ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजाल अन्तर्राष्ट्रिय ज्योतिष शिरोमणिबाट सम्मानित भएका छन् । दक्षिण एसियाली ज्योतिष महासंघ र विक्रम विश्वविद्यालय उज्जैन भारतको संयुक्त आयोजनामा भएको चौथो अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलनमा उनलाई ज्योतिष शिरोमणिबाट विशेष सम्मान गरिएको हो ।
सम्मानित हुनेमा आचार्य लक्ष्मण पन्थी, डा. देवीप्रसाद खनाल, आशिष सिम्खडा, कान्छो ज्योतिषका रूपमा चर्चित चूडामणि पाण्डे, नीलकण्ठ आचार्यलगायत अन्य नेपालबाट प्रतिनिधित्व गर्ने ज्योतिष तथा वास्तुविद्हरूलाई पनि विशेष सम्मान गरिएको छ ।
मध्यप्रदेशका मुख्यमन्त्री डा. मोहन यादव तथा विक्रम विश्वविद्यालयका कुलपति र दक्षिण एसियाली ज्योतिष महासंघ नेपालका अध्यक्ष आचार्य लक्ष्मण पन्थीलगायत विशिष्ट व्यक्तिहरूको उपस्थितिमा सम्मेलनको उद्घाटन गरिएको थियो ।
सम्मेलनमा ज्योतिष तन्त्र एवं वास्तुसम्बन्धी विशेष चर्चा एवं कार्यपत्र प्रस्तुत गरिएको थियो । नेपालबाट प्रतिनिधित्व गर्ने ज्योतिषीहरूको मुख्य उद्देश्य नेपालबाट प्रकाशन हुने पञ्चांग भारतमा पनि लागू गर्नुपर्ने विषयमा विशेष छलफल भएको रिजालले जानकारी दिए ।
ज्योतिषमा गणना हुने (काल गणना) समय गणना नै उज्जैनबाट भएको प्राचीन ज्योतिषीय ग्रन्थहरूमा उल्लेख गरिएको छ । कर्कट रेखाको प्रारम्भ नै महाकालेश्वर उज्जैनबाट भएको प्रमाण नै उज्जैनमा विक्रम विश्वविद्यालय हो ।
ज्योतिष शिरोमणिबाट सम्मानित भएका ज्योतिष रिजाल कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिष भनेर चर्चित रहेका छन् । उनले नयाँ पत्रिकामा साप्ताहिक राशिफलसमेत लेख्ने गर्छन् ।