स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३.५ मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाबाट औपचारिक रूपमा विद्युत् उत्पादन सुरु भएको छ।
सिरिजंघा गाउँपालिका– ८ याम्फुदिनस्थित आयोजनाको उत्पादन पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको नेपाल विद्युत् प्राधिकरणको १३२ केभिए क्षमताको अमरपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ।
आयोजनाको उत्पादन परीक्षण एक सातासम्म सञ्चालन गरी सफल भएपछि विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिएको आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुंगानाले जानकारी दिए। याम्फुदिनस्थित विद्युतगृहबाट ३१ किलोमिटर दूरीमा रहेको अमरपुर सबस्टेसनसम्मको विद्युत् प्रसारण प्रणाली निर्माण सम्पन्न गरिएको छ।
२०७९ मंसिर अन्तिम सातादेखि सुरु भएको आयोजनाको निर्माण रु. दुई अर्ब ६३ करोड २९ लाख लागतमा छोटो अवधिमै सम्पन्न भएको हो। सुपर काबेली ‘ए’ आयोजनाको निर्माण सम्पन्न भएसँगै ताप्लेजुङमा उत्पादन भइरहेको जलविद्युत् आयोजनाको संख्या आठ पुगेको छ।
ताप्लेजुङमा हालसम्मका सबैभन्दा ठुला आयोजनामध्ये ७३ मेगावाट क्षमताको मध्यतमोर जलविद्युत् आयोजना प्रमुख हो। त्यसलाई सानिमा हाइड्रो कम्पनीले निर्माण गरेको हो। त्यस्तै, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीद्वारा सञ्चालित २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ र १० मेगावाट क्षमताको काबेली ‘बी–१’ क्यासकेट आयोजना पनि यस क्षेत्रका महत्त्वपूर्ण आयोजना हुन्।
इवाखोला जलविद्युत् आयोजनामा ९.९ मेगावाट र माथिल्लो इवाखोला आयोजनामा ९.७ मेगावाट क्षमताको विद्युत् उत्पादन भइरहेको छ। यी आयोजना ताप्लेजुङ र पाँचथरको सिमानामा बग्ने इन्द्रावती खोलाबाट सञ्चालित छन्। पाथीभरा याङ्वरक गाउँपालिकास्थित फावाखोलामा युनिटेक हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित ५.८ मेगावाट र सिवानी हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित पाँच मेगावाट क्षमताका आयोजनाबाट विद्युत् उत्पादन हुँदै आएको छ।
ताप्लेजुङमा हाल डेढ दर्जनभन्दा बढी जलविद्युत् आयोजना निर्माणाधीन छन्। यी आयोजना सम्पन्न भएपछि जिल्लामा विद्युत् उत्पादन थप विस्तार हुने अपेक्षा गरिएको छ।