धरानका मेयर हर्क साम्पाङले आफ्नो विरोधमा समाचार लेख्ने पत्रकारलाई फेसबुकमार्फत् धम्की दिएपछि धरानका सञ्चारकर्मीहरूले विरोध एवं आपत्ति जनाएका छन् ।
मेयर साम्पाङले आफ्नो बारेमा समाचार लेख्ने पत्रकारलाई भोलिको पत्रकार सम्मेलनमा आउनु भन्दै उर्दी जारी गरेका छन् । पत्रकार सम्मेलनमा नआए बेइज्जती गर्ने जनाएका छन् । उनले भनेका छन् ‘भोलि १० बजेको पत्रकार भेटमा मलाई आरोप लाउने खोज पत्रकारिता गर्ने पत्रकार पनि आउनु होला । पत्रकार सम्मेलनमा नाआए शीर ठाडो पारेर नेपालमा हिड्न नसक्ने गरी बेइज्ज्जत गर्नेछु ।’
केही दिनआघि पत्रकार गोपाल दाहालले खोज पत्रकारिता केन्द्रका लागि धरानका मेयर हर्क साम्पाङको मनमौजी शासन शैलीका विषयमा समाचार लेखेका थिए । साम्पाङले दाहालको नामै तोकेर धम्की दिएका छन् । उनले नेपाल पत्रकार महासंंघ सुनसरीका अध्यक्ष जनकऋषि राईलाई पनि नामै तोकेर धम्की दिएका छन् । उनले लेखेका छन्, ‘जनक ऋषि भन्ने पनि आउनु । निक्कै फुरफुर गरिस् तिमेहरूले ऐना हेर्दा थुक्ने बनाइनछु भने मेरो नाम हर्क साम्पाङ होइन ।’
उनको स्टाटस आएलगत्तै धरानका सञ्चारकर्मी तथा राजनीतिज्ञहरूले फेसबुकमार्फत् मेयर सम्पाङकाे विरोध जनाएका छन् ।