एमाले चुनावी सभामा गएका सर्वसाधारण घर फर्किन पाएनन्

सोमबार, २८ कार्तिक, २०७९
डिजिटल संस्करण

नौगाड गाउँपालिकामा चुनावी प्रचारप्रसारको क्रममा आइतबार बिहान भएको झडपले उग्ररूप लिँदै गएको छ । आइतबार (हिजो) भएको चुनावी सभामा गएका स्थानीयले घर फर्किन पाएका छैनन्। नौगाड गाउँपालिका– ६ खेडमा प्रचारप्रसारमा खटिएको गठबन्धन र नौगाडको जामिरमा आमसभामा गइरहेका एमाले कायर्कर्ताबीच झडप भएको थियो । झडपमा परी गठबन्धनका कार्यकर्ता नौगाड– ६ का ३५ वर्षीय जयभानसिंह धामी र नौगाड गाउँपालिका वडा नम्बर ५ का एमाले कार्यकर्ता २४ वर्षीय निरे ठगुन्ना घाइते भएका छन् ।

एमालेको पूर्वनिर्धारित कार्यक्रमअनुसार नौगाडमा चुनावी सभा थियो । चुनावी सभामा जाने क्रममा वडा नम्बर ६ बाट जाने गाडी तथा सर्वसाधारण रोकेपछि झडपको अवस्था आएको नेकपा एमाले नौगाड गाउँपालिका अध्यक्ष जनकसिंह ठगुन्नाले बताए । कार्यक्रममा जाने मान्छे रोकिए । ‘एमालेका झन्डा च्यातियो,’ उनले भने, ‘बुढाबुढीमाथि कुटपिट भएपछि झडप भएको हो ।’ 

झडपमा परी घाइते भएका जयभानसिंह धामी सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुर धामीका भाञ्जा हुन् । उनलाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ । टाउकोमा सामान्य चोट लागेको कारण चेकजाँचका लागि रिफर गरिएको गोकुलेश्वर अस्पतालका डाक्टर पूजा बमले बताइन् । गठबन्धनका कार्यकर्ता कुटिएको विरोधमा गठबन्धनका कार्यकर्ताले गोकुलेश्वर खार खलंगा सडकको धुलिगडा क्षेत्रमा सडक अवरुद्ध गरेको छ । जिल्लाभरिबाट सयौँ कार्यकर्ता धुलिगडा खेडा क्षेत्रमा गठबन्धनले राखेको छ । आइतबार दिउँसैबाट सडक अवरुद्ध गरी वडा नम्बर ६ का सयौँ एमाले कार्यकर्ता आमसभाबाट घर फर्किन नपाएको ठगुन्नाले बताए ।

गठबन्धनका कार्यकर्ताले कुटपिटमा संग्लन एमाले कार्यकर्ता पक्राउ गरे मात्रै सडक खुलाउने बताउँदै आएको छ । माओवादी नेता खडकसिंह धामी एमाले कार्यकर्ताले घरमै बसेको सर्वसाधारणलाई कुटपिट गरेको बताउँछन् । ‘यो झडप हाेइन, हाम्रा मान्छेमाथि सयौँले एकैजनालाई कुटपिट गरेका हुन्,’ उनले भने ।सयौँ जनता आमसभास्थलमै राति बसेका छन् । माथिल्लो क्षेत्रबाट प्रहरीले एमाले कार्यकर्ता तल धुलिगडातर्फ बढ्न दिएको छैन । झडपको अवस्था थप आउने भन्दै सुरक्षा सतर्कता बढाइएको प्रहरी निरीक्षक राजेश शाहीले बताए । 

गठबन्धनका कार्यकर्ताले आइतबार राति धुलिगडा क्षेत्रमा एमाले कार्यकर्ताको घरमा ढुंगामुढा गरेका छन् । प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले सुरक्षा बैठक राखेर बाटो खुलाउने प्रयास भए पनि गठबन्धनले नमानेका कारण नसकिएको बताए । उनले भने, ‘रातभरि प्रयास गर्यौँ, तर समाधान हुन सकेको छैन ।’ नौगाडमा रहेका सुरक्षाकर्मीका अनुसार अप्ठ्यारो ठाउँमा गठबन्धनले ढुंगामुढा जमागरेर बसेका छन् । सुरक्षा फौज थोरै छ । जसको कारण सडक खुलाउन नसकिएको ती सुरक्षाकर्मी बताउँछन् । सडक अवरुद्ध नखुले थप मुठभेटको अवस्था सिर्जना हुने देखिएको छ । 

सुझावित समाचार