कञ्चनपुर ३ (ख)मा विष्ट र रानाबीच कडा प्रतिस्पर्धा

आइतबार, २७ कार्तिक, २०७९
डिजिटल संस्करण

कञ्चनपुर निर्वाचन क्षेत्र ३ (क)मा प्रदेश सभा सदस्यका लागि चार राजनीतिक दलसहित एक स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा होमिएका छन्। यस निर्वाचन क्षेत्रमा सत्तागठबन्धनका कांग्रेस–माओवादी, विपक्षी गठबन्धनका एमाले–राप्रपा, नेपाली कांग्रेस बिपी, नेपाल मजदुर किसान पार्टी र एक स्वतन्त्र गरी पाँच मात्रै उम्मेदवार चुनावी मैदानमा होमिएका छन्। जिल्लाका ६ प्रादेशिक निर्वाचन क्षेत्रमध्ये यस निर्वाचन क्षेत्रमा सबैभन्दा कम उम्मेदवारी परेको छ।

सत्तागठबन्धनबाट नेपाली कांग्रेसका नेता बेलबहादुर राना (मगर), विपक्षी गठबन्धनबाट एमाले कञ्चनपुर अध्यक्ष सुरेन्द्र विष्ट, नेपाली कांग्रेस बिपीबाट धनबहादुर शाही, नेमकिपाबाट लक्ष्मण रोकाया र स्वतन्त्र रूपमा भीमबहादुर कुमार आ–आफ्ना चुनावी एजेन्डा लिएर जनतामा गइरहेका छन्। पाँच उम्मेदवारमध्ये विपक्षी गठबन्धनबाट सुरेन्द्र विष्ट र सत्तागठबन्धनबाट बेलबहादुर रानाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

भीमदत्त नगरका निवर्तमान मेयर एवं एमाले जिल्ला अध्यक्ष विष्ट र तत्कालीन दोधारा गाविस अध्यक्ष एवं कांग्रेस महाधिवेशन सदस्य बेलबहादुरबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। विष्ट र राना दुवै  पुराना नेता सामाजिक, राजनीतिक रूपमा अब्बल मानिन्छन् भने दुवैले स्थानीय निकाय–तहको नेतृत्व गरिसकेका छन्। राना यसअघि ०७४ सालमा भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनसमेत लडेका थिए भने विष्ट पहिलोपटक प्रदेश सभाको चुनावमा होमिएका हुन्।

अघिल्लो निर्वाचनमा कांग्रेस एक्लै र एमाले–माओवादी गठबन्धन गरेर चुनावमा होमिएका थिए। त्यसवेला कांग्रेसका राना झिनो मतले वाम गठबन्धनका उम्मेदवार माओवादी नेता मानबहादुर सुनारसँग पराजित भएका थिए। बेलबहादुरले १३ हजार दुई सय ३९ मत ल्याउँदा मानबहादुरले १३ हजार पाँच सय ७० मत ल्याएका थिए। आसन्न निर्वाचनका लागि मतदाता संख्या अघिल्लो निर्वाचनमा ४४ हजार आठ सय ६८ रहेको मतदाता संख्या हाल ५१ हजार दुई सय ३८ पुगेको छ।

दोधाराचाँदनी नगरका १० र भीमदत्त नगरका १७ वडा रहेको उक्त सीमावर्ती निर्वाचन क्षेत्र जिल्ला सदरमुकाम महेन्द्रनगरसम्म जोडिएको छ। मतदाताले महाकाली र जोगबुढा नदीको कटान नियन्त्रण, सीमा समस्या समाधान, जंगली जनावरको आतंक नियन्त्रण, सिँचाइ, समयमै मलखाद, विद्युत् विस्तारदेखि विकासका अनेक अपेक्षा गरेका छन्। सत्तागठबन्धनबाट बेलबहादुरका उतिवेलाका मुख्य प्रतिस्पर्धी माओवादी नेता अहिले सँगै प्रचारप्रसारमा हिँडेका छन्।

गत स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा एमालेले एक पालिकासहित सबैभन्दा धेरै सातवटा वडा जितेको छ। कांग्रेसले पाँच, माओवादी केन्द्र र  राप्रपाले दुई–दुई र स्वतन्त्रले एक वडा जितेको छ। स्वतन्त्रबाट वडा जितेका नेता पनि कांग्रेसकै बागी उम्मेदवार थिए। स्थानीय तहमा वडाध्यक्षको मत परिमाणअनुरूप कांग्रेस ११ हजार तीन सय ७७, एमाले नाै हजार चार सय ८२, राप्रपा तीन हजार तीन सय ५५, माओवादी केन्द्र दुई हजार दुई सय ५३, एकीकृत समाजवादी नाै सय ५४ र स्वतन्त्रसहित अन्यले दुई हजार दुई सय ४४ मत ल्याएका थिए। उतिवेला माओवादी र समाजवादीबीच चुनावी तालमेल हुँदा अधिकांश वडाहरूमा एक पार्टीको मात्र उम्मेदवार थिए।

उक्त परिणामलाई आधार मान्ने हो भने अहिले सत्तागठबन्धनतर्फ १४ हजार पाँच सय ८४ र विपक्षी गठबन्धनतर्फ १२ हजार नाै सय ३७ मतभार देखिएको छ। पाँच वर्षअघि कांग्रेस एक्लै चुनावमा होमिँदा बेलबहादुरले उक्त निर्वाचन क्षेत्रबाट १३ हजार दुई सय ३९ मत ल्याएका थिए। पाँच वर्षपछि वडामा कांग्रेसका उम्मेदवारले झन्डै एक हजार आठ सय ६२ कम मत ल्याएका छन्।

कांग्रेसको उक्त निर्वाचन क्षेत्रमा झन्डै साढे १० हजार स्थिर मत देखिएको छ। विष्ट र राना राजनीतिका चतुर खेलाडी भएकाले कसले बाजी मार्लान् भन्ने विषय जिल्लामा निकै चासो बनेको छ। नेविसंघबाट राना र अनेरास्ववियुबाट विष्ट राजनीतिमा आएका हुन्।

सुझावित समाचार