मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ८ सोमबार
  • Monday, 23 December, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ पौष ८ सोमबार १४:१७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नक्कली बिहे प्रकरण : बेहुला मालीका नक्कली बाबु ऐर पनि पक्राउ 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ पौष ८ सोमबार १४:१७:oo

कञ्चनपुरमा भएको एक नक्कली बिहे प्रकरणमा बेहुलाका नक्कली बाबु पनि पक्राउ परेका छन्। भागेश्वर गाउँपालिका– ४ डडेल्धुराका ३२ वर्षीय विष्णुप्रसाद मालीले गरेको नक्कली विवाहका नक्कली बाबु पक्राउ परेका हुन् । मालीको नक्कली बाबु अमरगढी नगरपालिका– ३ डडेल्धुराका ४२ वर्षीया  वीरबहादुर ऐर पक्राउ परेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले मालीको नक्कली विवाह गराउनमा बाबु बनेर खडा भएका ऐरलाई गत शनिबार पक्राउ गरिएको बताए । ‘शनिबार डडेल्धुरा घरबाटै पक्राउ परेका ऐरलाई कञ्चनपुर झिकाइसकेका छौँ,’ प्रवक्ता जोशीले भने, ‘ऐरले मग्नीका वेला फोनमा समेत आफ्नो छोरा भएको र विवाहमा समेत आएका थिए ।’ 
आफूलाई अमेरिकाको पिआरवाला बताएर दोस्रो विवाह गर्ने डडेल्धुराका माली अहिले आफैँ फन्दामा परेका छन् ।

सामाजिक सञ्जालमार्फत कञ्चनपुरकी युवतीसँग प्रेम गरेका भागेश्वर गाउँपालिका– ४ डडेल्धुराका ३२ वर्षीय विष्णुप्रसाद माली फन्दामा परेका हुन् । मालीले बेदकोट नगरकी एक ३० वर्षीया युवतीसँग फेसबुकमार्फत प्रेम गरेर युवतीको घरसम्मै पुगेर दोस्रो विवाह गरेका माली अहिले प्रहरी हिरासतमा पुगेका छन् । आफू अमेरिकाको पिआरसहित इन्जिनियर पनि भएको बताएर नक्कली बाबु खडा गरेर महेन्द्रनगरको होटेल चेतनमा तामझामका साथ विवाह गरेको दोस्रो दिनमै नक्कली विवाह गरेको रहस्य खुलेको थियो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता उमेशराज जोशीले २३ मंसिरमा विवाह गरेका मालीलाई २५ मंसिरमा डडेल्धुरा जाने क्रममै बुडरबाटै पक्राउ गरिएको बताए । 
‘मालीले झुक्याएर विवाह गरेको माइती पक्षले थाहा पाएर उनीहरू आफैँले बुडरबाट नियन्त्रणमा लिएर हामीलाई बुझाएका हुन्,’ प्रवक्ता जोशीले भने, ‘मालीविरुद्धमा बहुविवाहअन्तर्गत मुद्दा दायर गरिएको छ ।’ मालीले आफ्नो विवाहका लागि नक्कली बाबु खडा गरेका व्यक्तिलाई पनि प्रहरीले खोजबिन गरिरहेको प्रवक्ता जोशीले बताए ।

सहचालक रहेका मालीले आफू इन्जिनियर भई अमेरिकन पिआरवाला भएको भन्दै केही महिनादेखि सामाजिक सञ्जाल फेसबुकमार्फत युवतीसँग प्रेम सम्बन्धलाई नक्कली बाबु खडा गरेर विवाह गरेपछि सबै अचम्मित भएका छन् । बिदामा आएकाले विवाह गरलगत्तै उतै अमेरिका लैजाने भन्दै हतारहतारमा विवाह गरेका थिए । डडेल्धुराका मालीले कञ्चनपुरमा दोस्रो विवाह गरेको भिडियो फोटो सामाजिक सञ्जाल फेसबुक, टिकटकमा बधाईमा लागि राखेपछि मालीकै श्रीमतीले थाहा पाएपछि उनले दोस्रो विवाह मात्रै नभई नक्कली, छलेर विवाह गरेको माइती पक्षले थाहा पाएका थिए ।

माइती पक्षले छोरीको विवाह नक्कली भएको थाहा पाएपछि कानुनी प्रक्रियामा गएको पाइन्छ । मालीविरुद्धमा बहुविवाहअन्तर्गत मुद्दा दायर गरिएको छ । धामीलाई आफ्नो सालो बताउने बेदकोट नगर– २ का जनक धामीलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धामीमाथि पनि अनुसन्धान अघि बढाएको छ । तर, धामीका घरपरिवारले भने धामीको पनि माइती पक्ष माली भएकाले आफ्ना पनि माइती माली भएको बताएकै आधारमा पक्राउ गरेको बताइरहेका छन् ।

यसरी अमेरिकी मोह देखाएर विवाह गर्दा ह्वातै छोरी दिइहाल्ने उत्साहले युवतीको घरमा संकट उत्पन्न गराएको छ । यसरी कुनै उमेर पुगेका पुरुष विवाहका लागि युवतीको घरमा हात माग्न आउनेबित्तिकै अमेरिन पिआरवाला भन्दै लोभ्याएर नबुझेरै हात दिने नेपाली समाजको विदेशमोह प्रवृत्तिले आफैँलाई समस्यामा पार्दै आएका थुप्रै घटना भएकाले सामाजिक वैवाहिक बन्धनका लागि सुझबुझ आवश्यक रहेको समाजका अगुवाहरूको सुझाव छ । स्वदेशमै गरिखाने केटालाई छोरी दिने संस्कार विकास गराउनुपर्ने नागरिक समाजको भनाइ छ ।