सिराहा प्रहरीले जिल्लाको तीन टाउँबाट मंगलबार एकैदिन प्रतिबन्धित लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार सखुवानन्कारकट्टी गाउँपालिका–३, परिहारपुरबाट लहान नगरपालिका बेतहा टोलका २५ वर्षीय श्रवणकुमार गुप्ता, सोही गाउँपालिकाको महेशबारी चोकबाट लहानतर्फ आउँदै गरेको यात्रुबाहक बसमा यात्रा गरिरहेका लहान–५ बबलुवा टोलका २३ वर्षीय रोहित सदायलाई पक्राउ गरिएको हो । प्रहरीले गुप्ताको साथबाट विभिन्न नामका १५ एम्पुुल र सदायको साथबाट २५ एम्पुल प्रतिबन्धित लागुऔषध बरामद भएको जनाएको छ ।
यस्तै, लहान–१३ पक्की टोलस्थित अस्थायी प्रहरी चौकीको प्रहरी टोलीले धनगढीमाई नगरपालिका–१४ सर्रेबाट तीनवटा प्लास्टिकको पोकामा प्याक गरी नाम्लो हालेर पिठ्युँमा बोकी गाँजा ल्याउँदै गरेको अवस्थामा एक पैदलयात्रुसहित चारजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उदयपुरको कटारी नगरपालिका–८ आहाले गाउँका करिब २६ वर्षीय मधुलाल थापा, २७ वर्षीय निरबहादुर गुरुङ, २१ वर्षीय नवीन रानामगर र सिराहाको धनगढीमाई १४ गागन टोलका ४४ वर्षीय शेरबहादुर मगरलाई प्लास्टिकको बोरासहित ५९ किलो नौ सय ६० ग्राम गाँजासहित पक्राउ गरिएको हो ।
पक्राउ गरिएका ६ जनालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।