिस तथा युवा तथा खेलकुद मन्त्रालयको सहमतिमा गरिएको उक्त नियुक्तिमा समस्या देखिएको हो । राजनीतिक भागबण्डाअनुसार सहमतिमा गरिएको नियुक्तिमा आफ्नो मान्छे नपरेको भन्दै शपथग्रहण ‘होल्ड’ भएको सामाजिक विकास मन्त्रालयका एक कर्मचारीले बताए ।
सत्तासाझेदार दल एमालेबाट दुई र कांग्रेसबाट दुईजनालाई मन्त्रिपरिषद्को बैठकबाट नियुक्त गरिएको थियो । ती कर्मचारीका अनुसार नियुक्त गरिएकामध्ये दुई सदस्यको विषयमा सामाजिक विकासमन्त्रीले समस्या देखाएकी थिइन् । युवा तथा खेलकुदमन्त्रीले कांग्रेसबाट सदस्य छनोट गरी पठाएका थिए । सो विषयमा सामाजिक विकासमन्त्रीले समस्या देखाएर व्यक्ति परिवर्तन गर्न भनेको तर मन्त्रिपरिषद्बाट युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले सिफारिस गरेअनुसार नै सदस्य नियुक्त गरेको ती कर्मचारीको भनाइ छ ।
मन्त्री महर्जनले कांग्रेसबाट रवि महर्जन र कल्पना खड्कालाई सदस्यमा सिफारिस गरेका थिए । रवि मन्त्री महर्जनको विश्वास पात्र हुन भने खड्का कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँनिकट हुन् । खड्का कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिको सदस्य समेत हुन् । दुवै सदस्य फरक समूहबाट ल्याएको र आफ्नो मान्छे नसमेटेको भन्दै सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी रुष्ट बनेकी थिइन् ।
मन्त्रिपरिषद्बाट आफुले भनेअनुसार नभएको भन्दै सामाजिक विकास मन्त्रीले उक्त विषयमा ध्यान नदिएको उनको दावी छ । मन्त्रीले समय नदिँदा ४५ दिनसम्म नियुक्त भएका सदस्यको सपथ होल्ड गरिएको उनको भनाइ छ ।
केही समयअघि मन्त्री खड्गीले आफ्नै श्रीमान प्रकाश खड्गीलाई प्रादेशीक अस्पलताको अध्यक्ष पदमा नियुक्त गराएकी थिइन् । उनले स्वास्थ्य मन्त्रालयमार्फत् काठमाडौंको टोखा चण्डेश्वरी अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेकी थिइन् । सोपश्चात प्रदेश सरकार तथा मन्त्रिपरिषदमा मन्त्री खड्गीको आलोचना हुँदै आएको छ ।
समय व्यवस्थापन नहुँदा ढिला भएको होः मन्त्री खड्गी
मन्त्री खड्गीले भने नियुक्त भएका सदस्यहरुको सपथ ग्रहण समय अभावका कारणले ढिलो भएको बताएकी छिन् । मन्त्रालयको विभिन्न कार्यक्रमका लागि जिल्ला बाहिर जानुपर्ने भएकाले सपथ ग्रहण ढिलो भएको उनको भनाइ छ । क्याविनेटबाट नियुक्त गरिएका चार र मन्त्रालयबाट पनि ६ जना सदस्य नियुक्त गर्नुपर्ने भएकाले केही समय लागेको उनले जानकारी दिइन् ।
अन्य ६ जनाको नियुक्तिपछि एकैपटक शपथग्रहण गराउने गरी तयारी रहेको उनले बताइन् । ६ सदस्यको नियुक्ति औपचारिक रुपमा सकिएको र छिट्टै नै प्रशासनिक काम सकेर सदस्यहरुको सपथ गराउने उनको भनाइ छ । यता प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाका अनुसार केही दिनमा नै नियुक्त सदस्यहरुको शपथग्रहण हुनेछ । मन्त्रालयमा सम्पूर्ण प्रक्रिया पुरा गरी प्रस्ताव पेश गरिएको र निर्णय भएलगत्तै शपथ हुने उनले बताए ।