नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले केपी शर्मा ओली नेतृत्वको सरकारले साढे तीन वर्षमा गर्न नसकेको काम शेरबहादुर देउवा नेतृत्वको सरकारले डेढ वर्षमै गरेको बताएका छन्। आइतबार बिहान प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा महतले यस्तो दाबी गरेका हुन्।
‘ओली सरकारले यसबीचमा गर्न नसकेको काम देउवा सरकारले गरेको छ,’ उनले भने, ‘साढे तीन वर्षमा नभएका काम डेढ वर्षमै भएका छन्।’ पूर्वसञ्चारमन्त्रीसमेत रहेका महतले ओलीले धेरै बोलेरै साढे तीन वर्ष बिताएको आरोप लगाए।
आगामी ४ मंसिरमा हुने निर्वाचनबाट वाम–लोकतान्त्रिक गठबन्धनले बहुमत ल्याउने प्रवक्ता महतको दाबी छ। ‘कांग्रेससहित हामी वाम–लोकतान्त्रिक गठबन्धन बहुमत सिट जितेर सरकार बनाउँछौँ,’ उनले भने, ‘भावी प्रधानमन्त्री को बन्ने भन्नेबारेमा हामीले अहिले औपचारिक निर्णय गरेका छैनौँ।’ कांग्रेस सभापति शेरबहादुर देउवाले सबै दलको नेतृत्व गर्दै मुलुकलाई समृद्धिको बाटोमा डोहोर्याउने क्षमता राखेको बताउँदै महतले ओली नेतृत्व असहिष्णु भएको टिप्पणी गरे।
‘संविधानको रक्षा, स्थायित्व र समृद्धिका लागि वाम–लोकतान्त्रिक गठबन्धन बनेको हो,’ उनले भने, ‘विगतको जस्तो पार्टी एकताका लागि होइन।’ राप्रपा–एमाले गठबन्धनले जिते पनि राजतन्त्र फर्किन नसक्ने प्रवक्ता महतले ठोकुवा गरेका छन्।