मनाङमा प्रहरीको सुविधा सम्पन्न भवन तयार भएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय मनाङ परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुखको निवास, ब्यारेक, हिरासत कक्ष तथा भान्साघरलगायतका भवनहरूको बुधबार उद्घाटन गरेका छन्।
नेपाल सरकारको नियमित बजेटबाट १२ करोड १० लाख ५४ हजार ३ सय ३१ रूपैयाँको लागतमा ती भवनहरू तयार भएका छन्। नयाँ भवनबाट कार्य सञ्चालन सहज हुने प्रहरीले जनाएको छ।
उद्घाटन कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले सबैको सद्भाव र सहयोगले निर्माण सम्पन्न भौतिक पूर्वाधारहरूको प्रयोग गरी नेपाल प्रहरीले जनतालाई अहोरात्र सुरक्षाको प्रत्याभूति दिलाउन कटिबद्ध रहेको बताए। ग्रामीण भेग र सहरी भेगमा विभेद नगरी सुरक्षा प्रदान गर्न आवश्यक पूर्वाधार विकासका लागि नेपाल प्रहरीले पहल गरिरहेको उनको भनाइ थियो।