गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको मानसिक स्वास्थ्य विभागबिच मानसिक स्वास्थ्य अध्यायन-अनुसन्धानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार बिहान गृह मन्त्रालयका विपत् महाशाखा प्रमुख डा. टोकराज पाण्डे र विश्वविद्यालयका मानसिक स्वास्थ्य विभाग प्रमुख डा. दीपक कुँवरले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
गृहमन्त्री रमेश लेखकले अब गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको प्रयासमा आत्महत्याको घटनालाई नियन्त्रण र न्यूनीकरणमा काम हुने बताए। गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको प्रयासमा एक वर्षमा आत्महत्याको घटना ठुलो संख्यामा घट्ने गृहमन्त्री लेखकले विश्वास व्यक्त गरे ।
‘आत्महत्याको विषय गम्भीर भएको छ । प्रत्येक दिनको रेकर्ड हेर्दा म आत्तिन्छु, डराउँछु । पछिल्लो २४ घण्टामा मात्र ३७ जनाले आत्महत्या प्रयास गरेका छन् । जसमध्ये ११ जनाको मृत्यु भएको छ । बचेका २६ जनाले जुनसुकै वेला पनि आत्महत्या गर्ने खतरा हुन्छ,’ लेखकले भने । आत्महत्याको कारण, कारक र निदानको उपायको खोजीका लागि काठमाडौं विश्वविद्यालयले अध्यायन र अनुसन्धान गर्ने उनको भनाइ छ ।
‘नेपाल प्रहरीले पनि आत्महत्या न्यूनीकरण कार्ययोजना २०८१ जारी गरेको छ । आत्महत्या न्यूनीकरण गर्ने कुरामा हामीले काम राखेकै छौँ । तर, यत्तिले पुगेन । थप अगाडि बढ्नुपर्याे । त्यसका लागि काठमाडौं विश्वविद्यालयसँग मिलेर काम गर्दा उपलब्धि प्राप्त गर्छौँ,’ मन्त्री लेखकले भने ।
आत्महत्या गर्ने सम्भावना भएका मानिस र आत्महत्या प्रयास गरेका मान्छेको पहिचान गरेर प्रहरीले मानसिक स्वास्थ्य विभागलाई जानकारी गराउने समझदारीपत्रमा उल्लेख छ ।
गृहमन्त्री लेखकका अनुसार मानसिक स्वास्थ्य विभागले टेलिमेडिसिनमार्फत त्यस्ता मान्छेलाई मनोपरामर्श दिनेछ । आत्महत्या नियन्त्रण र न्यूनीकरणसम्बन्धी मानसिक स्वास्थ्य विभागले नेपाल प्रहरीलाई पनि आधारभूत तालिम दिने गृहमन्त्री लेखकले बताए ।
केही समयपछि आत्महत्यासम्बन्धी एउटा एप विकास गरेर सबै कुरालाई एपमा जोड्ने योजना रहेको पनि उनको भनाइ छ । आत्महत्या न्यूनीकरणबारे तीन महिनामा आवधिक मल्यांकन गर्न गृहमन्त्री लेखकले निर्देशन दिए ।
यस्तै मानसिक स्वास्थ्य विभागका प्रमुख कुँवरले गृह मन्त्रालयसँग भएको सम्झौताले आत्महत्या न्यूनीकरणका लागि काठमाडौंबाहिर पनि काम गर्ने अवस्था बनेको बताए । ‘टेलिमेडिसियनमार्फत दूरदराजसम्म पनि पुग्न सकिन्छ । गृह मन्त्रालयसँग मिलेर काम गर्दा राम्रो परिणाम दिन सकिन्छ,’ उनले भने ।