नेपाल विद्युत् प्राधिकरणले काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका– ८, माण्डु माल्टाबेँसी र इन्द्रसरोवर गाउँपालिका– ३, सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि वैकल्पिक व्यवस्थामार्फत विद्युत् आपूर्ति गर्ने भएको छ ।
विद्युत् अभावमा फास्ट ट्रयाकको निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी जतिसक्दो छिटो विद्युत् आपूर्ति गर्न काम अगाडि बढाइसकेको छ । उक्त क्षेत्रका वासिन्दाको विद्युत् आपूर्तिमा भने कुनै समस्या छैन ।
फास्ट ट्रयाकको माण्डु माल्टाबेँसी र सिस्नेरी कोगटे क्षेत्रमा पुल, ग्यालरी सुरुङ, सुरुङलगायतका संरचना निर्माण गर्न प्राधिकरणले वैकल्पिक व्यवस्था गरी आपूर्ति दिन लागेको छ । फास्ट ट्रयाकलाई उक्त क्षेत्रमा करिब १२ मेगावाट विद्युत् आवश्यक पर्नेछ । त्यस क्षेत्रमा चार प्याकेजमा निर्माण भइरहेको छ ।
विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्थाअन्तर्गत कुलेखानी पहिलो जलविद्युत् केन्द्र ढोर्सिङबाट माण्डुसम्मको पहिले चालू रहेको ६६ केभी लाइनलाई ११ केभीमा सञ्चालनमा ल्याइने छ । काठमाडौंमा जगेडामा रहेको २२.५ एमभिएको पावर ट्रान्सफर्मरलाई ढोर्सिङ सबस्टेसनमा लगेर जडान गरी फास्ट ट्रयाकका लागि आवश्यक विद्युत् आपूर्ति दिइनेछ ।
ढोर्सिङ सबस्टेसनमा स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि हाल पाँच एमभिए क्षमताको पावर ट्रान्सफर्मर पूर्णभारमा चालू रहेकाले थप विद्युत् प्रवाह गर्न ठुलो क्षमताको ट्रान्सफर्मर थप्न लागिएको हो ।गत असोजको बाढीपहिरोले माण्डु हाइड्रोपावरले सञ्चालन गरेको २२ मेगावाटको बागमती खोला साना जलविद्युत्को विद्युत्गृहलगायतका संरचनामा ठुलो क्षति पुर्याई उत्पादन बन्द भएपछि फास्ट ट्रयाकअन्तर्गत उक्त खण्डमा विद्युत् आपूर्ति हुन सकिरहेको छैन ।
आयोजनाबाट उत्पादित विद्युत् ६६ केभी प्रसारणलाइनमार्फत ढोर्सिङ र ३३ केभी लाइनमार्फत ललितपुरको माल्टा सबस्टेसनतर्फ प्रवाह गरिएको थियो । माल्टा सबस्टेसनबाट ११ केभि लाइनमार्फत फास्ट ट्रयाकलाई आपूर्ति दिइएको थियो । माल्टा सबस्टेसनमा ललितपुरमै सञ्चालनमा रहेको अर्को दुई मेगावाटको खानीखोला जलविद्युत् आयोजना पनि जोडिएको थियो ।
तर, बाढीपहिरोले खानी खोलामा पनि क्षतिपुगेपछि माल्टा सबस्टेसन विद्युत् स्रोतविहीन बनेको थियो । जसका कारण फास्ट ट्रयाकको विद्युत् आपूर्ति बन्द भएको थियो ।
विद्युत् आपूर्ति नहुँदा फास्ट ट्रयाक निर्माणमा समस्या भएको नेपाली सेनाले जानकारी गराएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाललगायत सम्मिलित उच्चस्तरीय टोलीले सोमबार माण्डु माल्टाबेँसी क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो ।
टोलीले पुनर्निर्माण भइरहेको बागमती खोला साना जलविद्युत् आयोजना र ढोर्सिङ सबस्टेसनको भ्रमण गरी तत्काल विद्युत् आपूर्ति गर्न सकिने विभिन्न विकल्पकमा सम्बन्धित पदाधिकारीसँग छलफल गरेको थियो । आयोजनाको पुनर्निर्माण आगामी चैतभित्र सक्ने गरी काम भइरहेको छ । उक्त आयोजना सञ्चालन आएपछि पुरानै व्यवस्थाअनुसार विद्युत् आपूर्ति दिइनेछ । कार्यकारी निर्देशक घिसिङले आयोजना सञ्चालनमा नआएसम्मका लागि ढोर्सिङ सबस्टेसनमा पावर ट्रान्सफर्मर थप्ने र ढोर्सिङ–माण्डु लाइनलाई ११ केभीमा चार्ज गरी फास्ट ट्रयाकलाई विद्युत् आपूर्ति दिनु तत्कालका लागि उपयुक्त विकल्प भएको बताए ।