मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १९ बुधबार
  • Thursday, 05 December, 2024
२o८१ मङ्सिर १९ बुधबार २२:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

चितवनमा रवि लामिछानेको बयान सकियो, बिहीबार पोखरा लगिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर १९ बुधबार २२:२३:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चितवनमा बयान सम्पन्न भएको छ। चितवनको सहारा सहकारीको रकम दुरुपयोगको विषयमा  जिल्ला सरकारी वकिल कार्यालयमा बुधबार बेलुका अबेरसम्म राखेर उनको बयान भएको हो। 

लामिछानेलाई मंगलबार काठमाडौंबाट चितवन लगिएको हो। मंगलबारदेखि नै उनको बयान भएको थियो। लामिछानेको बयान सकिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी उपनरीक्षक गौतम मिश्रले बताए। बयान सकिएकाले लामिछानेलाई बिहीबार नै पोखरा फर्काउने प्रहरी तयारी छ। बुधबार बयान चलिरहँदा लामिछानेका समर्थक र प्रहरीबिच चितवनमा झडप भएको थियो। 

बुधबार मात्र लामिछानेविरुद्ध पर्सामा पक्राउ पुर्जी जारी भएको छ। वीरगन्जस्थित सानो पाइला सहकारीको रकम गोर्खा मिडियामा गएको देखिएपछि पर्सामा पनि उनीमाथि अनुसन्धान अघि बढेको हो। 

यसअघि कास्की, रुपन्देही र काठमाडौंमा उनको बयान भइसकेको छ। जिल्ला अदालत, कास्कीले उनलाई आगामी आइतबारसम्म थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ। 
पर्सामा सुरुमा गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीलाई पठाउने र उनको बयान सकिएपछि मात्र लामिछानेको बयान गराउने प्रहरी तयारी छ। 

जिबी राई समूहले सञ्चालन गरेका पाँचवटा सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन भएको थियो। लामिछाने गोर्खा मिडियाको सञ्चालक तथा प्रबन्ध निर्देशक हुँदा कम्पनीका चेकमा हस्ताक्षर गरेको आधारमा उनी अनुसन्धानमा तानिएका हुन्। सहकारीको रकम अपचलनमा संलग्न नभए पनि गोर्खा मिडियाको तत्कालीन सञ्चालक भएकै आधारमा पक्राउ गरेर मुद्दा चलाउन लागिएकोमा रास्वपाले विरोध गर्दै आएको छ। 

लामिछानेविरुद्ध पाँच जिल्लामा ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायरको तयारी भइरहेको छ।