हिमपातले डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पठाउन सकिएको छैन । कात्तिकसँगै धो, तिन्जे, साल्दाङ, छार्कामा पर्ने मतदान केन्द्रसम्म पुग्ने बाटोघाटो हिउँले पुरिएपछि निर्वाचन अधिकृतको कार्यालय डोल्पाले विकल्प खोजेको छ ।
सदरमुकाम दुनैबाट तीनदेखि सात दिनसम्मको दूरी उपल्लो डोल्पाका तीनवटा स्थानीय तहमा २२ वटा मतदान केन्द्र छन् । भौगोलिक रूपमा विकट र हिमपातका कारण से–फोक्सुन्डाे, डोल्पोबुद्ध र छार्काताङसाेङ गाउँपालिका मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी पठाउन समस्या भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ ।
हिउँद लागेसँगै उपल्लो डोल्पामा दैनिकजसो हिमपात भइरहेको छ भने न्यूनतम तापक्रम माइनसमा झरेको डोल्पोबुद्ध गाउँपालिकाका स्थानीय पेमा छेवाङ् गुरुङले बताए ।
एक सातासम्मको लामो यात्रा, जोखिमपूर्ण बाटो, हिउँले भरिएका अग्लाअग्ला हिमाल चढ्नुपर्ने भएकाले पनि उपल्लो डोल्पाका मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री मतदानस्थलसम्म पठाउन समस्या भएको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए ।
‘मतपत्रलगायत निर्वाचन सामग्री जिल्लामा आइसकेको छ, मतदान केन्द्रमा कुन–कुन कर्मचारी पठाउने भनेर पनि तय भइसकेको छ,’ उनले भने, ‘तर, कर्मचारी र मतपत्रलगायतका निर्वाचन सामग्री कसरी पठाउने समस्या भएको छ ? हिउँले समस्या भइरहेको हो ।’
.jpg'_'.2022-11-07.jpg)
कर्मचारी र निर्वाचन सामग्री हेलिकोप्टरमार्फत पठाउने तयारी
अब कर्मचारी र निर्वाचन सामग्री हेलिकाेप्टमार्फत पठाउनुको विकल्प नरहेको सुवेदीले बताए । त्यसका लागि निर्वाचन आयोगसँग माग गरिएको उनले बताए । सुवेदीका अनुसार उपल्लो डोल्पामा पर्ने १५ वटा स्थानमा हेलिकोप्टर प्रयोगका लागि आयोगलाई भनिएको छ ।
डोल्पाको औसत तापक्रम अधिकतम २० डिग्री सेल्सियसदेखि न्यूनतम माइनस १० डिग्रीसम्म हुने गर्छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार डोल्पालगायत हिमाली क्षेत्रमा हिमपात हुन सुरु गरेको छ । ‘ठूलो हिमपात त भइसकेको छैन । तर, केही क्षेत्रमा हिमपात सुरु भएकाले क्रमिक रूपमा चिसो बढ्न थालेको छ,’ उनले भनिन्, ‘यसबीचमा कुनै बलियो प्रणाली विकसित भयो भने भारी हिमपात हुन सक्छ, अहिले त पश्चिमी न्यूनचापीय प्रणालीको असर मात्र छ ।’
उपल्लो डोल्पा खटाइएका कर्मचारीले अन्यत्र खटाउन दिए निवेदन
उपल्लो डोल्पा खटाइएका कतिपय कर्मचारीले आफूहरूलाई अन्यत्र खटाउन माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् । भौगोलिक रूपमा विकटता, लामो समयदेखिको हिमपातले चिसो बढेको र चार हजार मिटरभन्दा अग्ला लेक पार गरेर मात्र मतदान केन्द्रमा पुग्नुपर्ने भएकाले अन्यत्र खटाइदिन निवेदन दिइएको एक कर्मचारीले बताए।
३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा उपल्लो डोल्पामा लेक लागेर सुनील विकको ज्यान गएको थियो । डोल्पामा ६८ मतदान केन्द्र छन् भने २२ हजार सात सय ७४ जना मतदाता छन्।
.jpg'_'.2022-11-07.jpg)